एमसीसी पास भए अमेरिकी सेना आउँछ भनेर प्रचार गर्नु गलत : रामशरण महत

 फागुन ३, २०७८ मंगलबार १३:२३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयाेग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । आज मङ्गलवार नयाँ बानेश्वमा रहेकाे संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाउनुभयो ।

नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरू बढ्ने र पूर्वाधारको विकास हुने पनि बताउनुभयो । उहाँले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानुनअनुसार सम्झौता गरिएको बताउनुभयो । उहाँले बीआरआई र इन्डाेप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताउनुभयो ।

नेता महतले एमसीसी सहयोग कुनै पनि देशकाे हित विपरीत नभएको दाबीसमेत गर्नुभयो ।उहाँले भन्नुभयो, ‘एमसीसी राष्ट्रको हितमा छ । यसलाई गलत चर्चा, गलत आलाचना गरेर, झुटको आलोचना गरेर भ्रमपूर्ण आलोचना गरेर यसलाई रोक्नु राष्ट्रको हित विपरीत हुन्छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने देशसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन । एमसीसी यही बैठकबाट पारित हुनुपर्छ । फागुन १६ गतेभित्र पारित भएन भने सहयोग नहुन पनि सक्छ । अरू देशमा जान सक्छ भनेर उनीहरूले भनिरहेका छन् । एमसीसी कुनै पनि हालतमा पारित गर्न जरुरी छ । यसमा गलत खालका आलोचनाहरू गरेका छन् । मिलिट्री सम्झौता हुन्छ, अमेरिकी सेना आउँछ भन्ने त्यो सरासर गलत हो । यो इन्डाेप्यासिफिक रणनीति अन्तर्गत पनि होइन । नेपालको कानुन विपरीत पनि छैन । दुई देशको बीचमा सहमतिअनुसार भएको सम्झौता कानुनअनुसार नै हो । एमसीसीले हस्तक्षेप गर्छ यता उति भन्ने छ त्यो सम्भावना छैन । यसमा इन्टेलिजेन्ट प्रपर्टी राइट (बाैद्धिक सम्पत्तिकाे अधिकार) पनि नेपालको नै छ । आरोपहरू भ्रमपूर्ण छन् । यो अमेरिकासँग सम्बन्ध बिगार्न भएको प्रयास हो ।’ 

अन्तिम अपडेट: असार २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janata

    Feb. 15, 2022, 2:12 p.m.

    नेताहरुको हुलमा एउटा बकुल्ला पुग्यो । एक पक्षले सेतो बकुल्ला भने विपक्षीले कालो बकुल्ला भने । कोही चुप लागे । अहिले MCC पनि त्यस्तै भएको छ । के काँग्रेसको र अरु पार्टीहरुको English Dictionary फरक छ र ? के पढ्छन् ? के बुझ्छन् खै ???

  •  0 Reply

तपाईको प्रतिक्रिया