‘पहिला घर भएको ठाउँमा अहिले खोला बगेको टुलुटुलु हेर्न बाध्य छौँ’

 माघ १९, २०८१ शनिबार १२:३५:२ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – काभ्रेको विकट क्षेत्र डाँडापारि खानीखोला गाउँपालिका–६ चनौटे नयाँ बस्तीका ७ घरपरिवार चार महिनादेखि त्रिपालमुनि रहेका छन् ।

बाग्मती खोलाको बाढीले घरखेत बगाएपछि विस्थापित भएकाहरू बगरमा परिणत भएको घरखेत हेरेर बस्न बाध्य छन् । उनीहरू भन्छन्, ‘पहिला घर भएको ठाउँमा अहिले खोला बगेको टुलुटुलु हेर्न बाध्य छौँ ।’ आफूहरू लामो समयदेखि त्रिपालकै भरमा रहेको पीडित प्रकाश सिङतानले गुनासो गर्नुभयो ।

प्रकाशसँगै त्यहाँका सात घर परिवार लुइचे पाखामा त्रिपालको सहारामा बस्दै आएका छन् । गएको असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाग्मती खोलामा आएको बाढीले घरखेत सबै बगाएपछि उनीहरू विचल्लीमा परेका हुन् ।

भएको सबै सम्पत्ति बगाएपछि गाउँपालिका र सहयोगी संस्थाले दिएको खाद्यान्न र लत्ताकपडाको सहायतामा गुजारा चलाउनुपर्ने पीडितको बाध्यता छ ।

सरकारले अन्त व्यवस्थापन नगरिदिएसम्म त्यही बस्ने सिङतानले बताउनुभयो । त्रिपालले बेरेको बासस्थान अगाडि ढुङ्गा गाडेर बनाएको ओदानमा छोरीलाई नुहाउन पानी तताउँदै गरेकी सुकुमाया सिङतानको पीडा पनि कम छैन ।

भएको सबै अन्नपात र घर खेत बगाएपछि टहराको सहारा लिनुपरेको छ । उहाँले बाढी पहिरोबाट आफूहरू विस्थापित भएपछि निर्धक्क रूपमा बस्न र खाना लाउन समस्या भएको बताउनुभयो ।

बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । प्रकाश सिङतान, सुकुमायालगायत भक्तबहादुर सिङतान, बुद्धबहादुर, देवराज, साजन र विक्रम सिङतानका परिवार खुला आकाशमुनि त्रिपालको बासमा आश्रय लिइरहेका छन् । पहिला घर भएको ठाउँमा अहिले बाग्मती खोला बगिरहेको छ ।

गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले विस्थापित परिवारको अन्य ठाउँमा एक टुक्रा पनि जमिन नभएको कारण जग्गाजमिनको व्यवस्थापन गर्न सङ्घीय सरकारसँग आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया