अर्थ मन्त्रालयले सेनालाई भन्याे : काठमाण्डाै–तराई 'फास्ट ट्र्याक' लाई बजेट अभाव हुँदैन

 माघ २६, २०७८ बुधबार १७:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्रालयले निर्माणाधीन काठमाण्डाै–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेट अभाव हुन नदिने बताएको छ । याे आयोजना बनाउने जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । 

आज बुधवार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीले राष्ट्रिय गौरवको आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको हो । तर त्यसका लागि यथार्थमा आधारित योजना लिएर आउन पनि आयोजनालाई उहाँले सचेत गराउनुभयो । 

सहसचिव सुवेदीले यथार्थपरक योजना नआउँदा याे आयोजनाका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई समस्या भइरहेको पनि समितिलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यो राष्ट्रिय महत्त्वकाे आयाेजना हो । तर यथार्थपरक याेजना ल्याइदिनु पर्‍याे । बजेटको अभाव हुन्न ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरूसँग समन्वय गर्न आग्रह गर्नुभयो । आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

उपाध्यक्ष पौडेलले राष्ट्रिय गौरवको आयोजना भएकाले त्यसका लागि बजेटको अभाव हुन नदिने विषयमा अर्थ मन्त्रालयसँग पटक–पटक छलफल गरिएको पनि बताउनुभयो । 

रक्षा मन्त्रालयले भने तोकिएकै मितिमा आयोजना सम्पन्न गर्ने तर त्यसका लागि सरकारले बजेटको स्रोतको सुनिश्चितता गर्नुपर्ने जनाएको छ । रक्षा सचिव किरणराज शर्माले आयोजना तोकिएकै मितिमा सम्पन्न गर्न बजेटको आवश्यक व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा पाँच अर्ब, आउँदाे आर्थिक वर्षमा ५५ अर्ब ५० करोड, आर्थिक वर्ष २०७९/८० मा ४५ अर्ब ६६ करोड र आर्थिक वर्ष २०८०/८१ मा ३४ अर्ब ५२ करोड रुपैयाँ बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयसँग माग गर्नुभयो ।

झन्डै एक खर्ब ७५ अर्ब रुपैयाँ बजेट लाग्ने याे आयोजना २०८१ भित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले आयोजना समयमै सम्पन्न हुने दोहोर्‍याउँदै त्यसका लागि बजेटको अभाव हुन नहुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया