नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
बारा – सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका दलित समुदायले करीब ५० वर्षपछि मन्दिरमा प्रवेश गर्न पाएका छन् ।
दलित र गैरदलितबीच जातीय विभेद नगर्ने सहमति भएपछि उनीहरूले शिवमन्दिरमा प्रवेश गर्न पाएका हुन् । वर्षौंदेखि यहाँका दलितलाई गैरदलितले मन्दिर प्रवेश गर्न दिएका थिएनन् । सोमबार भएको छलफलमा दुबै पक्षबीच सहमति भएपछि झवानीका दलित समुदायले मंगलबार मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गरेको युवा विद्यार्थी सङ्घर्ष समिति सिम्रौनगढका अध्यक्ष उमेश कुशवाहाले बताउनुभयो ।
सिम्रौनगढ नगरपालिका–७ का वडाध्यक्ष रमेश कुर्मीको संयोजकत्वमा गठित समितिको बैठकले दलित समुदायलाई मन्दिरमा पूजापाठ निर्बाधरूपमा गर्न दिइनेलगायतका पाँच बुँदे निर्णय गरेपछि उनीहरूलाई मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गर्न सहज भएको हो ।
बैठकमा मन्दिरमा पुजारी व्यवस्थापन गर्ने, दुवैतर्फबाट फोहर गालीगलौज गर्न नपाउने, आजैका मितिदेखि छुवाछूत तथा भेदभाव अन्त्य गर्ने तथा चर्पी निर्माण गर्ने सहमति भएको समितिका संयोजक कुर्मीले जानकारी दिनुभयो ।
समितिका सदस्यमा अवधेश सहनी, रामकिसुन महतो, रामबाबु राम, विनोद राम, राजन दुबे, सोहान राम, नन्दु राम र अमित सिंहलगायत रहेका छन् ।
वर्षौंपछि गाउँको शिवमहादेव मन्दिरमा प्रवेश गरेर पूजा गर्न पाएपछि आफूहरू खुशी भएको वडा नं ७ का वडा सदस्य सरस्वती रामले बताईन् । “वर्षौंदेखि मन्दिर प्रवेश नपाएको र आज मन्दिरमा प्रवेश गरेर निर्धक्क भई पूजा गर्न पाउँदा खुशी लागेको छ,” स्थानीय दलित अगुवा विनोद रामले भन्नुभयो ।
सिम्रौनगढ नगरपालिकाका प्रमुख विजयशंकर यादवले एक्काइसौं शताब्दिको अहिलेको युगमा पनि छुवाछूत तथा भेदभाव गर्नु कानून विपरीत भएको बताउँदै निर्बाधरूपमा दलित समुदायलाई पनि मन्दिरमा प्रवेश गर्न दिई पूजाअर्चना गर्न दिनुपर्छ भन्नुभयो । उहाँकै पहलमा दलित समुदायलाई मन्दिरमा प्रवेश गरेर पुजाअर्चना गर्न दिनका लागि दलित र गैरदलित सम्मलित नौ सदस्यीय वार्ताटोली गठन गरेको थियो ।
राष्ट्रियसभाका सांसद रामप्रीत पासवान, नेपाल दलितसङ्घका केन्द्रीय सदस्य धर्मेन्द्र पासवान, दलित अभियन्ता रामविनय पासवान, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, प्रदेश सदस्य सिकेन्द्र पासवान, प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौर, प्रहरी निरीक्षक खगेन्द्र धमला, सशस्त्र प्रहरी निरीक्षक, युवा विद्यार्थी सङ्र्घष समितिका संयोजक उमेश कुसवाहा, मधेशी दलित गैरसरकारी संस्था रौतहटका अध्यक्ष उदयनारायण राम, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ रौतहटका अध्यक्ष सुखाडी बैठा, रौतहटका दलित अगुवा अनुप माझी, दलित एकीकृत विकास नेपालका नन्दकिशोर पासवान, दलित अधिकार मञ्च रौतहटका अध्यक्ष सबिन्द्र राम, युवा विद्यार्थी सङ्घर्ष समितिका सन्नी गुप्ता, पूर्वगाविस अमृतगञ्जका अध्यक्ष गगनदेव कुशवाहा, झवानीका दलित स्थानीयवासी नन्दू राम, विनोद राम, सरस्वतीदेवी राम लगायतका व्यक्तिको पहलमा समस्या समाधान गर्न दबाब सृजना भएपछि उनीहरूले मन्दिरमा प्रवेश गरेर पुजाअर्चना गर्न पाएका हुन् ।
यसैबीच निर्वाधरूपमा मन्दिरमा प्रवेश गरेर पूजाअर्चना गर्न दिएकोमा दलित समुदायका अगुवाले सम्बन्धीत सबैमा धन्यवाद तथा अभार प्रकट गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।