बर्थ डे केक...

 माघ १५, २०७८ शनिबार १२:३:३२ | लक्ष्मी लोचना
unn.prixa.net

साङ्केतिक तस्बिर

केही दिनदेखि शैलेश असमञ्जसिलो अनि चिन्ताजनक अवस्थामा छ । उसलाई काम गर्न पटक्कै मन छैन । कारण घरमा श्रीमतीले छोराको जन्मदिन अर्थात् बर्थ डे मनाउन व्यक्त गरेको इच्छा । घर पनि के भनौँ कोठा भन्दा ठीक होला । त्यो पूरै घर उसको होइन । त्यो घरको एउटा कोठा मात्र उसको हो, त्यो पनि पैसा तिरेको महिनासम्मको लागि मात्र । काठमाण्डौको महँगो बसाइ अनि महिनामा आउने सीमित तलबले उसलाई परिवार धान्न मुस्किल नै थियो । त्यसमाथि परिवारको इच्छा र आवश्यकताहरू थपिँदै गएको महिना त ऊ सन्यासी बन्ने कल्पना गर्थ्याे । पारिवारिक जीवनमा फसिसकेको शैलेश यस्तो गर्ने आँट भने कदापि गर्न सक्दैनथ्यो । 

हुन त उसलाई पढ्नको लागि एक्लै कोठा लिएर काठमाण्डौमा बस्न जति सजिलो थियो परिवारसँग बस्दा त्यति नै गाह्रो र महँगो थियो । महिनादिनमा एक पटक आउने सीमित तलबले काठमाण्डौको साँघुरो, अँध्यारो गल्लीमा पनि जिन्दगी चलाउन निकै मुस्किल थियो । यस्तो अवस्थामा अन्य सुविधायुक्त ठाउँमा सर्ने कल्पना मात्र पनि गरेर साध्य थिएन । यो सब कुराबाट जानकार ऊ निरन्तर सङ्घर्ष गर्दै थियो । ऊ आफ्नी श्रीमती र सानो छोरालाई साँघुरो, अँध्यारो त्यो कोठाबाट मुक्त गरेर फराकिलो अनि स्वच्छ आधुनिक घरमा लैजान चाहन्थ्यो; जहाँ अँध्यारो र साँघुरोपनाको लेस पनि नहोस्, जुन ठाउँमा बस्दा सुखानुभूति होस् । ऊ आफ्नो परिवारलाई त्यो हरेक खुसी दिन चाहन्थ्यो जसको तिनीहरू हकदार थिए । 

पर्वतको बासिन्दा शैलेश प्लस टु पढ्नलाई काठमाण्डौ छिरेको थियो । उच्च शिक्षा पूरा गरेर सरकारी जागिर खाने सपना बोकेर काठमाण्डौ आएको थियो ऊ । प्लस टु सकाएर भर्खर स्नातक पढ्दै गर्दा घरबाट बाबु बिरामी भएको चिठी आएको थियो । निकै आत्तिएको शैलेश घरमा पुग्दा त्यत्तिकै मात्रामा जिल्ल पनि पर्यो किनभने सद्दे बाबुलाई बिरामी बनाएर उसलाई घरमा बोलाइएको थियो । यसरी बोलाउनुको मतलव परिवारले उसको विवाह गराइदिने नियत रहेको थियो । अक्सर बाबुआमालाई छोराछोरी काठमाण्डौ गएपछि उतै भुल्छन्, फर्केर आउँदैनन् भन्ने पिरले सताउँथ्यो । त्यसैले उनीहरूलाई यस्तै अनेक बहाना बनाएर घरमा बोलाई बिहे गरिदिने प्रचलन जस्तै भइसकेको थियो । छोराछोरीलाई विवाहको बन्धनमा चाँडै बाँधिदिन पाए उनीहरूले आफ्नो जिम्मेवारी बुझ्ने र आफूबाट टाढा जाँदैनन् भन्ने विश्वास उनीहरूको मनमा गहिरो गरी बसेको हुन्थ्यो । शैलेशको हकमा पनि यही लागू भयो । 

शैलेशको बुबाआमाको मनमा छोराले सहरी केटीलाई मन पराएर बिहे गर्ला कि भन्ने चिन्ता थियो । सहरको रमझममा भुलेकी केटीलाई विवाह गरेर गाउँमा सँगै राख्न मुस्किल मात्र हैन असम्भवजस्तै छ भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा थियो । शैलेशको काठमाण्डौको बसाइ लम्बिएसँगै उनीहरूको मनको डर पनि बढ्न थालेको थियो । यो डरको एउटै मात्र निवारण थियो शैलेशको विवाह ।

“पढाइ नसकी बिहे कसरी गर्नु बुबा ?”

“अ‍ैले नगरे कैले गर्छस् त ? बुढेसकालमा ?”

“पहिला जागिर खान्छु अनि मात्र बिहे गर्छु ।”

“बिहेपछि जागिर नपाउने भन्ने छैन । लछिन्की केटीको कुरा आ’को बेलामा यसरी टार्नुहुन्न ।”

“कुरा किन बुझ्नुहुन्न बुबा ?”

बाबुछोराबीच केही बेर गन्थनमन्थन चल्यो । उनीहरूको यो गन्थनमा शैलेशकी आमा मूकदर्शक भएर घरी छोरातिर अनि घरी आफ्नो श्रीमान् तिर आँखा डुलाउँदै हेर्दै थिइ। बुबा र छोराको वैचारिक प्रतिस्पर्धामा कसको जित हुन्छ भन्ने कौतूहलता उसको आँखामा प्रस्ट देखिएको थियो । 

आखिर बाबुको अगाडि शैलेशको केही सिप चलेन । बुबाको निर्णयलाई हरहालतमा मान्नुपर्ने परिस्थिति बुझेपछि शैलेशको गहुँगोरो अनुहार कालो बादल भएको थियो । शैलेशको बुबाले हुनेवाली बुहारी अनि उसको परिवारलाई वचन दिइसकेको हुनाले गाउँघरमा इज्जत जाने डर पनि थियो । त्यसैले उसको कुरा सुन्ने अनि मान्ने जाँगर कसैले पनि चलाएनन् । उसको कुरा केवल हावाले सुन्यो र सहानुभूतिको एक स्पर्श दिँदै आफ्नो बाटो लाग्यो । शैलेशको काँधमा पूरै परिवारको इज्जत जोगाउने जिम्मेवारी आइलागेको थियो । त्यो जिम्मेवारी पूरा गर्न उसले आफ्नो सपनाको बलिदान दिनुपर्थ्याे । 
– – –
मैना, शील–स्वभावले राम्री थिइन । गोरोगोरो बाटुलो अनुहार, गालामा परेको डिम्पलले हिस्सी परेकी थिइ। घुँगुरिएको कपालले उसको हिस्सी झन् बढाएको थियो ।  दश कक्षासम्म पढेकी, घर गरी खाने खालकी थिइ। सहरिया आधुनिक जीवनशैलीले उसलाई पटक्कै छोएको थिएन । बोली, व्यवहारको मिजासले छोटो समयमै ऊ सबैका आँखाका नानी भए । 

सुरुसुरुमा शैलेशलाई बिहे स्वीकार्न गाह्रो भयो । सँगै बस्न थालेपछि दुईबीच माया बढ्दै गयो । केही दिनमै मैनाले शैलेशको मन जिती । ऊसँग बिहे गरेर शैलेशले पछुताउनु परेको थिएन । रूप, गुणले धपक्क बलेकी श्रीमती पाउँदा शैलेशले बुबाको निर्णय सही भएको निष्कर्ष निकाल्थ्यो र मख्ख पथ्र्यो ।

मान्छेको जात एकै ठाउँमा, एउटै परिथितिमा स्थिर भएर बस्न मान्दैन । मानव जाति केही न केही काम गरेर यथास्थितिभन्दा बाहिर आउने कोसिस गरिरहन्छन् । शैलेशलाई पनि घरमा बसिरहँदा भित्रभित्रै छटपटी हुन थाल्यो । 

“बुबा अब म काठमाण्डौ जान्छु ।”

“किन ? घरजम भइहाल्यो, अब छोराछाेरी पाएर हामी बुढाबुढीलाई हेरेर जिन्दगी बिताउँदा भइहाल्यो नि ।”

“हैन बुबा, सधैँभरि गाउँमै मात्र बसेर नि के गर्नु, काठमाण्डौ जान्छु, केही प्रगति गर्छु।”

“के सोच्या छस् त केटा ?”

“पैला त पढाइ नै पूरा गर्छु । अनि त्यसपछि सोच्नुपर्ला ।”

“अब सोची नै सकिस् भने त ठिकै छ तर तँ एक्लै जान पाउँदैनस् ।”

“मतलब ?” शैलेशका आँखा गुच्चाजस्तो ठूल्ठूला भए ।

“तेरी जहान याँ एक्लै के गरी बस्छेस् । उसलाई पनि लैजा । ऊ तँसँगै भए काठमाण्डौको हावाले तँलाई छुँदैन ।”

काठमाण्डौको बसाइ र स्थिति शैलेशलाई राम्रैसँग थाहा थियो : साँगुरो गल्लीको एउटा सानो कोठा अनि महँगी । सुरुमा त शैलेशले बाबुआमाको सर्तलाई हुन्छ भन्न पनि सकेन अनि हुँदैन भन्न पनि सकेन । अन्तिममा केही उपाय नदेखेपछि जस्तो स्थिति आउँछ टर्दै जान्छ भनेर मैनालाई पनि साथै लान राजी भए ।

काठमाण्डौ बस्न थालेको एक वर्षभित्रै उनीहरूको कल्कलाउँदो छोरा जन्मियो । छोराको नाम राखियो : अभय । अभय पूर्णिमाको जूनजस्तो तेजिलो थियो । मैनासँगै छोराको पनि जिम्मेवारी काँधमा आइपरेकोले शैलेशले पढाइ छोडेर काम गर्ने निर्णय गर्यो । मैना र ऊ मात्र हुँदा सानोतिनो पार्टटाइम जागिर गरेको र घरबाट पठाएको सामानको भरमा जिन्दगी चलेको थियो तर सानो छोराको आधारभूत आवश्यकता पूरा गर्नको लागि पार्टटाइम जागिरले केही लछार लाउन सक्दैनथ्यो । अन्तिममा उसले पढाइ र सरकारी जागिर खाने सपना छोडेर एउटा प्राइभेट फर्ममा काम गर्ने निर्णय गर्यो ।

यस मानेमा शैलेशलाई भाग्यमानी मान्नुपर्छ किनभने जागिर खोजेको केही दिनमै उसले एउटा कम्पनीमा मासिक दश हजार तलब आउने जागिर पाएको थियो । काम राम्रो भए केही दिनमै तलब बढाउने आश्वासन पनि पाएको थियो हाकिमबाट । घरबाट पठाएको सामान र मासिक कमाइले उनीहरूको खर्च लगभग चलेको थियो । 

समयसँगै मैना पनि बिस्तारै काठमाण्डौसँग भिज्दै गइ। उसका साथीसँगीसँग सङ्गत बढ्न थाल्यो । भर्खर २२ वर्षकी मैनालाई काठमाण्डौको रमझम निकै रमाइलो लाग्थ्यो । काठमाण्डौको जीवन उसले देखेको गाउँको जीवनभन्दा निकै फरक थियो । शैलेशजस्तो समझदार अनि सहयोगी जीवनसाथी पाएर ऊ आफैँलाई निकै भाग्यमानी ठान्थी । श्रीमान्लाई खुसी पार्न ऊ हरसम्भव प्रयास गर्थी । शैलेश पनि उसको हरेक इच्छालाई पूरा गरिदिन्थ्यो । 

परिस्थितिबाट अन्जान मैनाले काठमाण्डौलाई बाहिरी रूपमा मात्र बुझेकी थिइ। यो सहरको भित्री सङ्घर्षको बारेमा उसलाई केही पनि थाहा थिएन । त्यसैले शैलेशले काठमाण्डौमा बस्न गरेको सङ्घर्षलाई उसले राम्ररी बुझेकी थिइन । 

ऊ अस्ति मात्र मनिताकी छोरीको बर्थ डे पार्टीमा गएकी थिइ। त्यहाँको रमझम अनि जन्मदिन मनाउने शैली देख्दा ऊ निकै लोभिएकी थिइ। उसमा अभयको जन्मदिन पनि त्यसैगरी मनाउने इच्छा पलायो र शैलेशलाई आफ्नो इच्छा व्यक्त गरी। 

“सुन्नुस् न, हाम्रो छोराको बर्थ डे नमनाउने ?”

“मनाउने । हरेक वर्ष मनाउँदै त आएका छौँ नि ।”

“त्यसरी भन्न खोज्या हैन हजुर ।”

“अनि कसरी त ?”

“केक काटेर, साथीहरू बोलाएर, पार्टी दिएर के ।” मैनाको आँखामा चमक देखियो ।

मैनाले उसको भित्री इच्छा बताइ । बस्, उसको काम यतिमै सकियो तर यहाँबाट शैलेशको चिन्ता सुरु भयो । मासिक आउने तलबले कोठा भाडा, खान्की, लुगाफाटालगायतका यावत कुरा पूरा गर्न निकै मुस्किल थियो । यस्तो अवस्थामा मैनाले छोराको जन्मदिनमा बर्थ डे पार्टी दिने इच्छा व्यक्त गरेपछि उसलाई अदृश्य हाउगुजीले सताएको महसुस भयो ।

सानो–सानो कुरामै खुसी हुने मैनालाई आजसम्म कुनै पनि कुरामा उसले निराश बनाएको थिएन । यो मामलामा पनि ऊ मैनालाई निराश बनाउन चाहँदैनथ्यो । आखिर उसले मैनालाई ठूलो खुसी केही पनि त दिन सकेको थिएन । 

अभयको जन्मदिनमा पार्टी दिन ऊ कम्मर कसेर लागिपर्यो । जति कोसिस गरे पनि उसले छोराको बर्थ डे पार्टी मनाउन पुग्ने पैसा जम्मा गर्न सकेन । अभयको जन्मदिनको मिति नजिकै आइरहेको थियो । मितिसँगै मैनाको कौतुहलता अनि उत्सुकता पनि बढ्दै गइरहेको थियो भने शैलेशको चिन्ता उत्तिकै मात्रामा बढ्दै थियो । चिन्ताले उसको जिउ पूरै सुकेको थियो । 

केही उपाय नदेखेपछि उसले जनक र सुमनसँग मद्दत माग्यो । जनक र सुमन प्लस टुदेखि सँगै पढेको शैलेशका मिल्ने साथी थिए । काठमाण्डौकै रैथाने भएको हुनाले जनक र सुमनलाई पैसाले कहिल्यै दुःख भएन । आफ्नो मिल्ने साथीको चिन्तालाई मध्यनजर गरी उनीहरूले केही रकम सहयोग गरे । उनीहरूको सहयोगले अभयको बर्थ डे पार्टी मनाउन पुग्ने पैसा जम्मा भयो । हातमा परेको पैसासँगै शैलेशको दुब्लोपातलो शरीरमा प्राण आयो ।

अभयको चौथौ जन्मदिन धुमधामसँग मनाउन पाएको खुसीमा मैना अरू दिनभन्दा बेग्लै सुन्दर देखिएकी थिइ । साधारण लिपस्टिक, पाउडर र गाजलले मात्र पनि ऊ अप्सराझैँ देखिएकी थिइ। 

त्यो दिन मान्छे धेरै जम्मा हुने भएकाले घरबेटीसँग भुईँतल्लामा खाली रहेको अलि ठूलो कोठा एक दिनको लागि सापटी मागेको थियो शैलेशले । घरबेटी असल मानिस थिए । जन्मदिनको हर्षोल्लासमा रमाउन आउने पाहुना शैलेशको सानो कोठामा अटाउँदैन भन्ने उसलाई राम्रैसँग थाहा थियो । उसले कोठा खुला गरिदियो । 

बिस्तारै निम्ता मान्न पाहुनाहरू जम्मा भए । अभयको जन्मदिनको खुसीयालीमा ठूलो केक ल्याइएको थियो अनि पाहुनाहरूलाई खुवाउन मिठा–मिठा भोजन पनि तयार भएको थियो । पाहुनाहरूको ख्यालठट्टा अनि हाँसोले कोठा गुञ्जायमान भएको थियो । पाहुनाहरू सबै आइसकेपछि केक काट्ने पालो आयो । 

मैनाले केकमाथि रहेको मैनबत्ती बाली । अभय मैनबत्ती निभाउन आतुर थियो । चारवटा मैनबत्ती बालिसकेपछि मैनाले अभयलाई मैनबत्ती निभाउन भनी । अभयले लामोलामो सासले फु...फु... गर्दै सबै मैनबत्ती निभायो । तर, म्याजिक क्यान्डल अभयको सासले निभेको जस्तो हुन्थ्यो अनि एकैछिनपछि फेरि ह्वार्र बल्थ्यो । 

निभाइसकेको मैनबत्ती बल्दा अभय अचम्ममा पर्यो । फेरि लामोलामो सास तानेर मैनबत्तीतिर सोझिँदै फु.....गर्यो । पाहुनाहरू यो दृश्यमा रमाइरहेका थिए । मैनाले मैनबत्तीलाई केकबाट निकालिदिइ । ऊ निकै उत्साहित हुँदै ‘ह्याप्पी बर्थ डे टु यु’ भन्दै अभयको हात समाएर केक काट्न लगाइ । शैलेश भने पाहुनाहरूसँग मिसिएर दृश्य हेर्दै थियो । 

अभयको जन्मदिन धुमधामसँग मनाउन पाएकोमा मैना निकै खुसी थिइ । शैलेशको मुहारमा चिन्ता र खुसीको मिश्रण प्रस्टै देख्न सकिन्थ्यो । मैनाले सबै पाहुनालाई पुग्नेगरी ठिक्कको साइजमा केकलाई टुक्रा पार्दै थिइ । जतिजति केक टुक्रा–टुक्रामा विभाजित हुँदै थियो शैलेशको आँखामा यो एक दिनको लागि गर्नुपरेको सङ्घर्ष झल्झली नाच्न थाल्यो । त्यो दिन उसले छोरा र मैनासँग खासै केही भन्न सकेन । दुवैको मुहारको खुसीले शैलेश तृप्त भएको थियो । उसले एकपटक छोरालाई हेरेर मुस्कुराए अनि भने ‘ह्याप्पी बर्थ डे छोरा ।’

अन्तिम अपडेट: बैशाख १०, २०८१

लक्ष्मी लोचना

लक्ष्मी लोचना अहिले ख्वप माध्यमिक विद्यालय भक्तपुरमा पढाउनु हुन्छ । 

तपाईको प्रतिक्रिया