नौबिसे नागढुंगा सुरुङ सरर...

 भदौ २७, २०७५ बुधबार १२:१५:५५ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – सुरुङमार्ग बनाउने चर्चा सुरु भएको झण्डै सत्तरी वर्षपछि नेपालमा पहिलो सुरुङमार्ग निर्माण हुने पक्का भएको छ । योजना अनुसार काम भयो भने, अबको छ महिनाभित्रै चन्द्रागिरीको बलम्बु हुँदै नौविसेलाई जोड्ने गरि नौबिसे र नागढुंगाबीच सुरुङमार्ग निर्माण सुरु हुनेछ । 

सुरुङमार्ग निर्माण गर्न अहिलेसम्म विभिन्न ३५ वटा निर्माण कम्पनीले प्रस्ताव पेश गरिसकेका छन् । सडक विभाग अन्तर्गत वैदेशिक महाशाखाले यो सुरुङ निर्माण गर्न गरेको ग्लोबल टेण्डर (अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान) बमोजिम अहिले पनि निर्माण कम्पनीहरुको प्रस्ताव दर्ता हुने क्रम चलिरहेको छ ।

नागढुंगा नौविसे सुरुङमार्ग नाम दिईएको यो सुरुङ निर्माण गर्न सरकारले साउन २४ गते ग्लोबल टेण्डर आह्वान गरेको थियो । ६० दिने ग्लोबल टेण्डरमा कम्पनीहरुले कार्तिक ३ गतेसम्म टेण्डर भर्न पाउँछन् । सडक विभाग अन्तर्गत वैदेशिक महाशाखाका ईन्जिनियर छविलाल पौडेलका अनुसार, त्यसपछि प्राप्त निर्माण कम्पनीहरुको प्रस्ताव जापान पठाइने छ । त्यहाँबाट प्रस्तावको मुल्यांकन गरेर २०१९ को जनवरीसम्ममा ठेकेदार छनोट गरिनेछ । छनोट गरिएको ठेकदारले ४२ महिना (साढे ३ वर्ष) भित्र सुरुङ निर्माण गरिसक्नु पर्ने शर्त ग्लोवल टेण्डरमा राखिएको छ ।

यो सुरुङमार्ग बन्ने कुरा सन् २०१३ देखि सुरु भए पनि सन् २०१६ को डिसेम्बरमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) संग ऋण सम्झौता भएपछि मात्र यसको काम अघि बढेको हो । सम्झौता अनुसार, नेपाल सरकारलाई जाइकाले सुरुङ निर्माण गर्न ४० वर्षभित्र फिर्ता गर्ने गरि नाम मात्रको (० दशमलव १ प्रतिशत) व्याजदरमा १६ अर्व ४६ करोड ९६ लाख ऋण दिएको छ । सुरुङमार्ग बनाउन करीब २० अर्व रुपैयाँ लाग्ने अनुमान छ । जाइकाको ऋणमा नपुग रकम नेपाल सरकारले लगानी गर्नेछ । 

मुआब्जा बाँड्ने काम सकिन लाग्यो 

सुरुङमार्ग निर्माण गर्न काठमाडौं जिल्लामा पर्ने चन्द्रागिरी नगरपालिकाको सडक रुटमा पर्ने २ सय ६७ रोपनी जग्गाको मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । ईन्जिनियर पौडेलले दिएको जानकारी अनुसार धादिङ जिल्लाको १ सय ९ रोपनी अधिग्रहण गर्दा लाग्ने मुआब्जाको रकम पनि तयारी अवस्थामा छ । उहाँका अनुसार काठमाडौंका जग्गा धनीलाई मुआब्जा वितरण गर्ने काम सकिन थालेको छ । त्यसपछि लगत्तै धादिङमा पनि मुआब्जा बाँड्ने तयारी गरिएको छ ।

सुरुङमार्ग निर्माण गर्न जग्गा अधिग्रहण गर्दा काठमाडौंमा जग्गाको मूल्यांकन न्यूनतम नौ लाख प्रति आनादेखि बढीमा ४२ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । यो भाउ अनुसार त्रिभुवन राजपथसँग जोडिएको करिब १० आना जग्गाका जग्गा धनीले मात्रै प्रतिआना ४२ लाख रुपैयाँ पाएका छन् । बाँकी जग्गाको मूल्यांकन गर्दा मूल पक्की सडकले छोएकालाई प्रतिआना २१ लाख, अन्य सहायक सडकले छोएकालाई १९ लाख, कच्ची मोटर बाटोले छोएकालाई १७ लाख, गोरेटो बाटोले छोएकालाई १३ लाख र बाटोले नछोएको जग्गाको जग्गालाई ९ लाख रुपैयाँ प्रति आनाका दरले मुआब्जा दिएको छ । धादिङ तर्फका जग्गाका लागि भने मुआब्जा रकम तय गर्न बाँकी छ । सुरुङमार्ग बनाउन लाग्ने एक चौथाई रकम (करीब ४ अर्व) जग्गाको मुआब्जामा नै खर्च हुनेछ । 

सुरुङमार्गको डीपीआर अध्ययनका क्रममा नागढुंगा संघर्ष समितिले आफ्ना जग्गा मासिने र आफू घरबार विहीन हुने भन्दै बिरोध जनाएका थिए । तर सरकारले पर्याप्त मुआब्जाको व्यवस्था गरेपछि यो समस्या सुल्झेको थियो । सुरुङ निर्माण गर्न अब ठेकेदार छनौट गर्ने र काम सुरु गर्न बाँकी छ । आयोजनाका लागि अब कुनै अरु खालका व्यवधान छैनन् ।

बलम्बुबाटै मोडिन्छ सुरुङमार्गको चौडा सडक 

कतिपयले यो सुरुङमार्ग सितापाईलाबाट, कतिले अहिलेको नागढुंगाबाट र कतिले थानकोट नजिकबाट सुरु हुने भनेर लेखेका छन् । तर, यो सुरुङमार्गको मुख नागढुंगाबाट केही पर दहचोकको टुटीपाखामा हुनेछ । सुरुङमार्गमा पुग्ने सडक अहिले नेपाल टेलिकमको स्याटेलाईट अर्थ स्टेसन रहेको बलम्बु नजिकबाट दाहिनेतिर मोडिनेछ । बलम्बुबाट टुटीपाखा पुग्न लगभग साढे दुई (२.३ किलोमिटर) सडक पार गर्नुपर्नेछ । र, यो सडकमा पस्न बलम्बुमा ओभरब्रिज पनि बन्नेछ । सुरुङमार्ग प्रयोग गर्ने गाडीहरु बलम्बुको ओभरब्रिजबाट दाहिने मोडिनेछन् भने नागढुंगा भञ्ज्यांग हुँदै जाने गाडीहरुले अहिलेको त्रिभुवन राजपथलाई नै प्रयोग गर्नेछन् ।   

बलम्बुमा बन्ने इस्टर्न एप्रोच रोड भनिएको ओभरब्रिजसहित २.३ किलोमिटर सडक जस्तै धादिङ जिल्लामा करीब आधा किलोमिटर (५ सय ६५ मिटर) को वेस्टर्न एप्रोच रोड बन्नेछ । नौविसेबाट काठमाडौ पस्ने गाडी धादिङको सिस्नेखोलामा बन्ने यही ५ सय ६५ मिटरको एप्रोच रोड भएर सुरुङमार्गमा प्रवेश गरि सरासर बलम्बु निस्कनेछन् । यसैगरि बलम्बुबाट टुटीपाखा हुँदै सुरुङमा पसेका गाडी धादिङकाे सिस्नेखोलामा निस्केर नौविसे जानेछन् । 

नागढुंगा नजिकको टुटीपाखाबाट सुरु भएर धादिङको सिस्नेखोलामा निस्कने सुरुङमार्गको लम्बाई करीब अढाई (२.६) किलोमिटरको मात्र हुनेछ । तर यो सुरुङमार्ग नेपालको पहिलो आधुनिक र चौडा मार्ग पनि हुनेछ । सुरुङमार्गको दाँया र बाँया साढे ३ मिटर चौडाई अथवा सरदर १२ फीटे सडकका दुईटा लेन हुनेछन् । यी दुई लेनलाई डेढ मिटर (करीब ५ फीट) को मिडियनले अलग गर्नेछ । 

सुरुङमार्ग बनाउन ठेक्का लिएको कम्पनीले बलम्बुदेखि टुटीपाखासम्म र सिस्नेखोलामा एप्रोच सडक, सुरुङमार्गको दुई किनारामा ढल निकासको लागि आधा मिटर चौडा सोल्जर, सुरुङमार्गमा पर्ने ७ वटा पुल, ११ वटा कल्भर्ट, टोल (सडक दस्तुर) गेट, धादिङको सिस्नेखोलामा सर्भिस स्टेसन पनि निर्माण गर्नुपर्ने कुरा ग्लोबल टेण्डरमा समावेश छ । 

सुरुङ खन्दा आएको माटोलाई धादिङको सिस्नेखोलाको खोल्सामा भरेर त्यसमाथि सर्भिस स्टेसन बनाइने छ । उक्त स्टेसनमा कम्तिमा पनि २५ ठूला गाडी पार्किङ गर्न मिल्नेछन् । सर्भिस स्टेसनमा एउटा पेट्रोल पम्प र खाजाघर निर्माण गरिनेछ । 

टोल गेटमा टिकट काटेर मात्र गाडीहरुले सुरुङमार्गमा प्रवेश गर्न पाउनेछन् । यसको लागि सुरुङको दुवै तर्फ ‘टोलगेट’को व्यवस्था गरिनेछ । बलम्बूबाट सिस्नेखोलासम्मको अहिलकोे दूरी साढे १० किलोमिटर छ । सुरुङमार्ग निर्माण भएपछि  त्यो दूरी साढे ५ किलोमिटरमा छोटिने छ । 

सडकको दूरी ५ किलोमिटर मात्र छोटो हुने भए पनि सुरुङमार्गमा रहने मिडियनले गाडीहरुलाई लेन मिच्न दिदैन र सुरुङमार्गको साढे दश किलोमिटर सडकमा जाम हुँदैन । जाम नहुने बित्तिकै काठमाडौ र नौबिसे बीचको यात्रा सरदर २० मिनेटमा पूरा हुने कुरामा सडक विभागका इञ्जीनियरहरु ढुक्क छन् । 

तर आफ्नै देशभित्र सुरुङमार्गमा गाडीमा गुड्ने ७० वर्षे अधुरो सपनालाई विपनामा आफ्नै आँखाले देख्न र अनुभव गर्न चाहिँ अझै पनि कम्तीमा ४ र बढीमा ५ वर्ष लाग्नेछ ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया