दैलेख प्रशासन कार्यालयमा पाँच दिन नियमित सेवा राेकिने

 माघ १६, २०७८ आइतबार १७:२८:२२ | अमर सुनार
unn.prixa.net

दैलेख – कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भाेलि साेमवारदेखि पाँच दिनसम्मका लागि बन्द हुने भएकाे छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आज आइतवार सूचना निकालेर सेवाग्राहीकाे स्वास्थ्य सुरक्षाकाे ध्यान राख्दै माघ १७ देखि २१ गतेसम्म नियमित सेवाहरू रोकिने जानकारी दिनुभएको छ । विपद् व्यवस्थापन, शान्ति–सुरक्षा र मुद्दाका काम भने नरोकिने सूचनामा जनाइएको छ ।

प्रशासन कार्यालयका २१ कर्मचारीमध्ये चार जनालाई कोरोना सङ्क्रमण भएको र सबैजसो कर्मचारीलाई लक्षण देखिएका कारण पाँच दिनका लागि कार्यालयबाट दिइने नियमित सेवाहरू रोकिएको प्रजिअ प्याकुरेलले बताउनुभयो ।

यसअघि कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि माघ १४ गतेदेखि एक हप्ताका लागि राष्ट्रिय बाणिज्य बैंक दैलेख शाखाले सबै सेवा बन्द गरेको सूचना निकालेकाे छ । बैंकले राजस्व तिर्नका लागि वैकल्पिक व्यवस्थापन गर्न सकिने जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया