तैमूरदेखि तैमूरसम्म...

 चैत १२, २०७८ शनिबार १७:३:५६ | सुषमा रिसाल सापकोटा
unn.prixa.net

बच्चा यसै पनि राम्रो हुन्छ, चाहे त्यो कुकुर बिरालाको छाउरो होस् कि बाख्राको पाठो । मान्छेको बच्चो त गोरो, कालो, अग्लो, होचो, मोटो, दुब्लो जस्तोसुकै किन नहोस्, त्यसमा एउटा सौन्दर्य, हिस्सी विद्यमान हुन्छ । त्यसमाथि हिरो बाबु, हिरोइन आमाको बच्चो कति आकर्णक होला ? भूतपूर्व नबाबको सन्तान, भारतीय सिने जगतको नाम चलेको कलाकार सेफ अली खान र करिष्मा कपुरको छोरो ‘तैमूर अली खान’को कुरो हो यो । सानो, राम्रो, कलिलो, फूर्तिलाे तैमूरको फोटो देखेर आकर्षित नहुने शायदै कोही होलान् । 

तर, यो राम्रो फुच्चेको नाममाथि खुबै टिकाटिप्पणी भएथ्यो, अझै पनि हुँदैछ । कसैले आफ्नो छोराछोरीको नाम जेसुकै राखुन् ? कसैलाई चासो हुनुपर्ने विषय नै होइन । चासो भइहाल्यो रे लौ भने पनि नाम थाहा पाएपछि ‘ए’ भने भइगयो नि । कस्तो नाम राखेको ? किन राखेको ? अरू नाम नै थिएन र ? भनेर नानाबली कुरा काट्नुपर्ने कारण के ?

कारण छ, कारण छ र त्यो कारण साधारण पनि छैन किनभने तैमूर शब्दले भयानक इतिहासको, आतङ्कको युगको र आततायी व्यक्तित्वको स्मरण गराउँछ । 

संसारमा विवादका धेरै विषय छन् । पाप–धर्म, स्वर्ग–नर्क, आस्तिक–नास्तिक, नारी–पुरुष, पुँजीवाद–साम्यवादजस्ता ठूलाठूला विषयदेखि ‘नाममा के छ र ?’ देखि ‘जे छ नाममै छ’जस्ता झिनामसिना विषयसम्म छन् विवादका लागि । 

नाममा केही छैन भनौँ भने त्यही नामको पछि मान्छे गर्छ ? जे छ नाममै त छ भन्ने हो भने सोचअनुसारको कर्म गरेर कतिले आफ्नो नाम सार्थक बनाएका छन् त ? दानबहादुर नामधारी महाछुच्चो, धर्मराज महापापी, तीन महिना ननुहाउने निर्मल, कर्कटपातामा असिना परेझैँ स्वर भएकी मिठूलाई नबेहोरेको हो र हामीले ? विलियम सेक्सिपियरले यसै भनेका हुन् र ‘नाममा के छ ? यदि गुलाबको नाम गुलाब नभएर अर्को केही भएको भए पनि त्यसबाट प्राप्त हुने सुगन्धमा फरक पर्थ्याे र ?’   

अनि नाममा केही नभए किन कसैले छोरीको नाम कैकेयी, मन्थरा, पुतना, होलिका राख्दैन त ? छोराको नाम रावण, कंश, शिशुपाल, किच्चक राख्दैन ? त्यसैले नाममा केही त छ पनि है । त्यसैले सेफ अली खान र करिना कपुरले छोराको नाम तैमूर राखेकोमा कतिले आश्चर्य प्रकट गरेरे । कतिले त्यो नाम नराख्न सुझाव दिए रे । कतिले कुनै अर्को नाम पाएनौँ ? भनेर प्रश्न उठाए रे । खिसीट्यौरी गर्नेको त हिसाबकिताबै छैन । 

आबुई ! नामले नै सातो खाने, घृणा उत्पन्न गराउने को हुन्त यी तैमूर नामधारी व्यक्ति ? यी क्रुरता, आतङ्क, ध्वंश, विनाशका पर्यायवाची हुन् । यिनको परिचय प्राप्त गर्नुअघि हृदय पोषक चूर्ण खाएर भए पनि मुटु चाहिँ दह्रो पार्नुपर्छ है । 

वास्तविक नाम शुजाउद्दीन तैमूर भए पनि यिनी तैमूर लङ नामले चिनिए । अरबी  भाषामा तैमूरको अर्थ फलाम हो । फलामजस्तै बलियो होस् भनेर उनको नाम तैमूर राखियो होला । लङको अर्थ लङ्गडो । त्योभने उनले आर्जन गरेको नाम हो । फलामजस्तै मजबुद तर खुट्टा खोच्याएर हिँड्ने भएकाले उनी तैमूर लङ भनिएका हुन् । सिकन्दरझैँ विश्व विजय गर्ने सपना देख्ने उनको आदर्श व्यक्ति चाहिँ मङ्गोल सम्राट चँगेज खाँ थिए । तैमूर आफूलाई चँगेज खाँकै वंशज ठान्थे जबकि चँगेज खा मङ्गोल थिए भने यिनी तुर्क थिए । 

तैमूर लङको जन्म पश्चिम उज्बेकिस्तानको सहर ए सब्जमा ६ अप्रैल १३३६ का दिन साधारण तुर्क परिवारमा भएको हो । उनका बाबु तुर्कका सरदार थिए भने धर्म चाहिँ इस्लाम अपनाएका थिए। बाबुकै अनुकरण गर्दै यिनी पनि इस्लाम बने । नयाँ जोगीले खरानी धेरै घसेझैँ, नयाँ मौलाले नमाज धेरै पढेझैँ, नयाँ धामी धेरै कामेझैँ जन्मजात धर्मावलम्बीले भन्दा पछि बनेका वा अपनाएका धर्मावलम्बीले अलि बढी नै कट्टरता प्रदर्शन गर्छन् । तैमूर पनि धर्मको नाममा  आवश्यकताभन्दा बढी कट्टर बने । 

परिवारको आर्थिक अवस्था अत्यन्त दयनीय भएकोेले तैमूर लङको बाल्यकाल अभाव र अपूर्णतामा बित्यो । सानैदेखि सानोतिनो चोरी गरेर गुजारा चलाउन थाले । अलि ठूलो भएपछि भेडा चोरी गर्नु मुख्य काम भयो । पछिपछि समूह बनाएर चोरी, लुटपाट गर्न थाले । उमेरसँग आँट छिप्पन थाल्यो र खुङ्खार लुटेरा भएर निस्के । 

उनको लङ्गडोपनलाई लिएर पनि धेरै भनाइचलेका छन् । भेडा चोरी गर्दा एउटा गोठालोले प्रहार गरेको तिर पुट्ठामा लागेर उनी लङ्गडो भएको भन्ने एउटा भनाइ छ । अर्को भनाइ अनुसार एउटा लडाइँमा उनको शरीरको दाहिने भाग नराम्ररी घाइते भएको थियो । पछि स्वस्थ त भए तर एउटा खुट्टा अर्कोभन्दा छोटो भएकोले खोच्याएर हिँड्न थाले । 

सन् १३६९ मा समरकन्दको मङ्गोल शासकको मृत्युपछि यिनले त्यहाँको सत्ता हत्याए अनि दिग्विजयी बन्ने सपना पूरा गर्ने मार्गमा हिँडे । चँगेज खाँको अनुकरण गरी विशाल सेना गठन गरे । सर्वप्रथम मेसोपोटामिया आक्रमण गरी विजयी बने । विजयी भएपछि धनसम्पत्ति लुट्ने, भेटेजति मान्छे मार्ने, बस्तीका बस्ती आगो लगाएर ध्वस्त पार्ने जस्ता क्रुरताको हद पार गर्थे । त्यही प्रकृयाले खुरसान, सिस्तान, फारस, अफगानिस्तान, अजरबैजान, कुर्दिस्तानमा आक्रमण गरेर विजयी बनेरबगदाददेखि मेसोपोटामियासम्म एकछत्र अधिपत्य स्थापित गरे । 

अनि तैमूर लङले भारत आक्रमण गर्नेबारे सोच्न थाले । उनको सेना भारतजस्तो टाढाको देशमा लड्न जाने मनस्थितिमा देखिएन । उनी बहादुर र महात्वाकाङ्क्षी मात्र हैन धुर्त बाठा पनि थिए । अतः भारत आक्रमण गर्ने कुरालाई धार्मिक आस्थासँग जोडेर सेनाको मनमा विधर्मीप्रति घृणा पैदा गरिदिए । ‘मूर्तिपूजा गर्ने घृणित, अपवित्र मानिसको समूल विनाश गर्ने पवित्र उद्देश्यले भारतमाथि आक्रमण गर्न खोजेको’भन्दै भ्रम सिर्जना गरेर सेनालाई युद्धका लागि तयार पारे । तरयो उनको बहानामात्र थियो । वास्तवमा उनको उद्देश्य लुट्नु थियो । 

भारतको शक्तिशाली दिल्ली सल्तनतमा तुगलक वंशका शासक फिरोज शाह तुगलकका अयोग्य उत्तराधिकारीले शासन चलाइरहेका थिए । यही कमजोरीको फाइदा उठाउँदै तैमूर लङले दिल्ली छेउछाउमा आक्रमण गरी केन्द्रलाई घेराबन्दी गरी कमजोर पार्ने उद्देश्यले पहिले आफ्नो नाति पीर मोहम्मदलाई पठाए । उनले मुलतनमा डेरा जमाएर ६ महिनापछि त्यसलाई हात पारे । 

अप्रिल १३९८ मा तैमूर आफैँ विशाल सेनासहित समरकन्दबाट भारततिर लागे । सिन्धु, झेलम, रावी नदी पार गर्दै तुलुम्बा नगरमा आक्रमण गरे । भेटेजतिलाई गिँडे, धनसम्पत्ति लुटे । कतिलाई गुलाम बनाए । त्यसपछि भटनेर लुटे । 

हिन्दु बाहुल्य बस्ती लोदी नगरमा उनले एक लाख युद्धबन्दी राखेका थिए जसमा केही मुसलमान पनि थिए । अब दिल्ली कुच गर्ने भएपछि त्यहाँ बस्ने औचित्य समाप्त भएपछि बन्दीलाई के गर्ने ? भन्ने प्रश्न उठ्यो । मुसलमानलाई छाडेर सम्पूर्ण हिन्दुको हत्या गर्ने आदेश दिए । यस्तो जघन्य अपराधलाई उनले ‘हिन्दु युद्धबन्दीलाई छाड्नु मुस्लिम कानुनविपरीत हुने भएकोले इस्लामको तरबार काफिरको रगतमा स्नान गर्न बाध्य भयो’ भनेर अपव्याख्या गरे । आदेश मान्न आनाकानी गर्नेलाई पनि काट्ने र त्यसको सम्पत्ति सूचना दिनेले पाउने भन्ने फरमान जारी भएकोले मार्ने काममा कसैले आनाकानी गरेर शहीद कसलाई बन्नु थियो र ? उनको कृपाले एक लाख अपवित्र मूर्तिपूजक काफिरको सहजै हत्या भयो । एक ठाउँमा उनले दुई हजार मान्छेलाई जिउँदै राखेर बाहिरबाट गाह्रो लगाउन लगाएर पनि हत्या गराएका छन् ।

त्यहाँबाट दिल्ली हान्ने हिँडेका तैमूर लङको दिल्लीका शासक महमूद तुगलकको सेनासँग पानीपतमा भयानक युद्ध भयो । नराम्रोसँग हारेका महमूद तुगलक भागेर गुजरात गइ ज्यान बचाए । अनि निर्वाद दिल्ली प्रवेश गरेर तैमूर लङले पाँच दिनसम्म भयानक लुट मच्चाए । विना कारण सर्वसाधारणको हत्या गरे, बन्दी बनाए । महिलालाई पनि बन्दी बनाए । कालीगढलाई बन्दीकै रूपमा समरकन्द लगेर केही निर्माण कार्य पनि गराएका थिए । त्यहाँबाट मेरठ गइ नगरका नगर लुटे, हत्या गरे । हरिद्वार पुगेर हिन्दु सेनालाई हराए । शिवालिक पर्वत हुँदै काँगडा पुगे, हत्या गरे, लुटे । त्यसपछि जम्मु पुगेर उही क्रम दोहोर्याए । 

कश्मिरमा भयानक लुट मच्चाए । एउटा किल्लामा आक्रमण गरेर १० हजार पुरुषको हत्या गरी लाशको पहाड बनाए । महिला तथा बालबालिकालाई कैद गरे । तिनका सरसामान, अन्न, खजाना सबै लुट्न लगाए । गाउँका गाउँ आगो लगाएर खरानी बनाइदिए । बाँकी घरहरूलाई धराशायी बनाइदिए । यति वितण्डा मच्चाएर सन् १३९९ मा उनी समरकन्द पुगे ।  
भारतबाट फर्केपछि अनातोलिया र पछि अङ्गोराका अटोमन तुर्कसँग युद्ध गरे । त्यसपछि चीनमा आक्रमण गर्ने योजना बुन्दै थिए सन् १४०५ मा साधारण रुघाबाट उनको मृत्यु भयो । मृत्युपछि पनि  दीर्घकालसम्म पनि उनको त्रास कायमै रहेको थियो ।

विश्वले उनलाई आततायीको रूपमा हेरेको छ । उनको नाममा घृणा छ । तर यसको ठीक विपरीत कजाकिस्तानमा उनलाई हिरो मानिन्छ । ठाउँ-ठाउँमा उनको शालीक बनेका छन्। समरकन्दमा रहेकाे उनको मकबरालाई पवित्र स्थान मानिन्छ । त्यहाँ उनको गुनगान मात्र गाइन्छ, उनको आततायी स्वरूप प्रस्तुत गरिन्न ।  

वास्तवमा क्रुरताले मात्र यत्रो साम्राज्य खडा हुँदैन । बहादुर योद्धा, कुशल सेनापति हुनाका साथै तैमूरमा सैन्य व्यवस्थापनको असाधारण क्षमता थियो । युद्धमा उनले आदर्श मानेका चँगेज खाँकै नीति अपनाएर स्वयम् अग्रपङ्क्तिमा रहेर सेनाको मनोवल उच्च पार्थे । तर क्रुरतामा तैमूर लङको कसैसँग तुलना हुनै सक्दैन । युद्धमा दया, माया, करुणाको अर्थ हुँदैन तर मानवताको सामान्य नियम त्यागिन्न । सेना आमनेसामने भएर कि मार्छ, कि मर्छ । निहत्था सर्वसाधारणलाई सकेसम्म केही गरिन्न । तैमूर लङले युद्धको सामान्य सिद्धान्तसमेत मानेनन् । 

युद्ध जितेपछि उनी सेनालाई छाडा गरिदिन्थे । तिनलाई लुट्ने, मार्ने, काट्ने, बलात्कार गर्ने वा बन्दी बनाएर ल्याउने सबै छुट थियो । बन्दीमध्ये कतिलाई दास बनाउँथे, बाँकीको निर्ममतापूर्वक हत्या गर्थे । उनले यो सब धर्मयुद्धको नाममा गरे, गराए । उस्तै पर्दा मुसलमानसँग पनि उही व्यवहार गरे जुन हिन्दुसँग गरे । उनी जहाँ जहाँ पुगे सर्वनाश गरेरै छाडे । चौधौँ शताब्दीमा उनले जनसङ्ख्याको पाँच प्रतिशत अर्थात दुई करोडभन्दा बढी नरसंहार गरेको मानिन्छ । चानचुन टाउका गनेर त को बस्यो र ?

उनले आफ्ना सेनालाई हुँकार भरेर फरमान जारी गरेका थिए : ‘तरबारसे आदमीका सरकलम करोगे, तरबारकी नोकसे सर उठाकर यहाँ जमा करोगे । दुश्मनकी सरकी पहाड देखकर हमारे रुहको ठण्डक पहुँचेगी ।’ यिनको सेनालाई पनि दुःख नै थियो है । दुश्मनलाई गिँडेर मात्र नपुग्ने, टाउको बोकेर ल्याएर एक ठाउँमा जम्मा गर्नुपर्थ्याे । नरमुण्डको पहाड देखेर उनी अट्टाहास लगाउँथे । उनको चाला देखेर सेनाले के सोच्थे कुन्नी तर ‘हुकुम तामेन ना करने वालेको भी सरकलम करदो’ भनेर दुश्मनको टाउको छिनाल्न हिचकिचाउने सेनाकै टाउको छिनाल्ने हुकुम उनको सेनाको उच्च अधिकारीलाई थियो । 

यी सबै जानकारी कसरी भयो त ? भन्दा तैमूर विध्वंशकारी त हुन्, हुन्, रचनाकारसमेत रहेछन् । यत्रो वितण्डा मच्चाएको कुरो बढो वर्गसाथ आफ्नो जीवनी ‘तुजुक ए तैमूरी’मा लेखाएका छन् । आफ्नो अमानवीय कर्मलाई यसरी धार्मिक आवरणले छोप्ने प्रयास गरेका छन् : ‘ऐ पैगम्बर काफिरो व विश्वास नलाने वालो से युद्ध करो और उन पर सख्ती बरतो । हिन्दुस्तान पर आक्रमण करने का मेरा ध्येय काफिर हिन्दुओँके विरुद्ध धार्मिक युद्ध करना है, इस्लामिकी सेनाको भि हिन्दुओँ कि दौलत और मूल्यवान वस्तुएँ मिल जाए ।’ 

यसप्रकार एउटा सामान्य तुर्क सरदारको उत्तराधिकारी तैमूर लङले दुई करोड मान्छेको रगतको होली खेल्दै तैमूरी राजवंश स्थापना गरे । उनको वंशजले उनीबाट राज्य विस्तारको महत्वाकाङ्क्षा, युद्ध नीतिको उत्तराधिकार हासिल गरे पनि उनीजति क्रुर बनेनन् । उनको छैटौँ पुस्ता अर्थात उनका नातिको नाति जहिरुद्दित मुहम्मद बाबरले पुनः भारतमा आक्रमण गरी दिल्लीमा मुगल साम्राट स्थापना गरे । बाबरपछि हुँमायू, अकबर, जहाँगिर, शाहजहाँ, औरङ्गजेबले मुगल सम्राज्य सम्हाले । औरङ्गजेबपछि साम्राज्य कमजोर हुँदै गए पनि बहादुर शाह जफरसम्मले जसोतसो शासन धान्ने काम गरे । 

रुसमा स्टालिन शक्तिशाली भएको बेलामा तैमूर लङको अस्थिलाई उनको मकबराबाट उत्खनन गरेर उनको अस्थिपञ्जको अध्ययन गराएथे । त्यसबाटै उनको उचाइ, जिउडाल र अपाङ्गताबारे जानकारी भएको हो । त्यही बेला जर्मनीका हिटलरले रुसमाथि आक्रमण गरेकाले धेरै अनुसन्धान नगरि तैमूरको अस्थिपञ्जरलाई फेरि उनैको मकबरामा समाधिस्थ गराइयो ।

तसर्थ नाममा के छ ? जे छ नाममा छ । भन्ने विवादमाथि विचार गर्दा एउटा आततायी, क्रुर हत्यारा, लुटेराको पर्याय बनेकाले घृणापूर्वक लिइने नाम आफ्नो प्यारो सन्तानको नामकरण गर्नुलाई कसरी लिने ? भन्ने प्रश्न उठ्न सक्छ । तर कुनै नामधारी व्यक्ति खराब भयो भन्दैमा त्यो नामैमा खराबी देख्नु पनि अतिवाद नै हो । असलमा असल महाअसल छानेर नाम राखेको मान्छेले नामलाई सार्थक बनाउँछन् भन्ने पनि त छैन नि । बुद्ध नाम राख्दैमा त्यो ज्ञानी शान्त हुन्छ र ? सीता नामधारी सबै आदर्श हुन्छन् र ? प्रेरणा नाम राखेकी छोरी अनुकरणीय हुन्छिन् भन्ने कहाँ छ र ? शान्त नामधारी हल्लाखोर हुन सक्दैन र ?

तसर्थ त्यो तैमूरदेखि यो तैमूरसम्म आइपुग्दा राम्रा नामधारी कति मानवले आफ्नो नामलाई सार्थक पारेका छन् ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छैन र ?

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुषमा रिसाल सापकोटा

दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेसामा आबद्ध सापकोटा ख्वप मावि भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।

 

तपाईको प्रतिक्रिया