वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

 फागुन ११, २०७८ बुधबार ८:४९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।

हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन । 

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ ।

लामाका चुईं चुईं चुइँकने जुत्ता, कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्‍यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बे गरुँ जस्ता दर्जनौं लोकगीत लोकप्रिय छन् ।

२०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चलचित्रमा अभिनय गर्नुभएको थियो । थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिश्रृंखला 'हल्का रमाइलो'मा अभिनय गर्दै आउनुभएको थियो ।

सामाजिक सञ्जालमा कलाकार एवं शुभचिन्तक तथा प्रशंसकहरुले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Joel Bokati

    Feb. 23, 2022, 6:29 p.m.

    मृत आत्माको चिर शान्तिको कामना । भौतिक रूपमा हामी माझ नरहे पनि तपाईंका कृतिहरुबाट सदा हामी माझ जिउँदो रहनुहुनेछ । अलबिदा जयानन्द सर ।।।

  •  0 Reply

तपाईको प्रतिक्रिया