बजेट थप्नुपर्ने याेजनाकाे नाम पठाउनुस् : शिक्षा मन्त्री पाैडल

 माघ २३, २०७८ आइतबार १८:९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बाग्लुङका कार्यालय प्रमुखहरूसँग बजेट थप गर्नुपर्ने योजना माग्नुभएको छ । आज आइतवार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरूसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग्नुभएको हो । ‘अर्थ मन्त्रालयले फागुनको अन्तिम हप्ता बजेट रकमान्तर गर्दैछ’, उहाँले भन्नुभयो, ‘थप्नुपर्ने योजनाको विवरण दिनुहोस्, मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’

यसैबीच तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरिमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरूलाई मन्त्री पाैडेलले निर्देशन दिनुभयो । 

गलकोट–मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको भन्दै त्यसको अनुगमन गरी काम अघि बढाउन पनि उहाँले निर्देशन दिनुभयो । जिल्लामा झाेलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखहरूलाई मन्त्री शर्माले निर्देशन दिनुभयो ।

आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन मन्त्री पाैडेलले आग्रह गर्नुभयो । नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको भन्दै उहाँले रणनीतिक योजनाहरू, विद्यालय, मोटरबाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने हाे त्याे लिपिबद्ध गरी टिपाउन निर्देशन दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शान्ति सुरक्षा जिल्लामा सामान्य नै रहेको बताउनुभयो । लागुऔषधको कारोबार पश्चिमतिर भइरहेको बताउँदै त्यसको नियमन गर्ने काम भइरहेको उहाँले सुनाउनुभयो ।

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरूले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई बिफ्रिङ गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया