आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले रगत जम्ने समस्या ल्याएको एस्ट्राजेनेकाको स्वीकार

 बैशाख २६, २०८१ बुधबार १५:२१:४९ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

खोप निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप विश्वव्यापी रूपमा फिर्ता लिन शुरु गरेको छ ।

आफूले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोपले मानिसमा रगत जम्ने र रगतमा प्लेटलेट्स घट्ने समस्या देखिन सक्ने स्वीकार गरेलगत्तै कम्पनीले खोप फिर्ता गर्न थालेको सामाचार संस्था रोयटर्सले जनाएको छ । खोप वितरण शुरु भएको केही समयदेखि नै खोपका कारण रगत जम्ने समस्या देखिने चर्चा भए पनि कम्पनीले पहिलो पटक स्वीकार गरेको हो ।

एस्ट्राजेनेकाले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर विकास गरेको खोपको प्रयोगले स्वास्थ्यमा गम्भीर असरसँगै मृत्युका घटनासमेत भएको भन्दै अघिल्लो वर्ष कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा मुद्दा परेको थियो । त्यही मुद्दाकाे सुनुवाइका क्रममा एस्ट्राजेनेकाले पहिलो पटक लिखित रूपमा खोपको 'साइड इफेक्ट्स' स्वीकार गरेको हो ।

डाक्टरहरूका अनुसार रगत जम्ने समस्याले रक्तसञ्चारमा अवरोध हुन गई शरीरका मुख्य अङ्ग मुटु र मस्तिष्कमा असर गर्छ । यसका कारण धेरैलाई हृदयाघात र मस्तिष्कघात हुने सम्भावना हुन्छ । यस्तो समस्या देखिनेमध्ये झन्डै २० प्रतिशतको ज्यान जाने गरेको छ । खोप लगाएपछि भएको यस्तो समस्यामा बेलायतमा मात्रै कम्तीमा ८१ जनाको ज्यान गएको आशङ्का छ ।

सन् २०२१ मा एस्ट्राजेनेका खोप लगाएका मानिसलाई असर देखिएपछि शुरुमा डेनमार्कले यो खोपको प्रयोगमा रोक लगाएको थियो । त्यसपछि अरू थुप्रै देशले पनि प्रयाेगमा रोक लगाएका थिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया