कांग्रेसमा धेरै 'स्काेप' नभएकाले एमाले राेजेँ : मेयर सरावगी

 फागुन ३०, २०७८ सोमबार १७:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिकाे चाहनाबाट म प्रेरित भएँ । अब म एमालेको मेयर कहल्याउँछु र आउने दिनमा पनि एमालेबाट नै राजनीतिक यात्रालाई अगाडि बढाउँछु ।’

यस्तै मेयर सरावगीले जनता समाजवादी पार्टी छाेडेर नेकपा एमालेमा जाँदा पद पाउनका लागि कुनै सर्त नगरेकाे बताउनुभएकाे छ । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर जुन जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी लिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले एमाले प्रवेश गर्दा निःशर्त गएको छु । अब पार्टीले मूल्याङ्कन गर्ने हो । मेरो काम, कारबाही कस्तो रह्यो, त्यहीअनुसार हुन्छ । उहाँहरूले मेयरमा भन्नुहुन्छ, मेयरमा जान्छु । अन्य कुनै पदमा भन्नुहुन्छ भने अन्य पदमा जान्छु । यसका लागि अहिलेदेखि नै मरिहत्ते गर्न मिल्दैन । पार्टीले छिट्टै यो विषयमा निर्णय गर्छ । पार्टीको आदेशअनुसार, पार्टीको टिकट अनुसार म अगाडि बढ्छु ।’ 

मेयर सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यहार हुने गरेकाले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको बताउनुभयाे । 

उहाँले भन्नुभयो, ‘जनताले मलाई माया गरेर त्यति बेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले मलाई जुन ढङ्गले व्यवहार गर्नुपर्थ्याे, त्याे गरे । दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिँदा दिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यति बेला मलाई रोक्ने प्रयास गर्नुभयो । म रोकिए पनि । तर लगातार मसँग दुर्व्यवहार हुने, सामाजिक रूपमा मलाई मानमर्दन गर्ने कामहरू भइराखेका थिए । त्यो कारणले गर्दा मैले नयाँ पार्टी रोजेँ ।’ 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया