शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर यादवमाथि हातपात

 माघ १७, २०७८ सोमबार १७:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियर पवनकुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको मालासहित हातपात गरेका छन् । सब–इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा रकम हिनामिना गरेको आरोप लगाउँदै आज (सोमवार) दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दिउँसो १ बजेतिर मास्क लगाएर नचिनिने गरी कार्यालयमा आएका १० जना युवाले नाराबाजीसहित आफूलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताउनुभयो । हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्तिसमेत टाँसेकाे छ ।

युनियनका संयाेजक एकराज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा शिक्षा समन्वय इकाइका सबइन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

आफूहरूले त्याे रकम विद्यालयलाई फिर्ता गर्न पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेका कारण साङ्केतिक रूपमा कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ । साथै त्याे रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्नेसमेत विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

सब इन्जिनियरद्वयले महाकुलुङको कैलाश प्राथमिक विद्यालय भवन निर्माण गर्दा नाै लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयमा ५० हजार, बाखोर र चेपेल निम्न माध्यमिक विद्यालयमा ३५–३५ हजार र खिरौले निम्न माध्यमिक विद्यालयमा ७५ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

विप्लव निकट कार्यकर्ताले यसअघि पनि आफूलाई हातपात गरेको पीडित यादवले बताउनुभयो । त्यस समयमा आफूले आफ्नो कुनै कमजाेरी नभएकाले कानुनी कारबाहीमा जान आग्रह गरेको उहाँकाे भनाइ छ । घटनापछि फरार भएका विप्लव निकट कार्यकर्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनापछि कार्यालय अगाडि टाँसिएकाे विज्ञप्ति–

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया