पासपोर्ट पाउन उस्तै सास्ती

 चैत १६, २०७८ बुधबार १०:५८:४७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

भोजपुरका दीपक तामाङ पासपोर्ट बनाउनका लागि भनेर काठमाण्डौ आएको एक महिना भयो । तर, अझै पासपोर्ट उहाँको हातमा पर्ने लक्षण छैन । कारण उहाँको एक पटक भरेको फर्म रद्द भएर फेरि भर्नुपर्यो । अहिले पनि मेसेज आएको छैन । ‘मेसेज आउला कि भनेर राति निद्रामा पनि झस्केर उठ्छु’ तामाङ भन्नुहुन्छ, ‘गाउँ जाउँ भनेको फेरि मेसेज आयो भने तुरुन्तै आउनु पर्छ भनेर जान सकिएको छैन । काठमाण्डौमा बसेर खाएरै पैसा सकिइ सक्यो । तनाव छ हजुर ।’

मोरङकी टीकादेवी भण्डारीको पनि मेसेज आएन । उहाँ पनि फर्म बिग्रिएपछि सच्च्याउने र के कारणले मेसेज आएन भनेर थाहा पाउन लाइनमा उभिनुभएको छ । ‘यो घाममा कति लाइन बस्नु । छोडेर गयो नाम आउला कि भन्ने लाग्छ’ भण्डारी भन्नुहुन्छ, ‘अघि एकछिन गर्मी भएर छोडेर गएको नाम बोलायो भन्थे साथीहरुले । अहिले भन्दा अघि बोलाको हो अब एकछिन पख्नुस भन्छन् ।’ के कारणले मेसेज आएन भनेर भण्डारी व्यग्र प्रतिक्षामा हुनुहुन्छ । भन्नुहुन्छ, ‘यहाँ धाएको नै दश दिन जति भयो ।’

सुनसरीकी आकृति पोखरेललाई राष्ट्रिय परिचय पत्र बनाउन नै मुश्किल पर्यो । उहाँले राष्ट्रिय परिचय पत्र सुनसरीबाट बनाउन खोज्नु भएको थियो । उहाँलाई केही समय कुर्न भनियो । पछि सम्बन्धित मान्छेले बिरामी भएर म त अस्पतालमा छु भनेपछि उहाँ काठमाण्डौ आउनु भएको हो । ‘मैले सुनसरीमा सात दिन कुरें राष्ट्रिय परिचय पत्र बनाउनकै लागि तर, भएन त्यसपछि काठमाण्डौ आएको हो’ पोखरेल भन्नुहुन्छ, ‘पासपोर्टको कुरा सम्झियो कि मलाई त्यो सात दिनले सताउँछ ।’ 

उहाँको गुनासो छ, ‘मेरो त पठाओमा आउँदा जाँदा नै पैसा सकिइसक्यो हो । चाँडो पासपोर्ट चाहिएर आएको यो हालत छ ।’

रुकुम पश्चिमकी सोनी रोकायाले सात दिनअघि पासपोर्ट प्राप्त गर्नुभयो । पासपोर्ट पाउनेबित्तिकै खुशी हुनुभएकी उहाँलाई राहदानी विभागले सन्देश (मेसेज) पठाएर विभागमा सम्पर्क गर्नका लागि भन्यो । विभागमा सम्पर्क गर्दा थाहा भयो पासपोर्टमा जन्म मिति गलत परेको रहेछ । ‘मिति सच्च्याएर पासपोर्ट पाउन अब फेरि सात दिन कुर्नुपर्ने भयो । त्यो भन्दा पनि अब पाँच हजार रुपैयाँ थप पनि तिर्नुपर्ने रहेछ’ रोकाया भन्नुहुन्छ, ‘होइन यो के दशा आइलाग्यो !’ 

राहदानी विभागले राहदानीका लागि सन्देश प्राप्त भएको दुई कार्यदिन लाग्छ भने पनि राहदानीका लागि लाम लागेका धेरैले सजिलै पाउन नसकेका गुनासो गरेका छन् । ‘मेसेज कुर्दा कुर्दै समय बित्छ । मेसेज आउँछ भनेर कुर्दाकुर्दै पन्ध्र दिन बितिसक्यो । मेसेज आएको छैन’ रौतहटका हजरत अन्सारी भन्नुहुन्छ, ‘छोडेर कुनै काममा लागौं मेसेज आउला कि फेरि के गर्ने भन्ने जस्तो लाग्छ । कुरौं कति कुर्ने ।’

त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पासपोर्टको लागि दिनहुँ यस्तै घुईंचो लाग्छ । विभागले छिट्टै समस्या समाधान हुन्छ भनेको महिना दिनभन्दा बढी भैसक्दासमेत अवस्था उस्तै छ ।

‘कोरियाका कारण भिड’ 

राहदानी विभागका प्रवक्ता शरदराज अरन अहिले विभागमा देखिएको भिड कोरियाको ईपीएस खुलेका कारण भएको बताउनुहुन्छ । ‘विभागले बोलाएको समयमा नआइ बिहानैदेखि मानिस आउने गरेका कारण भिड बढको हो’ अरन भन्नुहुन्छ, ‘तोकिएको समयमा मान्छे् आउने हो भने भिड हुँदैन । पाँच हजार मान्छे एकै पटक आएपछि त विभागमा पनि भिड हुन्छ । उभिने ठाउँ पनि हुँदैन ।’

इपीएसको म्याद अप्रिल ४ अर्थात आउँदो २१ गतेसम्म रहेकोमा भिड बढेको र त्यसपछि घट्ने उहाँ बताउनुहुन्छ । फारम भर्दा त्यसमा मिति तथा समय उल्लेख गरिएको हुने हुँदा तोकिएको समयमा मात्र विभागमा आएर काम गर्न सहज वातावरण बनाइ दिन पनि उहाँको आग्रह छ । 

‘धेरै जना तोकिएको समयमा नआइ बिहानैदेखि आएका कारण अहिले हामी बिहान सात बजेदेखि काम गरिरहेका छौँ’ उहाँको गुनासो छ, ‘दुई बजे बोलाएको मान्छे बिहान आउँछन् । पछि आउनुस भन्दा होइन आइसकियो अब यतै बस्छौँ भनेपछि हामीले पनि के गर्ने ।’

हाल विभागले दैनिक दुई हजार पासपोर्ट वितरण गरिरहेको छ । ‘अहिले जिल्लाबाट पूर्ण क्षमतामा पासपोर्ट वितरण भएको छैन’ अरन भन्नुहुन्छ, ‘जिल्लाहरुमा कुरा गर्दा जनशक्ति कम छ भन्छन् त्यसैले विभागमार्फत गृहमा पत्राचार गरेर जिल्लामा एक/एक जना भए पनि कम्प्युटर अपरेटर थप्न अनुरोध गरेका छौँ ।’

जिल्लाहरुमा एक एक हप्तामा पासपोर्ट पठाए पनि जनशक्तिको अभावमा त्यसको वितरण हुन सकेको छैन । हाल जिल्लाहरुमा दैनिक ३०/४० वटा मात्र पासपोर्ट वितरण भइरहेको छ । जिल्लाबाट कम राहदानी वितरण भएका कारण पनि विभागमा भिड बढेको प्रवक्ता अरनको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया