वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारी सरुवा गर्‍याे

 फागुन २, २०७८ सोमबार २०:२०:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारीको सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरू सबै मन्त्रालय गरेर चार सय कर्मचारीको सरुवा गरिएको हो । 

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबैभन्दा धेरै एक सय २० कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरू मन्त्रालयले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गरेको लामिछानेले बताउनुभयो । 

मन्त्रीहरूले सरुवाका नाममा आफू निकट कर्मचारीलाई काखा र अरूलाई पाखा लगाउने काम भएको वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले बताएका छन् । मन्त्रीहरूले पार्टी निकटका कर्मचारीलाई धेरै कमाइ हुने कार्यालयमा सरुवा गरेकाे र अरू कर्मचारीलाई अन्यत्र सरुवा गरिएको भन्दै केही कर्मचारीले विरोधसमेत गरेका छन् । 

प्रदेश सरकारले हरेक वर्ष असोज महिनामा मात्र सरुवा गर्न मिल्ने कार्यविधिलाई संशाेधन गरेर अहिले एकै पटक यतिका धेरै कर्मचारीको सरुवा गरेको हो । गएकाे असोज महिनामा पनि प्रदेशका मन्त्रालयहरूले नियमित सरुवा गरिसकेका छन् । अहिले फेरि कार्यविधि संशाेधन गरेर कर्मचारी सरुवा गरिएकाे हाे । मुख्यमन्त्री रोजेन्द्र पाण्डेको निर्देशनमा आफ्ना नजिकका कर्मचारीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयमार्फत काठमाण्डौ र हेटौँडाका यातायात कार्यालयमा सरुवा गरेको पाइएको छ । 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, खानेपानी तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग मन्त्रालयका धेरै कर्मचारी सरुवा गरिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया