अहिले भ्यू टावर हाम्रो आवश्यकता होइन

 चैत २०, २०७८ आइतबार १३:३५:१५ | रामकृष्ण तिवारी
unn.prixa.net

संघीयतापछि तीन तहका सरकार बने  । तीन तहका सरकारले विकास निर्माणको काम पनि आफ्नो आफ्नो तह अनुसार नै अगाडि बढाए । यसरी विकास निर्माणका काम अगाडि बढाउने क्रममा विभिन्न भ्यू टावर र स्वागतद्वार बनाउने गरेको कुरा मिडियामा विभिन्न तस्विरहरुसँगै राखेर देखाइएको पनि पाइयो । तस्विरहरु हेर्दा ती विकास निर्माणका कामहरु हुन कि होइनन भनेर हामीले हेर्नुपर्ने छ । तलतिर कति विकास भए भनेर नदेखेर हेर्नका लागि अग्लो ठाउँमा भ्यू टावर बनाइएको हो कि ? यो व्यंग्यात्मक जस्तो पनि देखियो । जनतालाई फुर्सद छैन, गाउँ गाउँमा डुल्ने फुर्सद छैन त्यसैले सबैतिर गएर हेर्ने फुर्सद नभएका कारण रमाइलो, रमणीय, अग्लो ठाउँमा गएर दिन बिताउने र केन्द्रदेखि तलसम्म विकासको रुपमा लिएर भ्यू टावर बनाएको हो कि ! तर, जनताको आवश्यकता यो हो जस्तो लाग्दैन । 

भ्यू टावर पक्कै पनि आवश्यकता होइन । किनकि हामी पहाडमा हुर्केको मानिस । जीवन नै पहाडी छ । तराइबाट हरेक दुई÷तीन घण्टाको दूरीमा डाँडाहरु भ्यू टावरको रुपमा रहेका छन् । हामीले डाँडामा भ्यू टावर बनाउने नभइ पर्यटकीय हिसाबले अन्य ढंगले आकर्षक बनाउन सकिन्छ । यसले ल्याउने विकास र भ्यू टावरले ल्याउने विकासमा अन्तर छ । यो राज्यको नीति निर्माण तहमा बस्ने नेताहरुको सही निर्णय हो जस्तो लाग्दैन । 

विकसित देशमा कुनै पनि संरचना एक दुई वर्षको लागि नभएर लामो समयको लागि सोचेर बनाउँछन् । उनीहरु पहिले अनुसन्धान गर्छन् र अनुसन्धानबाट निस्कने निष्कर्षका आधारमा त्यसको असर के पर्छ भनेर अध्ययनपछि विकास सुरु हुन्छ । तर हामीकहाँ गाउँ शहरमा बाटो बिग्रिएको छ । बाटोमा ठूला खाल्डाहरु छन् । पानी पर्दा सडकमा पानी जमेर र ढलको प्वाल नटालिँदा सडकमै डुबेर मरिएला भन्ने अवस्था छ । 

घरको संरचना पनि एकै किसिमको छैन । आ–आफ्नै तरिकाले विकास भएको अवस्था छ । औद्योगिक क्षेत्र पनि निश्चित ठाउँमा नभएर छरिएर बसेका छन् । औद्योगिक क्षेत्रको धारणा पनि त्यही अनुसार छैन । त्यसैले यी विविध अवस्थामा हामी विकसित देशभन्दा धेरै पछाडि छौँ । हामी धेरै पछाडि भएकोले देशलाई नयाँ सोचका आधारमा कसरी अगाडि लिएर जाने, कसरी विकास गर्ने भन्ने दिशाबाट हामी अगाडि बढ्नुपर्ने हुन्छ । त्यसलाई क्रमशः विकासको क्रममा लिएर अगाडि गएको अवस्थामा कुनै एउटा ठाउँमा त्यसरी बनाउँदा अस्वभाविक नहोला । अहिले त डाँडोबाट हेर्दा खाल्डो पनि देखिँदैन र भताभुंग भएको हाम्रो संरचना पनि देखिँदैन । यसले त मानिसलाई अर्कैैतर्फ ध्यान पुर्याउन खोजिएको जस्तो पनि देखिन्छ । 

अन्त मोडिएको विकास 

हाम्रो विकास हाम्रो आवश्यक्तामा नभएर अन्तै मोडिएको जस्तो देखिन्छ भ्यू टावरले । जनमतले महसुस गरेको विकास नभएर नेता गणले आफू निर्णय गर्ने अधिकारी भएका नाताले र त्यहाँबाट के फाइदा हुन्छ भन्ने आधारमा यस्ता निर्णय आएका हुन भन्ने देखिन्छ । 

विकसित देशमा सबैतिर जाने फुर्सद नेताहरुलाई नभएको हुँदा दुई÷चार घण्टा त्यस्ता भ्यू टावरमा जाँदा त्यसको रमाइले पनि हुने र के भइरहेको छ भन्ने सामान्य गतिविधि देखिने कारणले भ्यू टावर चाहिएको हो । तर हामीकहाँ तराईका हरेक एक/दुई घण्टाको दूरीमा गएर पहाड चढ्ने हो भने तलतिरको समथर मैदान देखिन्छ । घरहरु देखिन्छ सबै दृष्य देखिन्छ त्यसकारण अहिले भ्यू टावर हाम्रो आवश्यकता होइन । 

अहिले सत्तासिन पार्टीहरुले भ्यू टावरको गतिविधि अगाडि बढाइरहेको देखिन्छ । यसमा जुन लगानी भइरहेको छ त्यो पूरा मात्रामा लगानी भन्दा पनि त्यो देखाउने एउटा र त्यसको लगानी अर्कोतर्फ तान्ने किसिमले पनि लगानी गर्न खोजिएको जस्तो देखिन्छ । 

भ्यू टावर बनेको छ, त्यसले पर्यटक तान्नमा सहयोगी पुगेको छ भने त्यसलाई वाधक भन्न त भएन । तर हालको प्राथमिकता भने त्यो होइन । अब जति पनि भ्यू टावरहरु बनेका छन् त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, त्यसलाई कृषिसँग जोड्ने, अन्य व्यवसायसँग जोड्ने, स्कूलसँग जोड्ने । त्यो भ्यू टावरलाई व्यावसायीक तथा पर्यटकीय रुपमा लिएर जानका लागि हामीले के के गर्ने तथा के के पू्र्वाधार बनायौँ भने त्यो राम्रो रुपमा हुनसक्ला । तर, नबनेको ठाउँमा अहिले बनाउन हतार नगरौं । किनकि पछि आउनेले यो भन्दा राम्रो सृजनात्मक कुरा ल्याउन सक्छन् । त्यो सृजनात्मक कुरा आउन सक्ने वातावरण हामी बचाएर राखिदिउँ न ।  

संरचनागत किसिमका कुरा गर्दा हामीले हतार गर्नु हुँदैन । दुई/चार वर्ष लामो अनुसन्धान गरेर त्यसको के प्रभाव पर्छ, हामीले बनाइरहेको संरचना दिगो रुपमा राख्न सक्छौँ कि सक्दैनौँ ? त्यसको नियमित मर्मत संभारको बजेट हामी उपलब्ध गराउन सक्छौँ कि सक्दैनौँ ? यस्ता धेरै परिसूचक तयार गरेर मात्र हामी विकास तथा निर्माणका कुरामा हामी लाग्नुपर्ने हुन्छ । 

सबैभन्दा पहिले स्थानीय निकायहरुले आफूलाई शासकीय स्वरुपमा बदल्ने, नागरिकको घरदैलोमा सुशासन कसरी पुर्याउने भन्ने कुरामा केन्द्रित हुनुपर्यो । स्थानीय तहमा गर्ने विकासको सूचकहरु बनाउनु पर्यो । खेलसँग, स्वास्थ्यसँग, मनोरञ्जनसँग जोड्ने, वृद्धवृद्धाहरुसँग जोड्ने गरी १८/२० वाटा सूचकहरु तयार गर्नुपर्यो । ती सबै सूचकहरु उक अर्कोसँग सम्बन्धित गर्ने कोशिश गर्दै दिगो बनाउनु पर्यो । ती सूचकहरुमा त्यहाँका दल र नागरिकको अपनत्व हुनुपर्यो । 

एउटा पार्टीले मैले बनाएँ भन्ने अर्कोले त्यसमा वास्ता नगर्ने तथा अर्को आउँदा अर्को सुरु गर्ने गर्दा विभिन्न विकास निर्माणमा भएको खर्चले दिगो रुप नलिने र छरपष्ट हुँदा विकास नहुने र नदेखिने दुवै हुन्छ । अहिले पनि कुना काप्चामा गएर हेर्ने हो भने अहिले पनि पार्टीगत बाटो भनिरहेको भेटिन्छ । एकपटक धादिङको सल्यानटारमा जाँदा एक जना सरले तपाईँ कहाँबाट आउनु भयो भनेर भन्नुभयो । पुल तरें धादिङबेसीबाट आएँ, पुल तरेर बाटो हेरेको त्यहीँ रहेछ त्यहीँ बाट आएँ भनेको उहाँले तपाईँ त माओवादीको बाटो आउनु भएछ भनेर भन्नुभयो । के हो यहाँ त पार्टी पिच्छेको बाटो छ कि के हो ? त्यसो भए एमाले, कांग्रेसको बाटो कहाँ छ भनेर सोधेँ । नौ महिनाको शासनकालमा माओवादीको पालामा यसले सबैभन्दा छोटो बाटो गरेर नघुमाई सिधै उकालेछ जुन सबैभन्दा छोटो बाटो रहेछ । एमालेको नौ महिने शासनकालमा उसले सल्यानटारको सबैभन्दा तल बुढीगण्डकीको खोला जाने पिंधबाट उठाएको रहेछ । कांग्रेसले आरसीसीको बाटो जुन पुरानो तथा हरेक गाउँलाई छोएर जाने बाटो हो बनाएको रहेछ । त्यो बाटोको अपनत्व उनीहरुले लिन खोज्दा रहेछन् । यसरी बनेको संरचनाले हाम्रो विकास बन्दैन । यदि हामीसँग प्रशस्त पैसा भएर त्यसरी अगाडि बढेको भए हुन्थ्यो । 

अहिले हरेक मान्छेले घर घरमा गाडी जाने बाटो खोज्ने भएको हुनाले त्यसो गर्न सकेको भए पनि हुन्थ्यो । तर, गाउँमा अहिले त्यति नजिकै पुग्नुपर्ने अवस्था देखिँदैन । त्यसैले यस्तो विकास विकास मानिँदैन । सबैको अपनत्व हुने र दिगो किसिमको विकासमा स्थानीय निकाय अगाडि बढे भने बल्ल काम लाग्छ र त्यो किसिमको नेतृत्वलाई अब आउने स्थानीय निकायका जनप्रतिनिधि छान्ने काममा त्यहाँका मतदाताहरु मानिस सक्रिय हुनुपर्छ भन्ने मलाइ लाग्छ । 

(त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख तिवारीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामकृष्ण तिवारी

तिवारी त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया