माओवादीले जितेकाे स्थानीय तहमा मात्रै राम्राे काम भएकाे छ : प्रचण्ड

 चैत १९, २०७८ शनिबार १६:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दाबी गर्नुभएको छ । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन, विकास र समृद्धिको एउटा मोडल नै स्थापित छ भनेर एउटा संसदीय समितिको रिर्पोटले देखाएको बताउनुभयो । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज शनिवार गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) का अध्यक्ष कृष्णकुमार राईलाई पार्टीमा स्वागत गर्दै उहाँले आफ्नो पार्टीले जित हासिल गरेको स्थानीय तहमा मात्रै राम्रो काम भएको तर अन्य सयौँ स्थानीय तहमा कामै नभएको जिकिर गर्नुभयो । 

अध्यक्ष दाहालले प्रदेश र सङ्घमा आफ्नो पार्टीको नेतृत्व नहुँदा सधैँ समस्या आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,  ‘अस्ति मात्रै एउटा संवैधानिक समितिले कहाँ–कहाँ राम्रो काम भयो भनेर स्थानीय पालिकाहरू हेर्दा पाँचमध्ये तीन वटा त माओवादी केन्द्रले जितेकोमा मात्रै भएकाे छ भनेर देखायाे । अरू सयौँ छन्, त्यहाँ चाहिँ राम्रो काम भएन भन्ने रिर्पोट आयो । ’

अध्यक्ष दाहालले परिवर्तनको नेतृत्व आफ्नो पार्टीले गर्ने तर त्यसलाई सम्हालेर देशको नेतृत्व गर्न नपाउँदा देशमा फेरि पनि परिवर्तन खतरामा पार्ने अवस्थामा आएको बताउनुभयो । उहाँले परिवर्तनको पक्षमा उभिएकै कारण भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो पार्टीलाई रोजेको भन्दै धन्यवाद दिनुभयो ।

अध्यक्ष दाहालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या आफूलाई राम्रोसँग थाहा भएको भन्दै समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने आश्वासन पनि दिनुभयो । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया