यातायात कार्यालयमा पैसा लिएर आउन नपर्ने बनाउनुपर्छ : मन्त्री दाहाल

 माघ १४, २०७८ शुक्रबार १४:१४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा अहिले चलिरहेकाे शैलीलाई रूपान्तरण गर्न आवश्यक रहेकाे बताउनुभएकाे छ । आज शुक्रवार काठमाण्डाैकाे गुर्जुधारामा रहेकाे यातायात कार्यालयको अनुगमन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

मन्त्री दाहालले पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा पैसाकाे कारोबार नै हुन नदिने गरी नयाँ प्रणाली बनाउने बताउनुभयो । उहाँले भन्नुभयाे, ‘यहाँ पैसा लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ । कार्यालयभित्र एक पैसाकाे पनि कारोबार नहुने बनाउनुपर्छ ।’

अनुगमनकै क्रममा मन्त्री दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिटलाइजेशन गर्न निर्देशन दिनुभयाे । उहाँले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरूले अबका दिनमा ठूलो समस्या सिर्जना गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताउनुभयो । मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेन्डर आह्वान गरेर लिखित फाइलहरू अनलाइनमा परिणत गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यी अस्तव्यस्त फाइलले केही समयपछि धेरै ठूलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरू हेर्‍याैँ, बेहाल छ । त्यो भएर यसलाई डिजिटलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् । आफ्नाे कार्यालयबाट त्यो अहिले सम्भव छैन भने निजीलाई लिएर त्यसको व्यवस्थापन गरौँ । मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेन्डर गरेर निजीलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छाैँ । प्रणाली नै नयाँ बनाएर जाऔँ ।’

मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाका कारण इमानदार कर्मचारीले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराउनुभयो । उहाँले कार्यालयमा आउने सेवाग्राहीलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया