महिला अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ : समाजशास्त्री अर्याल

 चैत १, २०७८ मंगलबार १७:५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – समाजशास्त्रीहरूले विभिन्न कालखण्डमा भएका राजनीतिक परिर्वतन र तीनले प्रत्याभूत गरेका महिला अधिकारलाई ग्रहण गर्न नसक्दा नेपाली समाज दुर्घटनामा पर्ने खतरा बढ्दै गएको बताएका छन् । राजनीतिक परिर्वतनसँगै शासकीय प्रणालीमा भएका सुधार, विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौता र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरेर महिलाहरू राज्य सञ्चालनदेखि सबै तहमा आफ्नो उपस्थिति जनाउँदै गएको भए पनि समाजको सोच भने यथास्थानमा रहिरहेको बुझाइ समाजशास्त्रीहरूको छ ।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समाजशास्त्री नीति अर्याल खनालले महिला अधिकारका सम्बन्धमा समाज उदार बन्न नसकेको बताउनुभयो । कानुनी अधिकार प्रयोग गर्दै अगाडि बढेका प्रगतिशील महिलाका लागि आवश्यक वातावरण निर्माण गर्नबाट समाज पछि परेको निष्कर्ष उहाँको थियो । उहाँले परिर्वतन स्वीकार गरेर प्रगतिशिलतातर्फ लम्किएका महिलालाई बुझ्ने र त्यहीअनुसार वातावरण तयार पार्ने दिशामा समाज अघि नबढे समाज गम्भीर दुर्घटनामा पर्ने खतरा औँल्याउनुभयो ।  

समाजशास्त्री खनालले भन्नुभयो, ‘आधा हिस्सा ओगटेको एउटा समूह निरन्तर हिंसाले पीडित रहन्छ । उसलाई पिँधमा पारिन्छ । उमाथि विभिन्न किसिमको ज्यादती गरिन्छ भने कुनै पनि हिंसाको घटनामा सहने सीमा पार गरेपछि त्यो विष्फोटको रूपमा अगाडि देखापर्छ नै । महिलाहरू आत्मनिर्भर हुने क्रम जारी छ । तर ती प्रगतिशील महिलालाई हेर्ने दृष्टिकोण बनाउन अघि बढ्नुपर्ने गतिमा समाज भने अघि बढेको देखिँदैन । महिलाहरू अगाडि बढिसके तर समाज पछाडि परिरहेको छ । अहिलेको द्वन्द्व भनेको यही हो ।  यदि हाम्रो समाज प्रगतिशील, आत्मनिर्भर महिलाहरूका लागि आवश्यक फराकिलो सोच विकास गर्न तयार भएन भने समाज दुर्घटनामा जान्छ र त्यसकै इन्डिकेटरको रूपमा हामीले सम्बन्धविच्छेद बढिरहेको देख्न सक्छाैँ । विभिन्न किसिमका सामाजिक समस्या बढिरहेका छन् ।’ 

उहाँले महिलाले आफूमाथिका सबै पीडा, असमानता तथा हिंसा सहनुपर्छ भन्ने पुरानै मानसिकतामा समाज रहिरहेको दाबीसमेत गर्नुभयो । पछिल्ला दिनहरूमा समाजमा महिला सहनशील हुनुपर्छ भन्ने समाजको अपेक्षा र महिलामाथि हुने हिंसाविरुद्ध शून्य सहनशिलता अपनाउनुपर्छ भन्ने अवधारणबीच द्वन्द्व चर्किँदै गएको टिप्पणी उहाँले गर्नुभयो । आफ्नो सहनशिलता चिर्दै महिलाले आफूमाथि भएको हिंसाविरुद्ध न्यायको लडाइँमा आएपछि परिवार र समाजमा हलचल मच्चिने गरेको खनालले बताउनुभयाे ।  

उहाँले भन्नुभयो, ‘जब महिलाहरूले आफूविरुद्धको हिंसा खप्न नसकेर रिपोर्ट गर्न थाल्नुहुन्छ । जब बोल्न थाल्नुहुन्छ । परिवारमा हलचल मच्चिन्छ । समुदायमा हलचल मच्चिन्छ । त्यसैले सामान्यतया हाम्रो समाजले चाहेको भनेको एउटा सहनशील नारीको व्यक्तित्व नै हो । तर आवाज उठाउनेबित्तिकै जो शक्ति केन्द्रमा छन् उनीहरूलाई त्यो सैह्य हुँदैन ।’

समाजशास्त्री खनालले सरकार र समाजले उपयुक्त ढङ्गले परिवर्तनलाई आत्मसात् गरी सहकार्य र सहयोगी हात अघि नबढाए महिलाले आफ्नो प्रजनन अधिकार प्रयोग गरी सन्तान उत्पादनमा सहयोग नगर्ने अवस्था सृजना हुने र त्यसले अन्ततः अर्थतन्त्र धान्न आवश्यक जनशक्ति सरकारसँग नहुने अवस्था आउने खतरा औँल्याउनुभयो । उहाँले विश्वभरिको कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत घाटा महिलाविरुद्ध हुने हिंसाका कारण हुने गरेको तथ्याङ्क सार्वजनिक भइरहँदा नेपालमा पनि महिलाविरुद्धका हिंसाका कारण पुगेको आर्थिक घाटाबारे अध्ययन हुनुपर्ने बताउनुभयाे । समाजशास्त्री खनालले महिलामाथि हुने हिंसा महिलाको निजी समस्या नभइ सामाजिक र राजनीतिक मुद्दा भएकाले आउने चुनावमा राजनीतिक दलहरूले जवाफदेहिता देखाउनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले नेपाल प्रहरीले सार्वजनिक गरेको तीन वर्षे लैङ्गिक हिंसा अध्ययन रिपोर्टले महिलामाथि हुने हिंसाका घटनामा धेरैजसाे यौनजन्य र त्यसमा पनि नाबालिगमाथिको हिंसा रहेकाले उनीहरूकाे सुरक्षाका लागि सरकार थप गम्भीर र संवेदनशील हुनुपर्ने बताउनुभयो । उहाँले पर्याप्त अध्ययन–अनुसन्धान नगरिकन हचुवाको भरमा कानुन परिर्वतन गर्नुपर्छ भनेर बहस चलाउनु खेदजनक भएको टिप्पणी गर्नुभयो । कानुन गलत भयो भन्नका लागि अध्ययन–अनुसन्धान र तथ्य आवश्यक पर्ने समाजशास्त्री खनालकाे भनाइ छ  । 

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया