चुनाव सार्ने काम गरे संविधान नै समाप्त हुन्छ : पूर्वप्रधानन्यायाधीश पराजुली

 माघ १४, २०७८ शुक्रबार १९:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको चुनाव सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको चुनाव सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताउनुभयो । 

आज शुक्रवारकाे कुराकानीमा उहाँले स्थानीय तहको चुनाव सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः लाेकतान्त्रिक प्रणाली नै नरहने अवस्था आउने पनि बताउनुभयो । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको चुनाव सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरूलाई बल पुग्नेतर्फ पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन सार्दा गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ । लाेकतन्त्रलाई पनि धावा बोल्छ । अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ । त्यस कारण मेरो प्रष्ट धारणा छ– साहसका साथ चुनाव जान सक्नुपर्छ । गठबन्धन होस् वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर चुनाव सार्न खोज्छ भने त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सुरु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने मागसमेत गर्नुभयो । उहाँले त्याे आयोगले अनुसन्धान गरेर, जाँचेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गर्नुभयो । उहाँले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचनासमेत गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, ‘नम्बर एक, यो अदालत सञ्चालन गर्नलाई एउटा उच्चस्तरीय आयाेग गठन गरेर जानुपर्छ । हामीसँग संविधान छ । यो स्वतन्त्र न्यायालय कसरी चलाउनुपर्छ भन्ने सन्दर्भमा विभिन्न जाँच गर्न सकिन्छ । आउँदा दिनमा न्यायालय कसरी चलाउने भन्नेबारेमा अनुसन्धान गर्न सकिन्छ, विज्ञहरूसँग छलफल गरेर प्रतिवेदन तयार पार्न सकिन्छ । तर सरकारका कमजोरीका कारण त्यो हुन सकेको छैन । न्यायालय स्तब्ध भएर बसेको छ ।’

पूर्वप्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने लाेकतान्त्रिक प्रणाली अवलम्बन गरेकाले राजनीतिक दलहरूले चुनावलाई पछाडि सार्ने काम गर्न नमिल्ने पटक–पटक दाेहाेर्‍याउनुभयाे । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया