दाङ : हिउँदे वर्षाका कारण ३० करोड रुपैयाँ बराबरकाे झण्डै तीन करोड इँटामा क्षति

 माघ २२, २०७८ शनिबार ११:३२:२३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेकाे छ । 

बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचाे इँटामा क्षति पुगेको दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो ।

दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएकाे झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयाे । 

पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्षाले गर्दा सबै कामै नलाग्ने गरी क्षति पुर्याएकाे उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा उद्योगमा तयारी अवस्थामा राखिएका काँचो इँटा झण्डै ९ देखि १५ लाखसम्मको क्षति भएको छ ।

हिउँदे वर्षाले सबैभन्दा धेरै तुलसीपुर क्षेत्रका इँटा उद्योगमा क्षति पुगेको छ । विगतमा जस्तै यो वर्ष पनि हिउँदे वर्षाले इँटामा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।

 इँटामा ठूलो मात्रामा क्षति पुगेकाले अबको केही दिनमा इँटाको अभाव हुन सक्ने उहाँले बताउनुभयाे। अहिले जिल्लामा ३५ वटा इँटा उद्योग रहेका छन् । ती मध्ये केही इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया