मेलम्चीकाे पानी ल्याउन दिन–रात नभनी काम भइरहेकाे छ : मन्त्री चाैधरी

 माघ १६, २०७८ आइतबार १८:३४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खानेपानी मन्त्री उमाकान्त चौधरीले आउँदो चैतसम्ममा मेलम्चीको पानी काठमाण्डौ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ । आज आइतवार मन्त्रलयमा पत्रकार सम्मेलन गरी
उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले त्यहाँ १२ वटा एक्स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाइ अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।’ 

यस्तै सरकारले खानेपानी महसुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयाे । आयोग गठन पछि समय सापेक्ष, वैज्ञानिक एवम् व्यावहारिक महसुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताउनुभयो ।

त्यस्तै राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । आउँदा दिनमा मन्त्रालयले खानेपानीका स्रोतका संरक्षण र मूल फुटाउ अभियान सञ्चालन गर्नका लागि एकीकृत जलस्राेत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

मन्त्री चौधरीले दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणका लागि पानी परीक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीका लागि यसै वर्षदेखि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गर्नुभयो । उहाँले सरकारले घोषणा गर्दै आएको खुला दिसामुक्त क्षेत्रको दिगोपनका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायसँगको सहकार्य गरी विशेष कार्यक्रम ल्याउने पनि बताउनुभयो ।

मन्त्री चौधरीले अहिले अस्थायी उपायको रूपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाण्डाै उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताउनुभयो । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भइ काम सुरु गरिसकेको उहाँको भनाइ छ । त्यसैगरी एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायका लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्ययोजना बनाइ कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।  

यस्तै मन्त्री चाैधरीले नारायणी, नवलपुर, भरतपुर र दाङमा सहलगानी खानेपानी तथा सरसफाइकाे आयोजनाहरू सम्पन्न भएको प्रगति विवरण सार्वजनिक गर्नुभयो । सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत कञ्चनपुरमा सिद्धनाथ–बैजनाथ सहरी खानेपानी आयोजना सम्पन्न भएको, थोक खानेपानी (बल्क वाटर) वितरण प्रणाली अन्तर्गत कर्णाली, सुनकोसी–मरिनको अध्ययन भइरहेको तथा राप्ती, नारायणी, कोुट्शीठ महाकालीको अध्ययनका लागि परामर्शदाता छनाेट गर्ने काम प्रक्रियामा रहेको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी काठमाण्डाै उपत्यकामा खानेपानीको वैकल्पिक व्यवस्थापनका लागि मन्त्रालयको पहलमा सिस्नेरी स्राेतकाे सम्भाव्यता अध्ययन भइरहेको र भक्तपुरको महादेव खोला जलाशययुक्त खानेपानीको अध्ययनका लागि खरिद प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत विभिन्न आयोजनाका १५ योजनाको खरिद प्रक्रिया सम्पन्न भइ निर्माण चरणमा रहेको पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया