चिलिमे जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द

 जेठ २१, २०७५ सोमबार ८:५९:३ | रासस
unn.prixa.net

नुवाकोट – रसुवामा रहेको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको उत्पादन आइतबार अपराह्नदेखि बन्द भएको छ ।

केन्द्रमार्फत उत्पादन भएको विद्युत केन्द्रीय प्रशारण लाइनमा जडान गर्न लगिएको ६६ हजार भोल्टेजको तार नुवाकोटको विदुर नगरपालिका–१० स्थित गेर्खुमा आइतबार अपराह्न चुडिएकाले उत्पादन बन्द गरिएको चिलिमे जलविद्युत कम्पनीका प्रबन्धक सञ्चालक दामोदरभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

“८८ नंं को विद्युतीय पोलको ‘डिस इन्सुलेटर’ पड्किएर तार चुडिँदा त्यसमार्फत स्थानीय क्षेत्रमा प्रवाह गरिएको लाइनमा छोएर उच्च विद्युत् प्रवाह भएकाले उत्पादन बन्द गरिएको छ”– श्रेष्ठले भन्नुभयो, “अवरुद्ध भएको स्थानमा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रबाट प्राविधिक परिचालन गरिएको छ ।”

काठमाडाैंबाट आइतबार यहाँ आएका प्राविधिकले अवरुद्ध स्थानको अवलोकन गरेपनि वर्षा भइरहेको र अँध्यारो भएकाले सोमबारदेखि मात्र काम शुरु गर्ने जनाएका छन् ।

केन्द्रको विद्युत् उत्पादन बन्द हुँदा सोमार्फत रसुवाको आधा स्थान र त्यहाँ निर्माण भइरहेको रसुवागढी, साञ्जेन, माथिल्लो साञ्जेन जलविद्युत् आयोजनामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

चिलिमे जलविद्युत् केन्द्रको उत्पादन बन्द हुँदा प्रतिघण्टा रु एक लाख ७१ हजार ८२० नोक्सान हुने गरेको छ । 

यसैबीच, चिलिमेबाट केन्द्रीय प्रशारण लाइनमा लगेको तार चुडिएर यहाँको स्थानीय क्षेत्रमा प्रवाह गरिएको २३० भोल्टेज तारमा उच्च क्षमताको विद्युत प्रवाह हुँदा उपभोक्ताको घरमा रहेको विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीयवासी तथा नुवाकोट उद्योग वाणिज्य संघका सदस्य उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । 

उच्च विद्युत् प्रवाहबाट मिटरबक्स, सवामिटर, विद्युत् वाइरिङ, विद्युतीय सामग्री, बत्ती, रेडियो, टिभी, कम्युटरलगायत लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको भन्दै २५ परिवारले लगत संकलन गरी क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

निवेदनमा क्षतिको राहत नपाएसम्म मर्मतमा अवरोध पु¥याउने र स्थानीय विद्युत् प्रवाह गरेको स्थान माथिबाट चिलिमेको लाइन लैजान नदिने उल्लेख गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया