नेता कार्यकर्ता चुनावी गतिविधिमा

भयरहित  वातावरण बनाउन सरकार जुट्यो

 चैत २, २०७८ बुधबार ७:४१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्थानीय तहको चुनाव आउन दुई महिना मात्रै बाँकी छ । चुनाव नजिकिएसँगै राजनीतिक दलहरु तयारीमा जुटेका छन् ।

प्रमुख दलका नेता कार्यकर्ताहरु चुनावी अभियान लिएर गाउँ पस्न थालेका छन् । विपक्षी कार्यकर्ता र  जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन होडबाजी नै चल्न थालेको छ । नेता कार्यकर्ता पुग्न थालेपछि गाउँ घरमा पनि चुनावी माहोल देखिन थालेको छ । गाउँ घरमा पार्टीका झण्डा टाँग्न थालिएको छ । चिया पसलहरुमा चुनावको गफ हुन थालेको छ ।  दलहरु चुनावमा तालमेल गर्ने नगर्ने भन्ने विषयमा छलफलमा छन् ।

चुनावसम्म सत्ता गठबन्धनलाई निरन्तरता दिने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको तयारी भए पनि यस विषयमा नेपाली कांग्रेसमा सहमति बनिसकेको छैन । गठबन्धन बारे कांग्रेसमा दुई मत छ । नेता शेखर कोइराला पक्षले कांग्रेस एक्लैले चुनाव लड्नु पर्नेमा दबाब दिइरहेका छन् भने नेता रामचन्द्र पौडेल पक्षले गठबन्धनलाई जोड दिएका छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धन बनाएर जाने कि एक्लै जाने भन्ने विषयमा यो महिनाको तेस्रो हप्ता बस्ने केन्द्रीय समिति बैठकले टुंगो लगाउने बताउनुभयो ।

यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि चुनाव केन्द्रीत कार्यक्रम गर्न थालेको छ । एमालेले महानगर, उपमहानगरका मेयर र उपमेयरका उम्मेदवार केन्द्रबाटै तय गर्ने भएको छ भने महानगर उपमहानगरका वडाध्यक्ष र सदस्यका उम्मेदवारको टुंगो प्रदेश कमिटिले लगाउने भएको छ ।

यसैबीच, ठूला दलसँगै साना दल पनि चुनावको तयारीमा जुटेका छन् । जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी  लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लगायतका दलहरु चुनावी अभियानमा जुटेका छन् । सरकारले पनि चुनावी वातावरणलाई भयरहित बनाउन सुरक्षाका योजना बनाएको छ ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षतामा उच्चस्तरीय सुरक्षा समन्वय समिति गठन गरिएको छ भने सुरक्षा व्यवस्थापनमा सघाउन एक लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन समेत मागेको छ । इच्छुक व्यक्तिले आउँदो आइतबारदेखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन पाउनेछन् । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया