इन्जा खोजी पत्रकारिता पुरस्कार बुढाथोकीलाई

 चैत २३, २०७८ बुधबार १३:४४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिने निर्णय गरेको छ ।

सन् २०२१ भरिमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरूमध्येबाट इञ्जाले पत्रकार बुढाथोकीलाई चयन गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभएको छ ।

पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरी नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्याङ्कन गर्दै इन्जाले इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२ दिने निर्णय गरेको इञ्जाद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाको राजधानी वाशिङ्टनमा मुख्यालय रहेको इञ्जा खोजी पत्रकारिता पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ । इञ्जाले खोजी पत्रकारिता पुरस्कारका साथै हरेक वर्ष एक हजार अमेरिकी डलर राशीको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ भने यस वर्षबाट इञ्जा पत्रकारिता बाैद्धिक पुरस्कारसमेत थप गर्न लागेको छ ।

विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका बुढाथोकीले न्युज कारोबार डटकम, टक्सार आर्थिक म्यागजिन, लुम्बिनी सञ्चार डटकम अनलाइनमार्फत १५ महिनाको अवधिमा ३५ भन्दा धेरै निरन्तर खोजी तथा फलोअप गरी नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व छली भएको विषयलाई सार्वजनिक सरोकारमा ल्याएका थिए ।

भारतीय उद्योगी नकुल कमानी र अधिराजकुमारी हेलेनको साझेदारीमा नेपालमा सन् १९७७ मा खुलेको बोटलर्स नेपाल लिमिटेडको स्वामित्व सन् १९९२, २००२, २००४, २०११ र २०१४ गरी पाँच पटक किनबेच भएको बुढाथोकीले टक्सार आर्थिक म्यागजिनमा सप्रमाण खोजी समाचारको रूपमा प्रकाशित गरेका छन् । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया