५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खाेप ल्याउँदैछाैँ : मन्त्री खतिवडा

 माघ २६, २०७८ बुधबार २०:२३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनुभएको छ । 

आज बुधवार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले विद्यार्थीहरूलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीहरूलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउँदा दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । 

मन्त्री खतिवडाले सरकार कोरोनाविरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी सङ्गठनले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले अबको केही दिनभित्र नै तेस्रो चरणको रूपमा सम्पूर्ण नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको पनि बताउनुभयो ।

विपन्नहरुलाई अहिले पनि निःशुल्क उपचार गरिरहेको बताउँदै धेरै मानिसहरू गाउँपालिकाबाट विपन्नताको कागजपत्र लिएर नआउँदा र उनीहरूलाई सूचना प्रवाह हुन नसक्दा निःशुल्क उपचारबाट वञ्चित भएको मन्त्री खतिवडाले बताउनुभयो । उहाँले विपन्न नागरिकहरूको ओपीडी सेवा निःशुल्क गर्नेबारे मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो । 

अनेरास्ववियुले भने विद्यार्थीहरूलाई खोपको अनिवार्य व्यवस्था गर्न, स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्न, स्वास्थ्यलाई निःशुल्क बनाउन, संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारलाई कार्यान्वयन गर्न लगायतका माग गरेको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया