१ वर्षअघिकाे दैलेख घटना : आत्महत्या दुरुत्साहन मुद्दामा डेढ वर्ष कैद सजाय

 फागुन १६, २०७८ सोमबार २०:१३:९ | अमर सुनार
unn.prixa.net

दैलेख – चार छोराछोरीसहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्षअघि आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना गरेको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट मानसिंह बडुवाललाई आज साेमवार सजाय सुनाइएकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो ।

गएकाे फागुन २३ गते सुकी बडुवालले जेठी छोरी १५ वर्षीया कल्पना, माहिली छोरी १२ वर्षीया सरिता, कान्छी छोरी सात वर्षीया रजनी र छोरा १० वर्षीय ललितसहित कर्णाली नदीमा हाम फालेर आत्महत्या गर्नुभएकाे थियाे । 

पारिवारिक विवादका कारण फागुन २४ गते बिहान चार छाेराछाेरीसहित सुकीले कर्णालीमा हाम फालेर आत्महत्या गरेको आठबीस नगरपालिका ३ निमायलका बजीरसिंह थापा (सुकीका भाइ) ले गएकाे चैत ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको जाहेरीमा उल्लेख छ । श्रीमानले आत्महत्या गर्न बाध्य बनाएको भन्दै दिइएको जाहेरीको आधारमा प्रहरीले चैत १२ गते सुकीका श्रीमान् मानसिंहलाई पक्राउ गरेको थियो ।

कर्णालीमा हाम फालेर ज्यान गुमाएका सुकीसहित पाँचै जनाको शव अछामको पञ्चदेवल विनायक नगरपालिका ४ बेलखेत र अछामकै तुर्माखाँद गाउँपालिका ३ असाराघाट नजिक कर्णाली नदी किनारमा फरक–फरक दिनमा फेला परेपछि अछामको मङ्गगलसेन अस्पतालमा फागुन २५ गते र फागुन २७ गते शव परीक्षण गरिएको थियो ।

अछामको भू–भागमा शव फेला परेका कारण मङ्गगलसेन अस्पतालमा शव परीक्षण गरिए पनि मृतकहरू दैलेखकका भएका कारण जिल्ला प्रहरी कार्यालय दैलेखमा मुद्दा चलाइएको थियो । घटनाका सम्बन्धमा प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत चैत २९ गते दैलेख जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको थियो ।

मुद्दा दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेकै इजलासबाट कसुरदारलाई पुर्पक्षका लागि दैलेख कारागारमा राखिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय प्रमुख जिल्ला न्यायाधिवक्ता हरि घिमिरेले कानुनमा तोकिएअनुसार पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना सजायको मागदाबी गर्नुभएको थियो । तर दैलेख जिल्ला अदालतका वैतनिक वकिल टेकबहादुर केसीले परिवारका सबैलाई आत्महत्या गर्न बाध्य पारेको नभइ आमा सुकीको मनोगत उत्तेजनामा पाँच जनाको ज्यान गएको भन्दै कसुरदारलाई न्यूनतम सजायको जिरह गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया