घाेराहीमा फाेहरबाट ग्यास उत्पादन सुरु

 माघ १८, २०७८ मंगलबार १८:५:५६ | हेमराज शर्मा
unn.prixa.net

दाङ –  दाङको घोराहीमा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको छ । घोराही उपमहानगरपालिका १६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरिएको नेपाल ऊर्जा विकास कम्पनी प्रालीका प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने गरेको छ । अहिले कम फोहर भएर ग्यास उत्पादन कम भएको हो र केही समय फोहर धेरै राखेर ग्यास उत्पादन वृद्धि गरिने उहाँले बताउनुभयो । अहिले नगरपालिकाबाट उठ्ने फोहर मात्र प्रयोग गरिएको छ । उत्पादन भएको ग्यास पाइपलाइनमार्फत घर–घरसम्म पुर्‍याउने योजना छ । जसका लागि आवश्यक पर्ने पाइप भारतबाट आउन नसक्दा ढिला भएको श्रेष्ठले बताउनुभयो । आवश्यक पर्ने एनडीपी पाइप अर्डर दिएपछि मात्र निर्माण गरिने भएकाले ढिला भएको उहाँकाे भनाइ छ । 

पहिलो चरणमा ग्यास चार सय ५० घरधुरीमा पुर्‍याउने भनेर सर्वेक्षण गरिएको छ । पाइपमार्फत ग्यास प्रयोग गरेबापत मिटर अनुसार रकम तिर्नुपर्ने हुन्छ । सुरुमा ग्यास उत्पादन गरेर सिलिन्डरमा भरेर बजारमा पठाउने योजना भए पनि नयाँ डीपीर गरेर पाइपलाइनमार्फत ग्यास वितरण गर्न थालिएको प्लान्ट म्यानेजर श्रेष्ठकाे भनाइ छ । 

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी प्राली र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा फोहरबाट ग्यास उत्पादन गर्न थालिएको हो । त्रिपक्षीय सम्झौता २०७५ मङ्सिर ५ गते भएको थियो । ग्यास उत्पादन गर्नका लागि पहिले झन्डै २० करोड रुपैयाँ लगानी लाग्ने भनिएको थियो तर पाइपमार्फत घर–घरसम्म ग्यास पुर्‍याउनुपर्ने भएपछि झन्डै २२ करोड लाग्ने प्लान्ट म्यानेजर श्रेष्ठले बताउनुभयो ।

फोहरबाट ग्यास उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले ४० प्रतिशत रकम दिनेछ भने ६० प्रतिशत कम्पनी आफैँले बेहाेर्ने सहमति भएको छ । संरचना निर्माणका लागि नगरपालिकाले झन्डै तीन बिघख जग्गा उपलब्ध गराएको छ । फोहरबाट ग्याससँगै कम्पोस्ट मलसमेत उत्पादन गरिने बताइएकाे छ । 

कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता गरिएको छ । सम्झौताअनुसार २० वर्षपछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गरिने म्यानेजर श्रेष्ठले बताउनुभयो । २० वर्षसम्मका लागि कम्पनीले नगरपालिकालाई पाँच प्रतिशत रकम दिनेछ । ग्यास उत्पादन गर्न थालेपछि गलेर जाने वस्तुको सदुपयोगसमेत हुनेछ । नगरपालिकाले अहिले गल्ने र नगल्ने वस्तु छुट्टाछुट्टै उठाउने गरेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया