हेटौँडामा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार बन्दै

 फागुन ८, २०७८ आइतबार ११:५८:२ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौँडा बजारको बस्ती नजिक मजदुरहरु धमाधम भवन निर्माणको काम गरिरहेका छन्। देख्दा बगर जस्तो देखिए पनि राप्ती खोलालाई बाँधले बाँधेर संरक्षण गरिएको छ । जस्ताले बारेर भवन निर्माण गर्ने, फर्मा ठोक्ने, रड काटिरहेका मजदुरहरु देखिन्छन् ।

हेटौँडाको मुख्य बजारबाट राप्ती पुल कट्नेबित्तिकै खोलातर्फको भागमा ठूलो पक्की भवन निर्माण भइरहेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थाना भर्याङमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण स्थलमा पुगेपछि यस्तै देख्न सकिन्छ ।

वाग्मती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडा र हेटौँडा उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । २०८१ सालसम्ममा भवन निर्माण गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।

यो भवन निर्माण सुरु गरेपछि किसान, तरकारी तथा फलफूल व्यवसायी तथा उपभोक्ता सबै खुसी भएका छन् । प्रदेश सरकारसँग सहकार्य गरेर भवन निर्माणको काम भइरहेको यो आफ्नो गौरवको योजना भएकाे उपमहानगरपालिकाका मेयर हरिबहादुर महत बताउनुहुन्छ ।

स्थायीरुपमा तरकारी तथा फलफूलका लागि थोक बजार निर्माण नहुँदा निकै समस्या बेहोरेको उपमहानगरपालिकालाई अब भने निकै सहज हुने मेयर महत बताउनुहुन्छ । कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तर्राष्ट्रिय स्तरको कृषि थोक बजार निर्माण भइरहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डे बताउनुहुन्छ ।

कृषि थोक बजारको काम समयमानै सक्नेमा आफू विस्वस्थ रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको ठूलो लगानीको कृषि थोक बजार रहेको उहाँले बताउनुभयो । राजमार्गसँगै जोडिएको यस बजारका कारण देशभरिबाट तरकारी तथा फलफूल ल्गाउन र अन्यत्र लैजानका लागि सहज हुने उहाँले बताउनुभयो ।

दुई बिघा चार धुर जग्गामा निर्माण गर्न लागिएको कृषि थोक बजारमा कृषि विकास निर्देशनालयको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहने छ। ‘यहाँ प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र विदेशमा समेत पठाउन सकिने व्यवस्था गरिने तयारी छ । कोल्ड स्टोरसहित कृषि सुपरमार्केट निर्माण हुँदा किसानसहित सबैलाई फाइदा हुने प्रदेशको कृषि विकास निर्देशनालय हेटौँडाका निर्देशक रविन्द्रबहादुर प्रधान बताउनुहुन्छ ।

कृषि थोक बजार सञ्चालन भएपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, शीत भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाको अपर्याप्तता र अभावको अन्त्य हुने प्रधानले बताउनुभयो । निर्माण भएपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने थोक बजारबाट कृषकहरुले उचित मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय कृषि उपज पाउने पनि दाबी गरिएको छ। दुई बिघा चार धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण भइरहेको छ ।

थोक बजारले कृषकहरुले न्यून मूल्य पाउने, उपभोक्ताले चाहेअनुसार गुणस्तरीय उपज नपाउने र उपभोक्ता र फार्म गेट मूल्यको अन्तर बढी हुने समस्याको समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि थोक बजार निर्माण भइसकेपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने भएको छ ।

अहिले हेटौँडाको टीसीएन रोडमा अस्थायी रुपमा कृषि थोक बजार र खुद्रा बजारबाट बिक्री हुने गरे पनि स्थायी संरचना नहुँदा निकै समस्या परेको छ । किसान, तरकारी व्यवसायीहरुले सधैँ यो समस्या बेहोर्दै आएका छन् । अब भने सधैँका लागि सहज हुने व्यवसायीहरु बताउँछन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया