सरकारले चाहे तत्काल रेल चलाउन सक्छाैँ : महाप्रबन्धक झा

 फागुन २५, २०७८ बुधबार १५:१२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले चाहे तत्काल जयनगर–कुर्था रेल चलाउन सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ । जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गएकाे पुसमा नै रेल परीक्षण भइसकेको छ । यात्रु आवागमनका लागि भने रेल सञ्चालनमा आएको छैन । यद्यपि नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सबै तयारी पूरा भएकाले सरकारले चाहे तत्काल रेल चलाउन सक्ने बताउनुभएको छ । 

आज बुधवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाप्रबन्धक झाले यस्तो बताउनुभएको हो । उहाँले रेल चलाउने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिनुभयो । महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनका लागि भाडा निर्धारण र कानुनसमेत बनाइ सकेको बताउनुभयो । उहाँले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

महाप्रबन्धक झाले भन्नुभयो, ‘सरकारले चाहेका बखतमा हामीले रेल चलाउन सक्छौं । सरकार पनि रेल सञ्चालन गर्ने विषयमा सकारात्मक छ । मन्त्रालय पनि यो विषयमा सकारात्मक छ । रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । पछिल्लो समय केही प्राविधिक समस्याहरू भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौँ । रेल सञ्चालन कहिले हुन्छ भनेर नागरिकहरू उत्साहित छन् । जसरी यात्रुहरू रेल चढ्न उत्साहित हुनुहुन्छ, त्योअनुसारले रेल सञ्चालनमा आउँदा घाटामा जाँदैन । रेल कम्पनीले नाफा कमाउन र जनतालाई यातायातको माध्यमलाई सहज बनाउने दुई वटै भूमिका खेल्नेछ ।’

नेपालले भारतीय रेल्वे कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याएको एक वर्षभन्दा बढी भएको छ । रेल खरिद गरेकाे एक वर्षपछि कुर्थासम्म ल्याएर गएकाे पुसमा परीक्षण गरेर राखिएको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनि थन्किएर बसेको छ । रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भए पनि अहिलेसम्म मिति जुरेको छैन ।  

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल चलाउनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ । रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आमनागरिकको चासो बढेकाे छ । वर्षाैँदेखि बहुप्रतिक्षित रेलमा यात्रा गर्न आमनागरिक प्रतिक्षामा बसिरहेका छन् । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया