प्रचण्ड र माधव नेपाल : दुःख पाइस् मङ्गले, आफ्नै ढङ्गले !

 माघ २४, २०७८ सोमबार १७:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

केही समयअघिकाे कार्यक्रममा प्रचण्ड र माधव नेपाल

हुन त शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई गुण र दोषको तुलोमा सँगसँगै राखेर जोख्ने हो भने नतिजामा खासै अन्तर नदेखिएला । तर व्यवहार, कार्यशैली र धरातलका पछिल्ला मापनमा देउवा र ओलीको भन्दा प्रचण्ड र नेपालको ओज घटेको देखिन्छ । 

प्रचण्ड : के सोचेँ मैले, के भयाे अहिले !

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन’, प्रचण्डको चरित्रलाई सङ्केत गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेको टिप्पणी हो यो । 

प्रचण्डको असली चरित्र एउटै थालमा खाएर र एउटै ओछ्याउनमा सुतेर वर्षाैँसम्म सहयात्रा गरेका बाबुरामलाई जति अरू कसलाई पो थाहा होला र ! पछिल्लो पटक एमसीसी प्रकरणमा देखाएको द्वैध चरित्र सार्वजनिक भएपछि त प्रचण्डको भनाइ र गराइमा कतिसम्म फरक छ भन्ने कुरा भट्टराईबाहेक अरूलाई पनि घामजत्तिकै छर्लङ्ग भइसकेको छ । 

त्यसो त प्रचण्डको असली चरित्र देखाउने यो पछिल्लो प्रमाण मात्रै हो । शक्तिखोरको भिडियो सार्वजनिक भएपछि उनको दाहोरो चरित्र र विश्वसनीयता स्खलन हुन थालेको थियो । योभन्दा अघिका थुप्रै अभिव्यक्ति र व्यवहारले पार्टीभित्र र बाहिरसमेत प्रचण्डप्रतिको विश्वास घट्दै आएको छ । शान्ति प्रक्रियामा आएपछि कुशल रणनीतिकार मानिने प्रचण्ड केही वर्षदेखि बोलीको ठेगान नभएका नेताका रूपमा चिनिन थालेका छन् । 
पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रधानसेनापति रुकमाङ्गद कटवाललाई खुल्ला मञ्चबाटै ‘को हो त्यो’ भनेर चुनौती दिए । पछि सेनापति र पशुपतिको पुजारी हटाउने निर्णय आफ्नो गलत काम भएको भन्दै पश्चाताप गरे । बोल्ने र विवादमा पर्ने प्रचण्डको चरित्रलाई कतिपयले कमजोरीको रूपमा बुझ्छन् भने प्रचण्ड चाहिँ यसलाई आफ्नो विशेषता ठान्छन् । संविधान सभाको चुनाव हुनु पहिले नै माओवादी सेना र हतियारको विषयमा बोलिएको शक्तिखोरको भाषणको भिडिओ सार्वजनिक भएदेखि प्रचण्डप्रतिको आमधारणा फरक हुन थालेको हो । 

पटक–पटकको विवादित अभिव्यक्ति र कामले प्रचण्डले विश्वसनीयता गुमाउँदै गएका छन् । पछिल्लो पटक अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा दोहोरो भूमिका खेलेको खुलासा भएपछि त प्रचण्डको बचेखुचेको साख झनै घटेको छ ।  प्रचण्ड अहिले पनि नेता र कार्यकर्तासँगको भेटमा एमसीसी संशोधन नगरि संसदबाट अनुमोदन हुनै सक्दैन भन्छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवासँग मिलेर एमसीसी मुख्यालयलाई लेखेको पत्रमा भने प्रचण्डले एमसीसी अनुमोदनको प्रतिबद्धता जनाएका छन् । प्रचण्डको दोहोरो चरित्र सार्वजनिक भएलगत्तै उनको सचिवालयले प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको भन्दै बचाउ गर्न खोजेको छ । तर यो विज्ञप्तिमा प्रचण्डको दोहोरो चरित्र झनै छताछुल्ल भएको छ । इमानदार भए प्रचण्डले विना ढाकछोप एमसीसी पास गर्नुपर्छ भन्नु पर्थ्याे, तर त्यसो भन्न प्रचण्डको दोधारे बोली र चरित्रले अहिले पनि दिएन । 

आफ्नो 'हाइट' आफैँ घटाउने गरी पटक–पटक प्रचण्डका विवादित अभिव्यक्ति किन सार्वजनिक भइरहेका छन् त ? एउटा कारण त मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवदेखि रामबहादुर थापा बादलसम्म जनयुद्धका सहयात्री नेताहरू आफूसँग नहुँदाको छटपटी पहिलेदेखि नै छँदैछ । अर्को माधव नेपाललगायतका गठबन्धनका नेताहरूको साथमा परैसम्म पुग्छु भन्ने पछिल्लो विश्वास पनि धरमराउन थालेको छ । आउँदो चुनावमा गठबन्धन नहुने हो भने पार्टीले सजिलै जित्ने ठाउँ पहिल्याउनै प्रचण्डलाई सकस छ । माओवादी केन्द्रसँग रुकुम, रोल्पा, कालीकोट, जाजरकोट जस्ता केही जिल्ला छोडेर एक्लै चुनाव जित्न पुग्ने स्थानीय सङ्गठन छैन । त्यसैले आउँदो चुनावको सम्भावित परिणामले प्रचण्डलाई भित्रभित्रै अत्याएको छ । केही निजी स्वभाव, व्यापारिक पृष्ठभूमिका व्यक्तिसँगको उठबस र युद्धमा गरिबका छोरा मारेको अपशाेस अपराधबोधले पनि प्रचण्डभित्र पीडा, कुण्ठा, निराशा, उग्रता र आक्रोश मडारिएको पाइन्छ । यी सबै कारण प्रचण्डका अभिव्यक्ति र कार्यशैली एकपछि अर्को विवादित भइरहेका छन् । एमसीसी प्रकरण त पछिल्लो उदाहरण मात्रै हो । प्रचण्ड भविष्यमा यस्ता समस्यामा झन् जेलिँदै जानेछन् । किनकि, अब प्रचण्डलाई न त ओली र देउवाले विश्वास गर्छन्, न त अमेरिका, चीन र भारतले नै । यो कुराको बोधले प्रचण्डलाई झन्–झन् अविश्वसनीय र दोधारे बनाउँदै लैजानेछ । 

कुण्ठैकुण्ठाको कुण्डमा माधव नेपाल

केपी ओलीको मेख मार्ने एउटै मात्र उद्देश्य बोकेर हिँडेका माधव नेपाललाई आफ्नो 'हाइट' कतिसम्म रहेछ भन्ने हिजो मात्रै थाहा भयो होला । एमसीसी सम्झौताबारे अमेरिकालाई पठाएको प्रतिबद्धता पत्र सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री देउवाले ओली र प्रचण्डलाई बालुवाटार बोलाए । यसअघि प्रचण्ड बालुवाटार जाँदा नेपाल पनि सँगै हुन्थे । आफू मुख्य दलको शीर्ष नेताभित्रै पर्छु र त्यसमा पनि ओलीको भन्दा बढ्ता महत्त्व आफ्नै छ भन्ने नेपाललाई लाग्थ्यो । तर एमसीसी, स्थानीय चुनाव लगायतका अरू समसामयिक विषयमा हुने छलफलमा माधव नेपालको उपस्थिति आवश्यक छैन भन्ने देउवाले पनि बुझिसके । हुन त माधव नेपाल भएको ठाउँमा ओली आउँदैनन् भनेर हिजोको बैठकमा देउवाले नबोलाएको हुन सक्छ । तर कारण त्यो मात्रै होइन, अहिलेका सबै राजनीतिक घटनाक्रमहरू देउवा, ओली र प्रचण्डकै वरपर घुमिरहेका छन् । यो 'रिङ' मा माधव नेपाल नसमेटिँदा पनि फरक पर्दैन । पछिल्लो पटक फेरिँदो घटनाक्रमबाट माधव नेपालले पनि यो कुरा छर्लङ्ग बुझेको हुनुपर्छ । 

माधव नेपाललाई नजिकबाट बुझेका सबैलाई थाहा छ, माधव नेपाल मान र पद भनेपछि हुरुक्कै हुने नेता हुन् । यसअघि दुई ठाउँबाट चुनाव हार्दासमेत सांसदबाट प्रधानमन्त्री बनेको र महाधिवेशनमा हार्दासमेत प्रचण्डकै हाराहारीको अध्यक्ष बन्न खोजेकोबाट त हरेक नागरिकले उनको पदप्रतिको आशक्तिलाई यसअघि नै बुझिसकेका हुन् ।

यही लोभ र आशक्तिले उनलाई अस्थिर बनायो । एमालेमा पनि उनी वरिष्ठ नेता नै थिए, माओवादीसँग एकता भएपछि पनि उनी त्यही वरिष्ठ पदमा कायम रहेकै थिए । ओलीका कमी–कमजोरी त पहिले एमालेमा हुँदा पनि देखिएको थियो । खटपट त उतिबेला पनि थियो । ओलीको व्यवहारले प्रचण्डलाई जस्तै नेपाललाई चित्त नबुझ्नु स्वाभाविक नै थियो तर प्रचण्डको लहलहैमा लागेर ओलीलाई कमजोर पार्न माधव नेपाल आफैँले बनाएको एमालेकै जग हल्लाउन थालेपछि कुरा जटिल भयो । 

यसअघि १५ वर्षसम्म पार्टीको नेतृत्व गरेर पनि एमालेलाई बलियो बनाउन नसकेको आरोप नेपालको टाउकोमा छँदै थियो । त्यसको अन्तिम रूप २०६४ सालको चुनावको नतिजाले पनि देखाएकै हो । पार्टीलाई उकास्न सकिएन भनेर उनले नैतिकताका आधारमा राजीनामा पनि दिएका थिए । त्यतिबेला उनले पार्टी नेता, कार्यकर्ताबाट टन्नै सहानुभूति पनि पाएका थिए । तर त्यो नैतिकता र सहानुभूतिलाई उनले टिकाउन सकेनन् । उनको समर्थनमा रहेका नेता, कार्यकर्ताले बिस्तारै छाड्न थाले । पार्टीभित्र सधैँ कचकच गरिरहने, आफ्नै समूहमा रहेका कार्यकर्ता र तल्लो तहका नेतालाई नचिन्ने, छुद्र वचन लाएर कार्यकर्तालाई चिढ्याउने, विदेश भ्रमण भनेपछि मरिहत्ते गर्ने नेता भनेर उनीमाथि आरोप लागिरहेकै हो । 'होली वाइन' प्रकरणले त उनलाई झन् तल गिरायो ।

एमालेभित्रै बसेर आफ्नो 'हाइट' बढाउने अवसर हुँदाहुँदै पनि उनले अध्यक्ष बन्नकै लागि अर्को पार्टी खोले । कांग्रेस र माओवादीले टेको छाड्नेबित्तिकै आफू उभिएको ठाउँ परालको कुन्यु झैँ गर्ल्यामगुर्लुम ढल्छ भन्ने उनलाई राम्रोसँग थाहा छ । त्यसैले गठबन्धनमा देउवाले भाउ दिन छाडे पनि कुण्ठा पोख्नुबाहेक अब नेपालसित विकल्पहरू सकिँदै गएका छन् । 

अन्तिम अपडेट: साउन ९, २०७९

3 Comments

  • Janata

    Feb. 9, 2022, 10:41 a.m.

    सर्वसाधारण जनताले आत्मादेखि मन पराउने नेता कुनै पनि भएनन् । यी नेताहरु कार्यकर्ताहरुका मात्रै नेता भए । सबै नेताहरु लोभी, स्वार्थी, घमण्डी, राज्यको ढुकुटीको दोहन गर्ने, कार्यकर्ता र आफन्त पोस्नेहरु मात्रै भए । देश र सबै जनताको हित सोच्ने, सादा जीवन र उच्च विचार राख्ने नेता भएनन् । अहिले चर्चामा आउने कुनै नेताहरु पनि गतिलो देख्दैन मैले त ।

  •  0 Reply
  • माधब तिमिल्सेना

    Feb. 7, 2022, 6:22 p.m.

    लोभी र पापी मन भएका नेता भएको देशमा जनता पनि त "एकोहोरो मेरो पार्टी र तेरो पार्टी को मुर्ख खेलमा" ब्यस्त छन्। अनि कसरी बन्छ देश? देश लुट्न नेतालाइ मौका दिने जनता पनि त्यत्तिकै दोषी हुन्।

  •  0 Reply
  • mustafa hussain

    Feb. 7, 2022, 5:23 p.m.

    यो समाचार बनाउने पत्रकार कुन पार्टीको रहेछ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया