‘बहराइनबाट श्रीमानको लास त आएन, सरकारी राहत लिन कागजात कहाँबाट ल्याउँ ?’

 फागुन १८, २०७८ बुधबार ९:४०:५२ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – बहराइनमा रहेका श्रीमानको फोन अफ भएको करिब एक हप्तापछि बुद्ध शान्ति गाउँपालिका ३ झापाकी सजिना मादेनको इमोमा श्रीमानकै नम्बरबाट एउटा फोटो आयो । 

फोटो, अस्पतालको बेडको थियो । थप केही पनि नलेखी अस्पतालको बेडको मात्र फोटो आउँदा सजिनाकाे मन खङ्ग्रङ्ग भयो ।

२०७८ जेठ ४ गते फोनमा अलिअलि शरीर दुखेको छ भनेका श्रीमानको त्यसपछि फोन लागेको थिएन । यक्कासि फोन अफ हुँदा आत्तिएको सजिनाको मनमा त्यो फोटो देखेपछि चिसो पस्यो । आत्तिँदै बहराइनमा भएका कोहीको नम्बर छ कि भन्दै मोबाइलमा खोज्न थाल्नुभयो ।

सजिनाका हातखुट्टा लगलग काँपिरहेका थिए । हातले मोबाइल समाउन पनि हम्मे हम्मे पर्‍याे । तर त्यो समयमा डराउने हैन, वास्तविकता बुझ्नु पर्ने थियो । 

‘बुढोको एक जना गोरखाका साथी थिए त्यहाँ, उनको नम्बर बुढोले नै दिनुभएको थियो, हतार हतार फोन लगाए, तपाईँको श्रीमानलाई कोरोना लागेर अस्पतालमा राखेको छ भन्नुभयो’ सजिना साथीले दिएको खबर सुनाउनुहुन्छ ।

यो खबर सुन्दा अघिदेखि आत्तिएको मन थोरै भए पनि शान्त त भयो । त्यही भएर पो फोन अफ भएको रहेछ भनेर मन अलिकति भए पनि बुझाउनुभयो । तर छटपटी अर्को थपियो । 

मनमा अनेक कुरा खेल्न थाले । श्रीमानले नै सकिनसकी आफ्नो अवस्थाबारे जानकारी दिन पो बेडको फोटो पठाए कि ? बेडको फोटो पठाउँदा फोन किन गरेनन् होला ? कि बोल्नै नसक्ने अवस्था पो छ कि ? यस्तै अनेक प्रश्नहरू मनभरि मडारिन थाले ।

गएर हेरिदेउन् भन्न पनि कोरोना लागेको मानिसलाई देख्न भेट्न मिल्दैन । कम्पनीका आधिकारिक मानिसले खबर गर्दैनन् । तर पनि निको होला भन्ने आसमा मन बुझाउनुभयो सजिनाले ।

२०७८ जेठ ४ गते अन्तिम पटक फोनमा कुरा भएको थियो श्रीमान् सूर्यमान मादेनसँग । 

‘इमो मै कुरा भएको थियो, अलिक अनुहार मलिन देखेँ, के भयो हाउ भनेको, जीउ पो दुख्दै छ त अलिअलि भन्नुभएको थियो, त्यसपछि त बोल्न पनि पाइएन, उसलाई अस्पताल लगिहाल्यो जस्तो छ, एक्कासि त्यही बेडको फोटो आयो’ सजिना अड्कल काट्दै भन्नुहुन्छ ‘सायद आफ्नो खबर दिन रहेछ, बोल्नु नसकेर होला नि त्यही एउटा फोटो भए पनि पठाएको ।’

खबर पत्याउनै नसकिने थियो । तर पत्याउन पर्ने बाध्यता पनि । कम्पनीले खबर नगरे पनि साथीले दिएको खबरलाई नै आधिकारिक मान्नुभयो सजिनाले ।

सजिनाले श्रीमान् चाडै निको होउन् भनेर देवी देउता भाग्नुभयो । हर दिन श्रीमानको सुस्वास्थ्यका लागि कामना गर्नुभयो । तर झण्डै एक महिनापछि असारको ७ गते साथीको फोनले सजिनालाई श्रीमानले यो संसार छाडेको खबर दियो ।

‘तिम्रो श्रीमान् छैन है भन्नुभयो, मनले पत्याउन मानेन, नपत्याउनु पनि कसरी, यस्तो दोधारमा परियो, परदेशी श्रीमान् भएपछि यस्तोसम्म नि भोग्न पर्ने रहेछ, कसैले तिम्रो लाग्ने त मर्‍याे भन्दा पनि पत्याउन पर्ने रहेछ’ सजिना भक्कानिनुहुन्छ । 

खबर पत्याउनै नसकिने थियो । तर पत्याउन पर्ने बाध्यता पनि । कम्पनीले खबर नगरे पनि साथीले दिएको खबरलाई नै आधिकारिक मान्नुभयो सजिनाले ।

कोरोनाले ज्यान जानेहरूको शव नेपाल पठाउन मिल्दैन भन्ने खबर आयो । सास नभेटे पनि अन्तिम पटक श्रीमानको लास भए पनि हेर्न मनको इच्छा मनमै रह्यो सजिनाको । 

‘मेरो श्रीमानलाई त्यतै जलाऊ है म राजी छु त्यही जलाउन भनेर यहाँबाट मेरो हस्ताक्षरसहित चिठ्ठी पठाउन पर्ने रहेछ’ सजिना भन्नुहुन्छ ‘हाम्रो रीतिरिवाज अनुसार पठाउनै पर्ने भयो, उता अन्त्येष्टि नगरी यहाँ काज किरिया गर्न पनि नमिल्ने, लास ल्याउन नमिल्ने, नपठाउने भएपछि के गर्नु, बाध्यताले आफ्नै श्रीमानको लास जलाउन अनुमति दिन पर्‍याे ।’

१९ वर्षमा ४ पटकको भेट

सूर्यमान मादेनले देश छाडेको १९ वर्ष अघि हो । जेठा छोरा जम्मा ६ महिनाका थिए त्यो बेला । २०५९ साल पुसमा बहराइन गएका सूर्यमानले आफ्नो जीवनको अमूल्य समय त्यहीँ बिताए ।

अहिले ४० वर्ष लागेकी सजिना त्यो श्रीमान् परदेश लाग्दा २० वर्षकी हुनुहुन्थ्यो । श्रीमान्ले ६ महिने काखे छोरा साथमा छाडेर परदेश लागेपछि जीवन चलाउन रह दुःख एक्लै सहनुभयो । सूर्यमान त यसो बेलाबखत स्वदेश फर्किन्थेँ । १९ वर्षको अवधिमा जम्मा ४ पटक बिदामा स्वदेश आएका थिए । 

‘कम्पनीले बिदै नदिने, तीन चार वर्षमा आउनुहुन्थ्यो २/३ महिनाको छुट्टी लिएर त्यत्ति हो सँगै बसेको भनेको पनि’ सजिना आफैँसँग गुनासो गर्दै भन्नुहुन्छ ‘मारिलानु त के पो रहेछ र, मेरो बुढाले प्राण पनि हाम्रै लागि अर्काको देशमा त्याग्नु पर्‍याे, त्यो सम्झँदा त साह्रै दुःख लाग्छ नि, अस्ति बिदा आएकै बेलामा नपठाउनु रहेछ जस्तो पो लाग्छ नि, बितिसकेको कुरामा पछुतो मानेर पनि त नहुने रहेछ ।’

सजिनाका दुई छोरा छन् । जेठो १९ वर्ष र कान्छो चाहिँ १२ वर्ष । उनीहरूले बुवाको साथ र माया दुवै अनुभव गर्न पाएनन् । 

कोरोना लागेर अस्पतालमा राख्दा एक एक महिनासम्म श्रीमानको स्वास्थ्य अवस्था बारेमा कुनै खबर नआउनु अनि एक्कासि मृत्युको खबर पाउनु ? यस्तै कुरा सम्झँदा सजिनाको मन मान्दैन ।

चौथो पटक बिदामा आएर २०७५ साल माघमा जानुभएको थियो सूर्यमान । अब दुई वर्ष काम गर्ने र फेरि कहिले पनि विदेश नजाने योजना सुनाएका थिए । 

‘१९/२० वर्ष काम गरेपछि त बोनस पनि पाइन्छ त्यही बोनस रकम लिएर आउँछु यही केही गरौँला भन्नुहुन्थ्यो, मान्छे त के लास पनि देशमा आएन’ सजिनाको मन त्यो क्षण सम्झँदा कटक्क दुख्छ ।

सजिनालाई घरीघरी आफ्नै आँखाले नदेख्दा श्रीमान् यो संसारमा छैनन् भन्ने कुरा पनि एउटा नमिठो सपना जस्तो लाग्छ । उहाँलाई यस्तो लाग्नुका पछाडि थुप्रै कारण छन् । 

एउटा कम्पनीमा १९ वर्ष बिताएको श्रमिकको मृत्यु हुँदा कम्पनीका आधिकारिक मानिसले एउटा फोनसमेत नगर्नु अनि साथीले मृत्युको खबर दिनु । कोरोना लागेर अस्पतालमा राख्दा एक एक महिनासम्म श्रीमानको स्वास्थ्य अवस्था बारेमा कुनै खबर नआउनु अनि एक्कासि मृत्युको खबर पाउनु ? यस्तै कुरा सम्झँदा सजिनाको मन मान्दैन ।

लास त आएनन् नै कागजात पनि आएन

कोरोनाले ज्यान जाँदा लास त ल्याउन मिलेन । महामारीले सृजना गरेको परिस्थितसँग सजिना  चित्त बुझाउनुहुन्छ । तर कम्पनीले श्रीमानको पासपोर्ट लगायतका कागजात र श्रीमानले चलाउने मोबाइल फोन लगायत सामान समेत नपठाउँदा भने मनमा शङ्का उब्जन्छ । 

‘मान्छेको मन त हो, कहिलेकाहीँ त कसैले केही गरिदिएर यस्तो चाल पो खेलेको हो कि जस्तो लाग्छ, लास नपठाए पनि मेरो श्रीमानको सामान र कागजात त पठाउन पर्ने हो नि हैन त ?’ सजिना प्रश्न गर्नुहुन्छ ।

तर यो प्रश्न सोध्ने कसलाई । कम्पनीसँग पहुँच छैन । नेपाल सरकारले सहयोग गरेन ।

मेरो श्रीमानको मृत्युको कारण खुल्ने सक्कल कागजात र पासपोर्ट पठाइदेऊ भनेर श्रीमानसँगै बसेका साथीहरूसँग धेरै पटक अनुनय गर्नुभयो सजिनाले । तर हरेक पटक उताबाट आउने जवाफ एउटै हुन्छ – ‘मान्छे त छैन कागजात किन चाहियो ?’

शव नेपाल आएको भए पासपोर्ट लगायत मृत्युको कारणसहितको अन्य कागजात पनि बाकससँगै आउँथ्यो । तर शव नै पठाउन नपरेपछि कम्पनीले यी कागजात पठाउन पनि आवश्यक ठानेन ।

कागजात नआउँदा परदेशमा ज्यान गुमाउनेका परिवारले पाउने आर्थिक सहायताबाटसमेत वञ्चित हुन परेको छ सजिनालाई ।

अन्य कागजात छ तर पासपोर्ट र मृत्युको कारण खुलाएको कागजात छैन सजिनासँग । ‘बिमाबाट चाहिँ १३ लाख रुपैयाँ पाइयो, तर वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायता रकम भने पासपोर्ट र अरू कागजात ओरिजिनल चाहियो भन्छन् रे, कम्पनीले नै पठाउँदैन कसरी पेस गर्नु हामीले ’ सजिना गुनासो गर्दै भन्नुहुन्छ ‘बहराइनमै लिन जान पनि त सकिँदैन, पाइदेउन् भन्दा पठाइदिँदैनन्, सरकारले ल्याइदिने होइन रहेछ ।’

‘मेरो श्रीमानको शव जलाउन मैले यहाँबाट सहमति पठाएको त यही सरकारी निकायबाट हो, सरकारी राहत पाउन मेरो श्रीमान् बितेको प्रमाण यो भन्दा थप के जुटाउन पर्छ र सरकार ? ’ सजिना प्रश्न गर्नुहुन्छ ।

बहराइनमा फलाम सम्बन्धी काम गर्छु भनेर सुनाएका थिए सूर्यमानले  । सजिनाका अनुसार फलामको गेटहरू बनाउनेदेखि बिग्रँदा प्राविधिकको रूपमा समेत काम गर्ने र नयाँ जानेहरूलाई सिकाउने जिम्मेवारी दिएको थियो कम्पनीले सूर्यमानलाई । १५० बहराइन दिनार पाउँथेँ तलब ।

१९ वर्षसम्म परदेशमा रगत पसिना बगाएर देशमा रेमिटेन्स पठाएका श्रीमानले परदेशी भूमिमा कोरोनाको कारण ज्यान गुमाउन पर्दा उसको परिवारलाई राज्यले गरेको व्यवहारले सजिनालाई आलो घाउमा नुन चुक लगाए झैँ भएको छ । 

सजिनालाई लाग्छ – लास नभए पनि तिम्रो श्रीमानको कागजात र सरसामान यो हो है भनेर ल्याइदिने जिम्मा राज्यकाे हो । तर त्यसो गर्नुको साटो पाउने राहतमा पनि सक्कल कागजात माग्दा सरकारसँग चित्त दुखेको छ ।

‘मेरो श्रीमानको शव जलाउन मैले यहाँबाट सहमति पठाएको त यही सरकारी निकायबाट हो, सरकारी राहत पाउन मेरो श्रीमान् बितेको प्रमाण यो भन्दा थप के जुटाउन पर्छ र सरकार ? ’ सजिना प्रश्न गर्नुहुन्छ ।

अन्तिम अपडेट: कात्तिक २६, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया