काभा यू–२० पुरुष भलिबल : श्रीलङ्कालाई साेझाे सेटमा हराउँदै ...
असोज २०, २०८१ आइतबार
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार वैशाख महिनामा मात्रै आगलागीबाट १६ जना र डढेलोबाट ८ जना गरी २४ जनाको ज्यान गइसकेको छ । ८४ जना घाइते भएका छन् । आगलागीबाट वैशाख महिनामा १ हजार २ सय ७१ परिवारको घरगोठ जलेको छ । घरगोठमा भएको धेरैजसो आगलागी डढेलोका कारण भएको पाइन्छ । यस वर्षको सुक्खायाम अर्थात् गएको जनवरी १ देखि अहिलेसम्म देशभर ५ हजारभन्दा धेरै डढेलोका घटना भएका छन् । डढेलोले हजारौँ हेक्टर जङ्गल नाश भएको छ । जङ्गलमा रुखबिरुवा मात्र हैन जीवजन्तुहरू पनि जलेका छन् । यसले पर्यावरणमै असर गरिरहेको छ । यति ठूलो क्षति हुँदा पनि सरकारले डढेलोलाई ठूलो विपद्को रूपमा स्वीकार गरेको पाइँदैन । डढेलोबाट विभिन्न क्षेत्रमा हुने क्षतिलाई हेर्दा यो सामान्य विपत्ति नभई महाविपत्ति नै हो । डढेलो ठूलो विपत्ति हो भन्ने बुझ्नका लागि डढेलोबाट सृजना हुने अरू विपत्तिलाई पनि बुझ्नुपर्छ ।
पारिस्थितिकीय प्रणालीमा असर
वन डढेलोका कारण लोपोन्मुख बोटबिरुवा तथा पशुपक्षीकाे अस्तित्व सङ्कटमा पर्दै गएको छ । वन डढेलोमा जलेर कतिपय जीवजन्तु तथा चराचुरुङ्गी मर्छन् । डढेलो लाग्दा ठूला जनावर तथा चराहरू भागेर अन्यत्र जाने भए पनि मसिना किरा–फट्याङ्ग्रा तथा घस्रने जीवहरू भाग्न सक्दैनन् । यस्तै गुँड बनाएर बसेका चरा तथा साना बच्चा भएका स्तनधारी जनावरसमेत नभागेर आगोमा पर्ने गरेको पाइन्छ । यस्तै वन जलेपछि जीवजन्तुको आहारा मासिन्छ । डढेलोले चरन क्षेत्र र बासस्थान मासिएपछि जङ्गली जनावरहरू बस्तीमा पुग्दा मानव–जनावर द्वन्द्व बढ्छ । यस्ता कारणले पनि वन्यजन्तु मारिन सक्छन् । डढेलोबाट हुने क्षतिको पुनर्भरण गर्नु असम्भवजस्तै हुन्छ । नेपालमा झन्डै ६४ लाख हेक्टर वन क्षेत्र रहेको तथ्याङ्क छ । विश्वको कुल जैविक विविधतामध्ये नौ प्रतिशतभन्दा बढी चरा, साढे चार प्रतिशत स्तनधारी जनावर र चार प्रतिशत पुतली नेपालमा पाइने गरेको सन् २०१४ को एउटा तथ्याङ्कले देखाएको छ । तर डढेलोका कारण क्षति पुग्दा पारिस्थितिकीय प्रणाली नै खलबलिने जोखिम छ । याे कुरा सृष्टिकै लागि खतरनाक विषय हो ।
हिमालमा पर्ने असर
नेपाल हिमालै हिमाल भएको देश हो । हिमालबाट लिन सकिने लाभहरू धेरै छन् । अहिले पनि पर्यटनमार्फत हिमालबाट उल्लेख्य लाभ लिइरहेकै छौँ । हिमालबाट बग्ने नदीहरू हाम्रो तल्लो तटीय क्षेत्रसम्मकै सञ्जीवनी हुन् । जसले हाम्रो भूमिलाई हराभरा बनाइरहेको छ । सुक्खायाममा पनि नदीमा चिसो पानी बग्नु यिनै हिमालको देन हो । तर डढेलोका घटना यसैगरी बढ्दै गएमा हाम्रा हिमालहरू पनि सुरक्षित रहँदैनन् । अहिले जलवायु परवर्तनले हिमाल जोखिममा छन् । जलवायु परिवर्तनले पछिल्लो सय वर्षमा मानव जातिले हासिल गरेका उपलब्धि नै ध्वस्त पार्दैछ । जलवायु सङ्कटका दुष्परिणाम भविष्यमा झनै बढ्नेछन् । जलवायु परिवर्तनलाई बढाउन र हिउँ पगाल्न डढेलो महत्त्वपूर्ण कारक बन्छ । डढेलो लाग्दा बढ्ने तापक्रम र उत्पन्न हुने कार्बनका कारण हिउँ पग्लिने कुरा अध्ययनहरूबाटै पुष्टि भइसकेको छ । प्राकृतिक रूपमा चलिरहने हिउँ पर्ने र पग्लिने प्रक्रियाभन्दा चाँडो हिउँ पग्लिनु जोखिमपूर्ण कुरा हो ।
आर्थिक–सामाजिक क्षति
नेपालको कुल क्षेत्रफलमध्ये झन्डै ४६ प्रतिशत वन तथा बुट्यान क्षेत्र रहेको छ । हरियो वन नेपालको धन पनि भनिन्छ । तर डढेलोले त्यही धन नाश गरिरहेको छ । पन्ध्रौँ पञ्चवर्षीय योजनाको अन्त्यसम्म अर्थात् आर्थिक वर्ष २०८०/०८१ सम्म नेपालकाे कुल गार्हस्थ्य उत्पादनमा वन क्षेत्रको योगदान २ दशमलव १ प्रतिशत पुर्याउने लक्ष्य थियो । तर त्यो भेट्न मुस्किल परेको छ । उचित व्यवस्थापन गरेमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत योगदान वन क्षेत्रबाट हुन सक्ने विज्ञहरू बताउँछन् । तर डढेलोले वन क्षेत्र सखाप हुँदै गर्दा अहिले भइरहेको योगदान पनि गुम्ने खतरा हुन्छ । जङ्गलकै स्रोतलाई प्रयोग गरेर जीविकोपार्जन गरिरहेका बासिन्दा झन् प्रत्यक्ष समस्यामा पर्छन् । जङ्गलमा डढेलो लागेकाले दुनाटपरी उद्योग बन्द गर्नुपर्ने अवस्था आएको खबरहरू त हामीले पढेकै छौँ । यस्तै डढेलोले सामाजिक क्षेत्रमा पनि प्रत्यक्ष असर गरिरहेको छ । डढेलो बस्तीमा पुगेर घरगोठ तथा पशुचौपाया जल्दा हुने आर्थिक क्षति त छँदैछ, त्यसले समाजिक रूपमा पनि समस्या ल्याउँछ । आगलागी भएको परिवारलाई पुनर्स्थापित हुन निकै मुस्किल पर्छ । अझ ज्यानै गयो भने त उसको परिवारमा भएको क्षतिको कुनै अनुमान नै हुँदैन । त्यसैले डढेलोले यति घर गोठ जल्यो, यति क्षेत्र जङ्गल जल्यो, यतिको ज्यान गयो, यति घाइते भए भन्ने कुरा भोग्नेहरूका लागि कहालीलाग्दो अवस्था हो ।
डढेलो एक, विपद् अनेक
सरकारले ठूलो विपद्को रूपमा स्वीकार नगरेको भए पनि नेपालका लागि डढेलो महाविपद् नै हो । यसले जनधनको क्षतिसँगै प्रकृतिमा अनेक असर गरिरहेको छ । सरकारी तथ्याङ्कहरूमा वन डढ्दा भएको प्राकृतिक क्षतिको अभिलेख नपाइए पनि त्यहाँ मूल्यमा रूपान्तरण गर्नै नसक्ने गरी क्षति भइरहेको छ । डढेलो बस्तीमा पुगेर भएको जनधनको क्षति त यसै वर्ष पनि हामीले भोगिरहेकै छौँ । जनधन गुमाउनेको परिवारलाई पहिलेको अवस्थामा पुग्न जिन्दगीभर प्रयास गर्दा पनि अपुग हुन्छ । त्यसैले डढेलो आफैँमा महाविपद् हो ।
यस्तै डढेलोले सँगसँगै अरू धरै विपद्हरूलाई लिएर आउँछ । यसै वर्ष पनि देशका धेरै ठाउँमा डढेलो लाग्दै गर्दा देशभर वायु प्रदूषण बढ्यो । काठमाण्डौ उपत्यकाको वायुको गुणस्तर त धेरै पटक विश्वकै सबैभन्दा खराब भयो । वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन रूपमा क्षति पुर्याउने कुरा वैज्ञानिक अध्ययनहरूले नै पुष्टि गरेका छन् । मृत्युको मुख्य कारणमा वायु प्रदूषण पनि आउँछ । प्रदूषणका कारण अस्वस्थ भए पनि हुने उपचार खर्च तथा बिरामी परेपछि काम गर्न नसक्दा हुने क्षति सबैलाई हेर्दा वायु प्रदूषण पनि ठूलो विपद् हो । डढेलोका कारण प्रदूषण बढाउने कुरा अध्ययनबाटै पुष्टि भएको विषय हो । यस्तै डढेलोका कारण माटोको शक्ति नाश हुन्छ । बलियोसँग बसेको माटो कमसल हुन्छ । जङ्गल पनि मासिन्छ । जलेका अवशेषहरू भुइँमा हुन्छन् । यस्तो ठाउँमा वर्षायाममा अलि धेरै पानी पर्यो भने भू–क्षय हुन थाल्छ । भू–क्षयसँगै पहिरो र पहिरोका कारण बाढी आउन सक्छ । हाम्रो भौगोलिक अवस्थितिका कारण डढेलो लागेको भिरालो जमिनमा हुने भू–क्षयले पहिरो र बाढी तथा डुबानको समस्या बढ्दै जाने देखिन्छ । यो डढेलोबाट हुन सक्ने अर्को विपद् भयो ।
यस्तै डढेलोका कारण हिंस्रक जनावरहरू बस्तीमा आउने क्षतिलाई पनि अर्को विपद् मान्न सकिन्छ । यसरी डढेलो आफैँमा एउटा विपद् हो भने यसले अरू धेरै विपद्हरूलाई सँगसँगै वा कालान्तरसम्ममा ल्याउन सक्छ । यसरी डढेलोका कारण अनेक किसिमका क्षति बेहोर्नुपर्ने हुन्छ । सरकारको उदासीनता, कानुनी अस्पष्टता, जलवायु परिवर्तन, परम्परागत ज्ञान प्रयोगमा कमी लगायत कारणले नेपालमा डढेलोका घटना बढिरहेका छन् । डढेलोका घटना कम गर्नका लागि सरकारले सबैभन्दा पहिले डढेलोलाई मुख्य विपद्का रूपमा लिनुपर्छ । अहिले डढेलोलाई मुख्य विपद्को रूपमा नलिएको वा डढेलोबाट आउन सक्ने अप्रत्यक्ष असरहरूलाई वास्ता नगरेको देखिन्छ । डढेलोबाट पीडित भएकालाई राहत दिने र निभाउनका लागि आकाशबाट कहिले पानी पर्छ भनेर कुर्ने नभई डढेलो लाग्नै नदिन सचेतना र कारबाही तथा लागिहालेमा निभाउनका लागि दक्ष जनशक्ति र उपकरण दुवैको जोहो गर्नुपर्छ । यस्तै समुदायस्तरमा पनि डढेलो कम गराउनेतर्फ ध्यान दिनुपर्छ ।
हामी सानो हुँदा हिउँदमा पत्कर सङ्कलन गरेर घरपालुवा पशुचौपायालाई ओछ्याउन प्रयोग गर्थ्याैँ । यसले मल बनाउन सहयोग गर्नुका साथै जङ्गलमा इन्धन पनि घट्थ्यो । यस्तै बेलाबेला टोलभरीमा मानिस भेला भएर बनझाडी सफा गर्ने चलन थियो । यसले 'फायर लाइन' बनाउने तथा वनको व्यवस्थापन हुने गर्थ्याे । यस्ता परम्परागत ज्ञान तथा चलनहरूको प्रयोग गर्नुपर्छ । यस्तै घाँस पलाउने, च्याउ उम्रनेजस्ता आशामा वनमा आगो लगाउने कुरा हरेक व्यक्तिले छाड्नुपर्छ । जङ्गल र घरहरूबीचमा खाली ठाउँ छाडेमा वा इन्धन थुप्रन नदिएमा पनि घर आसपासकाे आगो जङ्गलमा पुग्न वा जङ्गलको डढेलो घरसम्म आउनबाट रोक्न सकिन्छ ।
यस्तै सरकारले डढेलो लगाउनेलाई कारबाही गर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । वन ऐन २०७६ को दफा ४९ र ५० मा वन डढेलो लगाउने व्यक्तिलाई ६० हजार रुपैयाँ जरिबाना र तीन वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यसको कार्यान्वयन प्रभावकारी भएमा पनि धेरै व्यक्तिले डढेलो लगाउन आँट गर्दैनन् । किनकि नेपालको झन्डै ९९ प्रतिशत डढेलो मानवीय कारणबाटै हुने गरेको छ । पालिका नजिककाे सरकार भएकाले जनचेतना अभिवृद्धि, डढेलो नियन्त्रणको क्षमता विकास र माथिल्ला तहका सरकारहरूसँग प्रभावकारी समन्वय गर्नुपर्छ ।
(विपद् जोखिम व्यवस्थापन विज्ञ केशव मलासीसँग गरिएको कुराकानीमा आधारित ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मलासी विपद् जोखिम व्यवस्थापन विज्ञ हुनुहुन्छ।