‘मनका सबै कुरा भन्ने वातावरण सिर्जना गरिदिने हो भने आत्महत्या रोकथाम गर्न सकिन्छ’

 माघ २९, २०७८ शनिबार १२:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

कोभिड लगायतका कारणले मानसिक स्वास्थ्य समस्या हुनेको सङ्ख्या बढ्दै गइरहेको छ । समयमै आफूसँग भएका समस्या अरूसँग भन्न नपाउँदा यस्ता समस्याले आत्महत्याको बाटो रोज्नुपर्ने बाध्यात्मक स्थिति पनि निम्त्याइरहेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले नेपालमा २०७५/०७६ देखि २०७७/०७८ जेठसम्म १८ हजार तीन सय १९ वटा आत्महत्याका घटना भएको देखाउँछ । 

आत्महत्या रोकथामका लागि विभिन्न सङ्घसंस्थाले काम गर्दै आएका छन् । यसैमध्येको एक हो, ट्रान्सकल्चरल साइकोसोसियल अर्गनाइजेशन (टीपीओ) नेपाल । टीपीओ नेपालले मनोसामाजिक समस्या सुन्न र समस्या समाधानको लागि हटलाइन नम्बरको व्यवस्था गरेको छ । मनोसामाजिक सुस्वास्थ्यका लागि १६६००१०२००५ र आत्महत्या रोकथामका लागि ११६६ मा फोन गर्न सकिनेछ । संस्थाले गर्दै आएको काम र आत्महत्या रोकथामको विषयमा सुजता सुनुवारले टीपीओ नेपालकी कार्यक्रम संयोजक पार्वती श्रेष्ठसँग कुराकानी गर्नुभएको छ :

अहिले कस्तो खालका समस्या भएकाहरूको फोन आइरहेको छ ? 

५ मे २०२१ देखि ३१ डिसेम्बर २०२१ सम्म जम्मा दुई हजार एक सय ६ वटा फोन आएका छन् । यी फोनमध्ये आत्महत्यासँग सम्बन्धित भने ७४ वटा फोन छन् । यसमा पनि १६ देखि ३९ वर्ष उमेर समूहकाहरू बढी रहेका छन् । केहीले भने उमेर नै बताउन चाहँदैनन् । 

हामीले फोन वर्गीकरण गर्दा मानसिक स्वास्थ्य समस्या, कोभिड चिन्ता, मौन कल, कोभिड जानकारी, सोधपुछ कल, अपमानजनक कल, ब्लफ कल, गलत नम्बर र अन्य समस्यासँग सम्बन्धित रहेका छन् । मानसिक समस्यासँग खुलेर कुराकानी गर्न डर मान्ने र केही चाहिँ मानसिक समस्या छ भने हेल्पलाइनको सम्पर्कमा जान सकिन्छ है भन्ने जानकारी नभएर पनि छुटिरहेका छन् भन्ने लाग्छ । यदि छुट्नुभएको भए पैसा नलाग्ने फोन नम्बर १६६००१०२००५ र ११६६ मा फोन गर्न पनि आग्रह गर्दछु । 

आत्महत्यासँग सम्बन्धित ७४ वटा फोनमा कस्ता खालका समस्याहरू देखिएका छन् ? 

कुनै कल मलाई आत्महत्या गर्न मन लाग्यो अब म के गरौँ भन्ने खालका आएका छन् भने कुनै कल मेरो परिवारको सदस्यले आत्महत्या गर्ने कोसिस गर्यो अब के गर्न सकिन्छ साथै कुनै कल भने हतियार देखेपछि मलाई आत्महत्या गर्छु भन्ने सोच आयो अब के गरौँ भन्ने खालको आउने गरेको छ । 

आत्महत्या गर्ने अवस्थासम्म पुगेका पुरुष र महिलाका समस्या भने अलग–अलग छन् । महिलामा घरेलु हिंसा, प्रसूतिको अवस्थामा भएको डिप्रेशन जस्ता समस्या छन् भने पुरुषले मानसिक समस्या र व्यावहारिक समस्या रहेकाले आत्महत्या गर्ने गरेको पाइएको छ ।  

आत्महत्याको अवस्थामा पुग्न बाध्य बनाउने कारणहरू के–के हुन् ? 

यसमा एउटै मात्रै कारण भने छैन । सामाजिक अवस्था, आर्थिक अवस्था, मनोवैज्ञानिक, मानसिक समस्याका कारण आत्महत्या गर्न बाध्य हुने गरेको पाइन्छ । यस्ता समस्याहरूसँग जेलिएका व्यक्तिले आफ्नो समस्या भन्ने वातावरण नै नपाएपछि दिनदिनै यस्ता समस्या थपिँदै जान्छ । 

मनमा अत्यधिक बढी तनाव भएपछि कसरी अगाडि बढ्ने भन्ने कुनै बाटो नै भेट्दैनन् र यो तनावको म सामना गर्नै सक्दिन भन्ने अवस्थामा पुग्छन् । यो समस्या समाधान गर्नुभन्दा बरु म आत्महत्या नै गर्छु, सबै समस्याबाट मुक्त पनि हुन्छु भन्ने सोच्न पुग्छन् र आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको पाइएको छ । 

कोही व्यक्ति मानसिक समस्याका कारण आत्महत्या गर्नेसम्मको अवस्थामा पुग्दैछ भन्ने कुरा परिवारका सदस्यले कसरी थाहा पाउने ? 

पहिलो कुरा त यस्ता व्यक्तिको व्यवहारमा नै परिवर्तन देखिन्छ । प्रायः एक्लै बस्न मन पराउने, कुराकानी एकदम कम गर्ने, कुराकानी गरिहाले पनि निराशाका कुराहरू मात्रै गर्ने, म आफू केही पनि गर्न सक्दिन भन्ने जस्ता कुरा गर्ने व्यवहार देखाउन थालेमा उसमा मानसिक समस्या छ है भन्ने बुझ्नुपर्छ र परिवारका सदस्यले तत्काल यस्ता समस्या समाधानतर्फ ध्यान दिन आवश्यक छ । 

समस्या पहिचान भएपछि समस्या समाधानका लागि परिवारको कस्तो भूमिका रहन्छ ? 

तत्काल के भयो भनेर सोध्ने । मनका कुरा खुलेर भन्ने वातावरण सिर्जना गर्न सधैँ उसैको साथमा बसिरहने । तिम्रा लागि हामी छौँ भन्ने अनुभूति गराउने वातावरणको सिर्जना गर्ने । यस्ता कार्य गरेपछि पनि उसमा परिवर्तन नभएमा भने तत्कालै मनोपरामर्शकर्ता कहाँ लैजाने र मानसिक अस्पताल भर्ना गरेर उपचार नै गराउने काम गर्नुपर्छ । 

परामर्शका लागि सम्पर्कमा आएका व्यक्तिलाई कसरी परामर्श दिइन्छ ? 

फोन सम्पर्कमा आएपछि सम्पर्कमा आएकाहरूलाई हामी निरन्तर सम्पर्कमा रहन आग्रह गर्छाैँ । हामी नै फोन सम्पर्क गर्छाैँ र सम्पर्कमा आएका पीडक टाढा हुनुहुन्छ भने फोन निरन्तर उठाउन आग्रह गर्छाैँ र फोन सम्पर्कबाटै परामर्श दिने गरेका छौँ । यदि उहाँ नजिकै हुनुहुन्छ भने चाहिँ हामी कार्यलयमा नै बोलाउछौँ र परामर्श दिने गर्छाैँ । उहाँहरूलाई मानसिक अस्पतालमा रहेका तालिम प्राप्त मनोपरामर्शदाताद्वारा निःशुल्क परामर्श दिने काम गरिरहेका छौँ । 

आत्महत्या गर्नेसम्मको अवस्थामा पुग्न नदिनका लागि कसले के गर्नुपर्छ? 

यसमा सामाजिक पाटो सबैभन्दा बलियो पाटो हो । कुनै पनि व्यक्ति हतोत्साहित हुँदैछ भने मनका सबै कुरा भन्ने वातावरण सिर्जना गरिदिने । सहयोगी सङ्घ–संस्था छ है भनेर जानकारी गराउने र सम्बन्धित संस्थासँग सम्पर्क गराइदिने । यो मानसिक समस्या हो, उपचार गरे सम्भव छ भनेर उपचार गर्नका लागि अस्पतालसम्म जानका लागि सहयोग गर्ने । मनका कुरा भन्ने वातावरण सिर्जना गर्ने र समस्या समाधानका लागि सहयोग गर्ने जस्ता बहुपक्षीय सहयोगको जरुरी छ । यस्तै समाजले गलत लाञ्छना नलगाउने । जस्तो– समाजमा कुनै एक परिवारका सदस्यमा आत्महत्याको सोच आयो, प्रयास गरे र बाँचेका यस्ता व्यक्तिलाई समाजमा लगाइने लाञ्छना नै सबैभन्दा घातक हुन्छ । यसमा एक जनाले मात्रै होइन सिङ्गो परिवारले नै लाञ्छना सहनुपर्ने हुन्छ । यस्तै अन्य सङ्घ–संस्थाको पनि भूमिका रहन्छ । जीविकोपार्जनका लागि कुनै कानुनी अल्झनमा छन् भने कानुनी उपचारलाई सर्वसुलभ बनाउन सहयोग गर्ने जस्ता काम गरेमा आत्महत्या जस्तो जटिल समस्याबाट मुक्त दिलाउन सकिन्छ । 

यसमा सबैभन्दा ठूलो भूमिका परिवारको नै रहन्छ । सुन्ने कानले मात्रै होइन, मनन गर्ने मनलाई पनि सक्रिय राख्नका लागि बच्चैदेखि यस्ता बानीको विकास गर्नुपर्छ । ठूलो भएपछि तालिम दिएर बानी परिसकेको व्यवहारलाई परिवर्तन गर्न सहज छैन । किनभने बच्चैदेखि स–साना नानीहरूले केही भन्न खोज्दाखोज्दै सम्झाउनतर्फ लाग्ने, भनिरहने मौका नदिने यस्ता बानीको विकास बच्चैदेखि हुने भएकाले पनि तालिमले यस्ता बानीलाई परिवर्तन गर्न सकिँदैन । 

आफूलाई एक्लो महसुस गर्न नदिनका लागि के गर्न सकिन्छ ? 

पहिलेको जस्तो अहिलेको सामाजिक संरचना छैन । सामाजिक सम्बन्ध नै परिवर्तन भइसकेको छ । यतिसम्मकी साथी–साथीबीच भेटेर बोल्ने, खेल्ने जस्ता गतिविधि नै हुन छाडिसक्यो । अहिले कुराकानी पनि इन्टरनेटबाटै हुने । इन्टरनेट नभए फोनबाट गफगाफ गर्ने जस्ता काम भइरहेको छ । पारिवारिक संरचना पनि त्यस्तै रहने । एक परिवारमा बढीमा चार जना हुने नत्र तीन जना मात्रै हुने क्रम बढेको छ । यसले पनि एक्लोपन महसुस गर्ने सङ्ख्या बढेको छ । 

यसलाई कम गर्नका लागि त परिवारको नै पहिलो भूमिका रहन्छ । आफू व्यस्त रहे पनि परिवारलाई समय दिने । कहिलेकाहीँसँगै बसेर खेल्ने, मनका कुरा सुनिदिने । सकेसम्म एक्लै बस्ने वातावरण सिर्जना नगर्ने । जागिरका सिलसिलामा व्यस्त रहे पनि छुट्टीमा घुम्न जान मन लागेका ठाउँमा परिवारका सदस्यहरूसँग घुम्न जाने । आफन्तसँगको भेटघाट कायमै राख्ने जस्ता काम गरेमा एक्लोपनको अनुभव गर्नबाट रोक्न सकिन्छ । 

ट्रान्सकल्चरल साइकोसोसियल अर्गनाइजेशन (टीपीओ) नेपाल सधैँ तपाईँहरूको साथमा छ । जुनसुकै समयमा पनि फोन गरेर आफ्ना समस्या भन्नु हुन मेरो आग्रह छ । यस्तै मिडिया र प्रहरीको पनि ठूलो भूमिका रहन्छ यस्ता समस्यालाई बाहिर ल्याउने र समाधानका लागि सहयोग गर्ने काममा। हामी सबै सँगसँगै हातेमालो गरेरै मानसिक समस्या र आत्महत्या गर्ने जस्ता समस्यालाई कम गर्नतर्फ अघि बढ्नुपर्छ भन्ने मेरो सबैसँग अनुरोध छ। 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया