‘आई लभ यु’ !

 फागुन २, २०७८ सोमबार १६:२७:८ | श्यामशितल परियार
unn.prixa.net

थामिएको छ माघे झरी । लागेको छ पारिलो घाम । केही दिन अघिसम्म डाँडाकाँडामा धुम्मिएका बादल आकाशमा टहलिन थालेका छन् । खुलेको छ गगन । लाग्छ, ‘बादलु’ प्रितको मिठो भाकामा नाचिरहेका छन् । मायाकै देशमा हराइरहेका छन् । रमाइरहेका छन्, आफूले आफैँलाई भुलेर ।

बारीका डिलमा आरु, आल्चाको बोटका हाँगा–हाँगामा मनै लाभ्याउने गरी फूल फुलिरहेका छन् । खेलिरहेका छन् । मायाको सन्देश बोकेर चराहरू उडेका छन्, भुरुभुरु । 

माया, आकाशको बादल । रातमा झुल्कने जुन । रातमा जुनको उज्यालोमा, मायाको ‘सुगन्ध’ बोकी बयली खेल्ने शीतल पवन । धर्तीमा फुलेका अनेकन रङ्गचङ्गी फूल । या भनौँ राम्रा लाग्ने, राम्रा देखिने हर चिजमा तिमी नै तिमी पाउँछु । तिमी नै तिमी देख्छु । 

लाग्छ, बादलुको देशमा सोह्र शृङ्गारमा टहलिने पनि तिमी हौ । उज्यालो, शीतल जुन पनि तिमी नै हौ । धर्तीमा फुलेका हर सुन्दर फूल तिमी, तिमी नै हौ । सागर भेट्न नागबेली चालमा बगेकी  पवित्रा गङ्गा, निर्मल, निश्चल, झरना पनि तिमी नै हौ । साँच्चै तिमी प्रकृतिको मिठो सिर्जना हौ । मेरा लागि धर्तीमा आएकी सुन्दर परी हौ । यो मुटु चलाउने धड्कन हौ । मेरो श्वास, विश्वास ‘सप्पै–सप्पै’ तिमी हौ । 

सायद यही त होला नि । दिलमा सजाई एक मनले अर्को मनलाई न्यानो, चोखो, माया गर्नुको मिठो असर ।

जब मनले मनलाई छुन्छ, चिन्छ । पिरती आफैँ हुने रहेछ माया । जुन दिन यी नयनले देखे तिमीलाई । सुटुक्कै सजाइसकेछ, यो मनैले मनैभरी, दिलैभरी तिमीलाई । 

तिमी पनि असाध्यै माया गर्छ्यौ नि मलाई । त्यही तिम्रो मायाको सहारामा त हो सारा दुःख–पीडामाझ पनि मुस्कराएको यो जीवन । शिशिर ऋतुमा पतझड बनेका रुख–बिरुवामा वसन्तमा पालुवा पलाएझैँ । निभ्नै लागेको दियोमा तेल थपिएझैँ । अँध्यारोमा उज्यालो भेटिएझैँ भएको छ जीवन, तिम्रो माया, साथ पाएदेखि । 

वसन्त नै वसन्त छाएको छ, उजाड, उदास यो जीवनमा । जब तिमी आयौ । माया लायौ । तिम्रो मायाको साथमा रमेको छ, हाँसेको छ यो जिन्दगी । 

दुःख, सङ्घर्षमा एक्लै रुँदै बित्थे मेरा हर दिनरात । अबको बाँकी जीवन तिम्रो मायाको सहारामा फूलझैँ सुन्दर हुने आशा छ । जब तिम्रो यो मुटुमाझ बास भो, तब जीन्दगी नै उज्यालो भएको छ, रङ्गीन बनेको छ । हरपल, हरक्षण तिम्रैबारे सोच्छ, तिमीलाई नै माग्छ । तिमीलाई नै औधी माया गरिरहन्छ, तिमी नै तिमी बसेको यो मनैले ।

टाढा छौँ । तर तिमी यो मुटुको नजिक, नजिक, नजिक, निकै नजिक छौ नि माया । 

याद आउँछ तिम्रै घरीघरी 
मेरो भन्नु तिमी नै हौ पियारी 
ज्यान टाढा भए पनि
तिम्रै माया यो मनैभरि  

यो दिलैभरि तिम्रै माया । यी नयनभरि तिम्रै झझल्को । हरपल, हरक्षण तिम्र्रै याद । यो मनले असाध्यै मन पराउँछ । माया गर्छ तिमीलाई । जब तिमीलाई मनमनै पराएँ । दिलमा सजाएँ । जीवन त्यसै–त्यसै मिठो लाग्न थालेको छ ।  

यो मनले औधी माया गर्छ तिमीलाई । तिम्रो मिठो माया, न्यानो साथ पाएमात्रै पनि, यसैगरी मुस्कुराउँछ सारा दुःख, पीडामाझ पनि यो जीवन । र त यो जुनीमा तिम्रै भई तिमीसँगै जिउने चाह छ । 

माया, मनले माया गर्नेहरूले मनमा बसेको मान्छेको सदा सुख–खुसी भलो चिताउँछ । चाहन्छ । यो मनले पनि सधैँ तिम्रो सुख–खुसी, भलो चिताउँछ । चाहन्छ । 

मायामा ‘पाउनै पर्छ’, ‘सँगै हुनुपर्छ’ भन्ने हुँदैन । तर मनले माया गरेकै मान्छेसँग सधैँ, साथै रहुँ जीवन सँगसँगै जिउँ भन्ने चाह सायद हर प्रेमीलाई हुँदो हो माया । त्यसैले आधा जीवन जिन्दगीको एक्लै रुँदै काटे पनि, आधा जिन्दगीको बाटो तिमीसँगै कटाउने चाह छ । अरू केही चाहिँदैन माया, बस् तिम्रो माया, साथ पाए पुग्छ । 

हाँसी खुसी जीवन सँग–सँगै जिउँला 
कहीँ कतै मन फाटे मनैले सिउँला
नसकुँला तिमीलाई सारा सुख दिन 
तर सदा चोखो माया तिमीलाई दिउँला

यो जीवनमा तिम्रो न्यानो, मिठो साथ पाउने विश्वास, आशा, भरोसा छ माया । मन मिल्ने, मन बुझ्ने र निःस्वार्थी माया गर्ने मान्छेको पर्खाइमा हुन्छन् । बस्छन् । धेरैधरै मायालु मनहरू । माया गर्न खोज्ने, मन पराउनेहरू पनि थुप्रै भेटिएलान् जिन्दगीको गोरेटोमा । तर आफैँलाई भुली चोखो मनैले माया गर्ने कमै भेटिन्छन् जिन्दगीमा । माया, मैले तिमीलाई आफ्नै ठानी । मन–मुटुमा सजाई मनैले माया गरेको छु तिमीलाई । त्यसैले मनैमा बसेको, मनैले माया गर्ने यो मनैको मान्छेलाई कैल्यै नभुल्नु है । केही/कुनै बहानामा कैल्यै नटाढिनु है माया । नजिक, टाढा जहाँ भए पनि, रहे पनि मनैलै सदा माया गरिरहनु है । मनैले सदा सम्झिरहनु है माया ।  

दुःख–सुख आधाआधा बाँडुला 
हाँस्दासँगै रुँदासँगै रोउँला
तिम्ले पनि मैलेझैँ यस्तै माया गर्नु
जुग जाने माया दिउँलाई

आइ लभ यु !  

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया