नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आन्दाेलन राेकिँदैन : बार एसाेसिएशन

 फागुन १, २०७८ आइतबार १७:१४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध आज आइतवार संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले शपथ नलिएसम्म आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताउनुभएको हो । 

आज बार एसाेसिएशन परिसरमा कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले न्यायालयमा सुधारका थुप्रै कामहरू भएको र त्यो नभएसम्म आफूहरूकाे आन्दोलन नरोकिने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हाउसमा दर्ता भएको महाअभियोगमा व्यापक छानबिन हुनुपर्छ । बिचौलियाहरूलाई पनि छानबिनकाे दायरामा ल्याउनुपर्छ । हामीले न्यायपालिका सुधारका लागि आन्दोलन गरेका छौँ । जबसम्म सही रूपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैन, तबसम्म नेपाल बारको आन्दोलन चलिरहन्छ ।’

सर्वोच्च अदालत बार एसाेसिएशनका अध्यक्ष शाक्यले जबरा पदच्युत नभएसम्म आफूहरूको आन्दोलन चलिरहने रहने बताउनुभयो । उहाँले जबरा निलम्बित प्रधानन्यायाधीश भएकाले उहाँले संविधानअनुसार सर्वोच्चको गेटमा प्रवेश गर्ने अनुमति नपाउने दाबी पनि गर्नुभयो ।

अध्यक्ष शाक्यले भन्नुभयो, ‘अब उहाँ निलम्बित प्रधानन्यायाधीश हो । अब उहाँले झण्डा फहराउन पाउनु हुन्न । अब उहाँले सुरक्षाकर्मी पाउनु हुन्न । अब उहाँले यो गेटबाट प्रवेश पाउनुहुन्न । यो उहाँका लागि निषेधित क्षेत्र भइसकेको म अनुरोध गर्न चाहन्छु ।’

विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसाेसिएशनका पूर्वअध्यक्षद्वय हरिहर दाहाल र शम्भु थापाले न्यायपालिकाको सुधार नभएसम्म आन्दोलन गरिराख्न बारको नेतृत्वलाई आग्रह गर्नुभएको थियो । वरिष्ठ अधिवक्तासमेत रहनुभएका दाहालले न्यायालयलाई भ्रष्टाचारमुक्त बनाउनका लागि पनि कानुन व्यवसायीहरूको छाता सङ्गठन बारको आन्दोलनले निरन्तरता पाउनुपर्ने बताउनुभयो । 

अर्का वरिष्ठ अभिवक्ता शम्भु थापाले न्यायपालिकामा देखिएको भ्रष्टाचार अन्त्य गर्नका लागि नेपाल बारले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले कानुनको शासनलाई अघि बढाएर गणतन्त्रलाई थाम्न सक्ने न्यायाधीश नियुक्तिका लागि पनि नेपाल बारले निर्णायक आन्दोलन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । 

वरिष्ठ अधिवक्ता थापाले आचरणयुक्त न्यायाधीश नियुक्तिका लागि सबैले पहल गर्नुपर्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया