‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी’

 फागुन ७, २०७८ शनिबार १८:२७:३५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बेनी नगरपालिका–९ घतानको ढोल्ठान गाउँमा एक ऐतिहासिक दरबार छ । समुन्द्री सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा पर्ने त्यही ढोल्ठान दरबारले अहिले पर्यटकहरुलाई पर्खिरहेको छ । नेपालमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठानमा रहेको मानिन्छ ।

तत्कालीन ढाेलठान दरबार रहेकाे ठाउँ

स्थानीयका अनुसार अहिलेको बेनी नगरपालिका–५, पुलाचौरको गाजने गाउँभन्दा माथि डढेकोट भन्ने स्थानमा तत्कालीन पर्वत राज्यका राजा दिलिपबम मल्ल (डिम्ब)को दरबार थियो । त्यहाँ बज्रपात भएर दरबारमा भीषण आगलागी भएपछि राजा डिम्बले ढोल्ठानमा दरबार बनाएर त्यहीँ बसाइ सरेका थिए ।  

ढाेलठान गाउँ

उनले ढोल्ठानबाटै पर्वत राज्यको राज्य सञ्चालन गरेको हुँदा त्यसबेला ढोल्ठानलाई मुख्य र म्याग्दीको बेनीलाई सह–राजधानी मानेको जनविश्वास रहँदै आएको स्थानीयवासी बताउँछन् । 

पर्वत राज्यको राजधानी रहेको ढोल्ठानमा बस्दा राजा जाडोको समयमा हालको म्याग्दी सदरमुकाम बेनीबजार र गर्मीयाममा ढोल्ठानमै बस्ने गरेको इतिहास भेटिन्छ । यही सन्दर्भलाई समेटेर बुढापाकाहरु गीत सुनाउँछन्, ‘कहिले राजा ढोलीठाना, कहिले राजा बेनी ।’

कालक्रमसँगै उचित संरक्षण नहुँदा दरबार भग्नावशेषमा रुपान्तरण भयो । त्यसपछि वि.स. २०३१ सालमा स्थानीयले त्यही ठाउँमा कोत मन्दिर स्थापना गरे । अहिले कोतमा बडादशैँमा नवदुर्गाको पूजाआजा हुँदै आएको छ भने बोका र राँगाको बलि दिने गरिएको बेनपा–९, घतानका वडा सदस्य भेषबहादुर सेन बताउनुहुन्छ । 

‘अहिले कोतमन्दिर भएको ठाउँमा राजाको दरबार तथा त्यसको नजिकै काजी (मन्त्री)को दरबारका अवशेष छ’, उहाँले भन्नुभयो, ‘कोतमन्दिर र काजीको दरबार रहेको ठाउँमा स्थानीयले धर्मशाला बनाएका छन् । दरबार नजिकै विद्यालय रहेको ठाउँमा राजाले हाँस पाल्ने पोखरी समेत रहेको किम्बदन्ती छ ।’

ढाेलठान दरबारकाे डिलबाट देखिएकाे दृश्य

ढोल्ठान गाउँको शिरमा अवस्थित दरबार रहेको ठाउँमा हाल दरबारका केही अवशेषहरु मात्रै भेटिन्छन् । दरबार जीर्ण बन्दै जान थालेपछि त्यहाँ रहेका काठ तथा फर्निचरहरु पनि चोरी हुँदै गए ।यस्तै पश्चिम क्षेत्रबाट ढोरका राजाले ढोल्ठानमा आएर ठाना स्थापना गरेको हुँदा अनन्तकालमा आएर ढोरठाना भन्दाभन्दै अपभ्रंश भएर ढोल्ठान नाम रहन गएको भन्ने भनाइ पनि छ । 

नेपालमा तत्कालीन बाइसे–चौबीसे राज्यहरुमध्ये ऐतिहासिक पर्वत राज्य निकै शक्तिशाली मानिन्थ्यो । नेपाल एकीकरणका अभियानकर्ता पृथ्वीनारायण शाहले नेपालमा रहेका स–साना राज्यको एकीकरण सुरु गरेको समयमा पर्वत राज्यमा आक्रमण गर्ने क्रममा उनका फौजहरु पर्वतको लँडाइमा हारेपछि अन्यत्र राज्य जिते पनि पर्वत राज्यमा उनले हार बेहोर्नुपरेको इतिहास पढ्न पाइन्छ । 

पर्यटकीय गन्तव्य बनाउन जाेड

म्याग्दी सदरमुकाम बेनीदेखि नजिकै रहेको ढोल्ठान दरबार क्षेत्र निकै सुन्दर र आकर्षक छ । दरबारदेखि तल रहेका बेंसीका फाँटहरुको दृश्यले अझ रौनक थपिदिन्छ । ढोल्ठान राजदरबारको डिलबाट धौलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रेका साथै मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । म्याग्दीको साविक १६ वटा गाविसहरु प्रत्यक्ष देख्न सकिने यस ठाउँबाट छिमेकी जिल्ला पर्वतको मल्लाज, सालिजा, धाईरिङ, पाङ तथा बागलुङ जिल्लाको धार्मिक क्षेत्र पञ्चकोट लगायतका स्थान तथा ग्रामीण वस्तीहरुको सौन्दर्यताको अवलोकन गर्न पाइन्छ । 

ऐतिहासिक महत्वको ढोल्ठान राजदरबारको प्रचारप्रसार तथा संरक्षण गर्नका लागि बेनी नगरपालिका र वडा कार्यालयबाट आवश्यक पहल थालिएको घतानका वडा अध्यक्ष बेलबहादुर चोखालले बताउनुभयो । उहाँले दरबार क्षेत्रको अवलोकन गर्न जाने पर्यटकहरुलाई लक्षित गरेर पदमार्ग तथा प्रतिक्षालय निर्माण, डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा हरियाली पार्क समेत निर्माण गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय ढोल्ठान राजदरबार क्षेत्रमा स्वदेशी र विदेशी पर्यटकहरु पुग्न थालेका छन् । म्याग्दी सदरमुकामदेखि ११ किलोमिटरको दुरीमा रहेको ढोल्ठान दरबार क्षेत्रमा गाडीमार्फत डेढ घण्टामा सजिलै पुगिन्छ । कतिपय पर्यटकहरु पैदलयात्रा गरेर वा आफ्नै गाडीमा पनि जाने गर्दछन् । म्याग्दीको बेनीदेखि अथुङ्गे–गुफा–पुलहाश्रम–घतानकोत हुँदै ढोल्ठान दरबार क्षेत्रको अवलोकन गरेर फर्कन सकिन्छ । यस्तै जगन्नाथ मन्दिरको दर्शन गरेर केभहिल हुँदै ढोल्ठान दरबारसम्म पनि पुग्न सकिन्छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया