'घरमै भएका खानेकुरा मिलाएर खुवाएमा पोषणको कमी हुँदैन भनेर प्रचार गर्नु जरुरी छ'

 माघ २४, २०७८ सोमबार ११:३०:२ | डा. जया प्रधान
unn.prixa.net

कोभिडका कारण अहिले जुनसुकै उमेर समूहका मानिसको पोषणमा प्रभाव परिरहेको छ । त्यसमा पनि स्कुल जाने बालबालिकामा कोभिडले पोषणका सन्दर्भमा धेरै नै प्रभाव पारेको विभिन्न अध्ययनले देखाएको छ ।

अहिले स्कुल जाने उमेर समूहका बालबालिकाको तीव्र शारीरिक विकास हुने समय हो । यो समयमा पोषणमा ध्यान पुर्याउन सकिएन भने त्यसले शारीरिक तथा मानसिक विकासमा समेत असर पुर्याउछ । त्यसकारण अहिले कोभिडको समयमा हामीले बालबालिकाको खाना तथा सरसफाइमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

नेपालमा ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था सन्तोषजनक छैन । केही सुधार भए पनि खासै राम्रो अवस्थामा छैन । पोषणको अभावमा बालबालिका कुपोषित हुने मात्र नभइ कोभिड मात्र नभएर अन्य रोगहरुले पनि आक्रमण गर्न सक्ने खतरा हुन्छ किनकि पोषणको अभावमा रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । जसका कारण कोभिड मात्र नभएर अन्य रोगहरुले पनि आक्रमण गर्न सक्छ । 

रोजगारीका कारण पोषणमा प्रभाव

कोभिडका कारण अभिभावकले रोजगारी गुमाउँदा सामाजिक–आर्थिक स्तरमा मात्र नराम्रो प्रभाव पर्ने नभइ बालबालिकाको खानामा समेत असर गरेको पाइन्छ । जसले गर्दा पोषणमा समेत नराम्रो असर पुगेको पाइन्छ । यसमा अभिभावकले हाम्रा वरिपरि, सजिलै र छिटो पाइने पोषणयुक्त खानेकुराका बारेमा जानकारी राख्नु जरुरी देखिन्छ । 

आयस्रोत गुमेपछि बच्चालाई के खुुवाउने भन्ने चिन्ता अभिभावकमा भएको देखिन्छ । यसमा महँगा खानेकुरा मात्र खुवाउनु पर्छ भन्ने नभइ घरमा भएका खानेकुरा मिलाएर खुवाए पनि पोषण पर्याप्त पुग्छ । कुपोषणको परिभाषा खासमा दुई प्रकारको हुन्छ ।

पहिलो भनेको गरिबीका कारण पर्याप्त पौष्टिकतत्त्वयुक्त खानेकुरा खुवाउन नसकेका कारण हुने कुपोषण । अर्को भनेको चाहिने भन्दा बढी खानेकुरा खाएर पोषणमा असन्तुलन भएमा त्यसलाई पनि हामीले कुपोषण भन्ने गरेका छौँ । नेपालको सन्दर्भमा भने पोषणयुक्त खानेकुरा खान नपाएर हुने कुपोषणको मात्रा बढी देखिन्छ । 

नेपालमा धेरै नदेखिए पनि पाँच वर्षमुनिका बालबालिकामा कुनै पौष्टिक तत्त्व मात्र अधिक भएर देखिने मोटाउने समस्या एक प्रतिशतमा देखिएको छ । यो पनि एक प्रकारको कुपोषण नै हो । यसलाई कुपोषणभन्दा पनि क्यालोरीको मात्रा शरीरमा अत्यधिक भएका कारण बालबालिकामा मोटाउने समस्या देखिएको छ । 

विशेषगरी सहरी क्षेत्रमा अभिभावक दुवै जना कामकाजी हुन्छन् । अभिभावक घरमा नहुने र अहिले कोभिडको समयमा केटाकेटीको अनलाइन कक्षा दिउँसो हुने कारणले बच्चाहरुलाई विशेषगरी पकाउन नपर्ने तयारी खानेकुरा जस्तो चाउचाउ, बिस्कुट बच्चाहरुलाइ दिउँसो खाजाका रुपमा छोडिदिने चलन छ । 

हुन त आवश्यक पौष्टिक तत्त्व बिहान, बेलुका जुनसुकै समयमा खाए पनि हुन्छ । तर, पनि कोभिडको महामारीका कारण यो समय भनेको झण्डै दुई वर्ष बितिसक्यो । त्यसकारण पनि यसले पोषणमा पक्कै असर गरेको छ ।

पोषणका सन्दर्भमा प्रचारको कमी

अर्को भनेको विद्यालय नजाँदा पहिलो त शारीरिक व्यायाम हुँदैन भने दिनभरि घर बस्नुपर्दा उनीहरुमा एक प्रकारको तनाव हुन्छ यसले पनि खानाप्रति अरुचि जगाउँछ जसले गर्दा पनि पोषण नपुग्ने समस्या अधिक हुन्छ । 

कुपोषणका कारण हुने मानसिक तथा अन्य विविध विषयमा हुने प्रभावका विषयमा सञ्चार माध्यमले पनि धेरै कुरा उठाइरहेको पाइन्छ । हुन त कोभिड नियन्त्रणका लागि भनेर सरकारले १८ वर्षमाथिको उमेर समूहका ७७ प्रतिशतलाई खोप लगाइसकेको छ भने १२ देखि १७ वर्ष उमेर समूहलाई पनि खोप सुरु गरेको छ । 

हात धुने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने विषयमा पनि सरकारले धेरै प्रचार–प्रसार गरेको छ । टेलिभिजनमा पनि बालबालिकालाई समावेश गरेर विज्ञापन बनाउने गरेको पाइएको छ । यसबाट पनि कोभिडका बारेमा सचेतता अपनाउनु पर्ने सकारात्मक कुरा बच्चाहरुमा परेको पाइन्छ । 

बच्चाहरुको पोषणका लागि सरकारले रोजगारी गुमेको खण्डमा पनि घरमा भएका खानेकुरा यसरी मिलाएर खुवाउँदा बच्चाहरुमा पोषणको कमी हुँदैन भनेर प्रचार–प्रसार गर्न सके त्यो अझ राम्रो हुन्छ । साधारण रुपमा आफ्ना बच्चामा कुपोषणको जोखिम छ कि छैन भन्ने कुरा थाहा पाउन बच्चाहरुले दैनिक राम्रोसँग खाएको छ कि छैन भन्नेबाट पनि थाहा पाउन सकिन्छ । अर्को भनेका घरमा तयार गरेका खानेकुरा उनीहरुले राम्रोसँग खाएका छन् भने उनीहरुको खानाप्रतिको रुचि घटेको छ कि छैन भन्ने त्यसबाट पनि थाहा पाउन सकिन्छ । 

अर्को कुरा भनेको बच्चाहरुले सामान्य अवस्था लगाइरहेका लुगा खुकुलो हुँदै गएको छ भने कतै खान पुगेन कि वा स्वास्थ्य समस्या छ कि भनेर थाहा पाउन सकिन्छ । र, लगाइ रहेको लुगा कस्सिँदै गएको खण्डमा पनि खाना ठिकै रहेछ भन्ने सामान्य अुनमान गर्न सकिन्छ । 

विशेष गरी बच्चाको उमेर अनुसार तौल कस्तो छ भन्ने कुराले पनि पोषणका बारेमा थाहा पाउन सकिन्छ । यदि उमेर अनुसार तौल घट्दै गएको छ भने हामीले कुपोषणका बारेमा शङ्का गर्न सक्छौँ । त्यस्तै सामान्य अवस्था साथीभाइसँग राम्रो शारीरिक अभ्यास गरिरहेको बच्चाले खेलप्रति रुचि देखाउन छोड्यो वा अल्छि गर्न थाल्यो भने पनि हामी सचेत हुनुपर्ने हुन्छ । 

५–१४ वर्ष उमेर समूहको बच्चाको उचाइ ४–७ सेन्टिमिटर बढ्नुपर्ने हुन्छ । यदि यस अनुसार बढेन भने उसलाई खानामा केही प्रभाव परेको छ वा अन्य केही रोग लागेको छ कि भनेर पनि पहिचान गर्न सकिन्छ । 
यदि समस्या छ भन्ने लागेमा विशेषज्ञ डाक्टरहरुसँग सल्लाह लिन सकिन्छ । त्यसका लागि अहिलेको कोरोनाको समयमा भौतिक रुपमा उपस्थित हुनु नपर्ने माध्यम अपनाउन सकिन्छ । तर, यदि यस्ता माध्यमको पहुँच छैन भने कोरोनाको सावधानी अपनाउँदै अस्पताल वा स्वास्थ्य केन्द्र वा आफ्नो पायक पर्ने स्वास्थ्यकर्मीलाई देखाएर परामर्श गर्न सकिन्छ । 

घरायसी खानेकुराबाट नै पोषणको पूर्ति

सामान्यतया हाम्रो खानेकुरा भनेको दाल, भात र तरकारी हो । तर, यदि आर्थिक अवस्था कमजोर छ भने हामीले भातसँग त्यस मौसममा पाइने हरिया तरकारी किनेर पकाएर खाएमा त्यो पोषणको राम्रो स्रोत हुनसक्छ । मौसम अनुसारको तरकारीमा जोड यसकारण दिइएको हो कि अरु तरकारीको दाँजोमा त्यसको मूल्य कम हुन्छ भने ताजा पनि हुन्छ । तर, सस्तो भन्दैमा हामीले कुहिएको तरकारी किन्ने भन्ने कुरा हुँदैन । 

हामीले दालभात र तरकारी खाँदा भात अन्न समूहमा, दाल गेडागुडी समूहमा र तरकारी भिटामिन, मिनरल्स समूहमा पर्ने हुँदा पोषणको मात्रा पुग्ने हुन्छ । र, यदि दाल, भात र तरकारी सामान्यतया मिसाएर जाउलो पकाएका खण्डमा त्यसले इन्धन पनि बचाइ खर्चमा कमी ल्याउने तथा पोषणका सबै प्रकारको पूर्ति पनि गर्ने गर्छ । 

इन्धन नै जोगाउने हो भने तरकारी, चिउरा पनि खान सकिन्छ । कहिलेकाहीँ चाउचाउ तथा बिस्कुट ठीक हो कि भन्ने पनि लागेकाे हुनसक्छ । तर, त्यही पैसाले पनि हामीले पोषणयुक्त खाजाको राम्रो व्यवस्थापन गर्न सक्छौँ । यो कुरा अभिभावकले बुझ्नु पर्ने हुन्छ । 

स्कुल जाने उमेर समूहका केटाकेटीलाई अन्य उमेर समूहकालाई भन्दा प्रोटिन बढी चाहिने हुन्छ । त्यसका लागि हामीले घरमा भएका अन्न, दाल तथा गेडागुडीलाई मिलाएर पनि पोषणयुक्त खानेकुरा बनाउन सक्छौँ यदि हाम्रो आर्थिक अवस्था कमजोर छ भने । किनकि वनस्पति स्रोतबाट प्राप्त प्रोटिनयुक्त पदार्थ भन्दा जनावर श्रोतबाट प्राप्त हुने माछामासु, दही, दूध सामान्यतया महँगो हुन्छ । 

पोषणविद्का तर्फबाट भन्नुपर्दा एक भाग वा दुई भाग अन्न गेडागुडी मिसाएर केही नभए पनि हामीले त्यसमा पूर्ण प्रोटिन प्राप्त गर्ने खाद्य परिकार बनाउन सक्छौँ । रोटी बनाउँदा पनि गहुँको मात्र रोटी नबनाएर त्यसमा, चना, भटमासको पिठो राखेर बनाउँदा अन्नबाट प्राप्त हुने मिठोनिन भन्ने एमिनो एसिड तथा चना र भटमासबाट प्राप्त हुने लाइसिन भन्ने एमिनो एसिड मिलेपछि त्यसबाट हामीले पूर्ण प्रोटिन प्राप्त गर्न सक्छौँ । यसरी एउटा रोटीबाट हामीले झण्डै पूर्ण प्रोटिन प्राप्त गर्न सक्छौँ । जबकि गहुँको पिठोका मात्र रोटी खाँदा त्यसमा लाइसिन कम हुने भएकोले त्यो पूर्ण प्रोटिनयुक्त हुँदैन । 

प्रोटिन बन्नका लागि चाहिने एमिनो एसिड हाम्रो शरीरमा बन्न सक्दैन त्यसकारण हामीले शरीर बाहिरबाट खानाका रुपमा प्राप्त गर्नुपर्ने हुन्छ । र, पूर्ण प्रोटिनको रुपमा विशेष गरेर हामीले माछामासु किन्न नसकेको अवस्थामा वनस्पति स्रोत, अन्न अथवा दाल, गेडागुडी आदि मिसाएर खाँदा पनि पूर्ण प्रोटिनको स्रोत पाइन्छ । 

पालिकास्तरमा कार्यक्रम

पालिकास्तरको कुरा गर्दा उहाँहरुले आफ्नो स्थानीयस्तरमा स्कुल जाने केटाकेटी कति छन् भनेर तथ्याङ्क राख्नुपर्ने हुन्छ । कोभिड महामारी जस्ता प्रतिकूल अवस्थामा केटाकेटीमा पोषणको स्तरमा प्रतिकूल प्रभाव पार्ने हुनाले यसमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने हुन्छ ।

समय, समयमा उनीहरुको स्वास्थ्य जाँच गर्ने प्रबन्ध मिलाउनुका साथै आर्थिकस्तर कम भएका मानिसका लागि सुपथ मूल्य पसलको व्यवस्था गर्ने वा सरकारकातर्फबाट पनि सुपथ मूल्यमा सामानहरु प्राप्त गरेर वितरण गर्ने काम गर्नुपर्ने हुन्छ । 

तर, वितरण गर्ने पोषणयुक्त खाद्यपदार्थहरु पनि कसरी तयार गर्ने विषयमा पोषणविद्हरुलाई पनि संलग्न गराएर थोरै रकममा कसरी पोषणयुक्त खाना तयार गर्न सकिन्छ भनेर सल्लाह लिन सकिन्छ । समुदायका बालबालिकाको पोषण स्थिति सुधार गर्नका लागि कसरी परिचालन गर्न सकिन्छ भनेर कार्यक्रम बनाउन नितान्त आवश्यक देखिन्छ । 

सरकारले केटाकेटीको पोषण स्थिति सुधारका लागि पहिलेदेखि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रमहरु गर्दै आएको छ । जसका कारण, शिशु मृत्युदर, बाल मृत्यृदर तथा मातृ मृत्युदर कम हुँदै गएको छ । यसका लागि सरकारले विशेषज्ञ तथा पालिकाहरुसँग समन्वय गरेर कार्यक्रमहरु बनाउने गर्नुपर्छ । अर्को पालिकास्तरमा कस्ता उत्पादन हुन्छन्, उत्पादित खाद्य वस्तुलाई कसरी पोषिलो बनाउने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ।

(डाक्टर प्रधानसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: बैशाख ८, २०८१

डा. जया प्रधान

डाक्टर जया प्रधान पोषणविद् प्राध्यापक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया