दलहरूले भने– ‘निर्वाचन आचारसंहिता पालना गर्छाैँ’

 चैत २२, २०७८ मंगलबार १४:५४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो । 

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । चुनाव आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानुन र संविधानअनुसार बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै त्यही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उहाँले जानकारी दिनुभयो ।  

बैठकको सुरुमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए । तर प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरू असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।

छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । आचारसंहिता अक्षरशः पालना गरिने उहाँकाे भनाइ छ । 
नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न तयार रहेको बताउनुभयो । 

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरूले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरूले गुनासो राखेको बताउनुभयो । चुनावकाे समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उहाँले बताउनुभयो । उहाँले दलहरूका बीचमा चुनावी गठबन्धन हुनु सिद्धान्त विपरीत र मतदाताको किनबेच जस्तो भएको टिप्पणी पनि गर्नुभयो ।

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको बताउनुभयो । आयोगले गर्ने छलफलहरूमा साना दलहरूलाई सहभागी नगराउने गरेको उहाँकाे गुनासाे छ ।

निर्वाचन आयोगले स्थानीय तह चुनावलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरूलाई प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया