चियाको चुस्कीसँगै देशको चिन्ता र नयाँ कामको योजना

 माघ १९, २०८१ शनिबार ७:५१:१४ | महेश ज्ञवाली
unn.prixa.net

शङ्खमुलको चिया पसलमा पाँच जना युवाहरु चिया पिउँदैछन् । ‘हाम्रो देशको राजनीति कहिल्यै नसुध्रिने भयो,’ चियाको कप हातमा लिँदै रुद्र ओझाले राजनीतिको कुरा निकाल्नुभयो । कैलालीको गोदावरी नगरपालिकाका रुद्र हाल स्नातक तह पढ्दै हुनु हुन्छ ।

सँगै बसेका अरु साथीहरुले रुद्रको कुरामा ध्यान दिए । ‘अस्थिर राजनीतिका कारण विकासमा देश पछि परिरहेको छ,’ एक जनाले थपे, ‘देश विकास नहुनुमा हाम्रा प्रतिनिधि राम्रा नहुनु नै मुख्य कारण हो ।’  ‘सबैले आफ्नो ठाउँबाट राम्रा प्रतिनिधि छान्नुपर्छ । काम गर्ने अब्बल क्षमता भएका प्रतिनिधिहरू आउनुपर्छ,’ अर्को साथीले भने ।

गफ गहिरिँदै गर्दा चियाका कपहरू लगभग आधा भइसकेका थिए । रुद्रले चियाको थप चुस्की लिँदै भन्नुभयो, ‘पहिलो कुरा, हामीलाई आत्मनिर्भर बन्न सिक्नुपर्छ । युवाहरूलाई स्वरोजगार र उद्यमशीलताको मार्गमा लगाउनुपर्छ । अनि अर्को कुरा, नेतृत्वलाई मात्र आलोचना गरेर हुँदैन । राम्रो नेतृत्वलाई सहयोग र समर्थन पनि गर्नुपर्छ ।’ ‘के हामी आफैँले योगदान दिन तयार छौँ त ?’ अर्को साथीले प्रश्न गरे, ‘हामीले त नेताहरूलाई मात्रै दोष लगाइरहेका छौँ । ’  रुद्रले हाँस्दै भन्नुभयो ,‘स–साना परिवर्तन नै ठूलो क्रान्तिको आधार हुन्छ । आजको यो गफ पनि कुनै दिन प्रेरणा बन्न सक्छ ।’

यसपटक सबै मुस्कुराए । चिया सकिएसँगै रुद्र र साथीहरुको गफ पनि सकियो । चिया र गफ सकेपछि रुद्रले भन्नुभयो, ‘चिया पिउँदै गर्दा यस्तै सिरियस गफ हुन्छ । शहरमा साथी भाइ भेट हुने ठाउँ कि क्याम्पस हो कि चिया पसल नै हो । र चिया पसलमा प्रायः ‘सरकारले के गर्‍यो ?’ देखि ‘देश कहिले सुध्रिन्छ ?’ सम्मका चिन्तन र बहस हुन्छ । ती गफ चियाको चुस्की सकिएसँगै सकिन्छ । ’

चियाको मिठाससँगै गफको गहिराइले पनि चियापसललाई विशेष बनाएको छ । कुलेश्वरकी संगीता तामाङका लागि चियापसल केवल समय काट्ने ठाउँ मात्र होइन, विचार साट्ने थलो पनि हो ।

उहाँ स्नातकोत्तर चौथो सेमेस्टरमा पढ्दै बागबजारको एक निजी कार्यालयमा काम गर्नु हुन्छ । दैनिकी निकै व्यस्त भए पनि चियाको बहानामा साथीहरूसँग गफ गर्ने समय निकाल्ने उहाँको पुरानो बानी हो ।

‘कहिलेकाहीँ क्याम्पसमा कक्षा छोडेर चमेना गृह पसिन्छ, चियाको घुट्कीसँगै गफ शुरु हुन्छ, अनि चिया सकिँदा कक्षा पनि सकिएको हुन्छ । कहिले घरबाट ‘साथी भेटेर आइहाल्छु’ भनेर निस्किएपछि चियाकै गफमा दुई–तीन घण्टा बितिसकेको पत्तो नै हुँदैन । कार्यालयबाट महत्त्वपूर्ण काम परेको भन्दै चाँडै निस्कने बहाना पनि कतिपय दिन साथीसँग चिया पिउनकै लागि हुन्छ’ संगीताले आफ्नो चियाप्रेमबारे खुलेर भन्नुभयो ।

थापाथलीको ‘चियादानी’मा भेटिनुभएकी संगीताले हाँस्दै भन्नु भयो, ‘केही दिनअघि त यहीँ बसेर आजैदेखि परीक्षाको तयारी शुरू गर्ने भनेर कसम खाएका थियौँ । समय तालिका बनाएर पढ्ने योजना बनाएका थियौँ, तर अहिले तयारी कहाँ पुग्यो, पुग्यो !’ ‘चिया पिउनका लागि बहाना चाहिन्छ, कहिले पढाइको, कहिले कामको’ संगीताले ठट्टा गर्दै भन्नु भयो, ‘तर अब चाहिँ गम्भीर हुनुपर्छ । टीयूको केही भर छैन, परीक्षाको रुटिन जुनसुकै बेला निकाल्न सक्छ ।’

चियाको चुस्कीमा भविष्यको योजना

चिया पसलमा ख्यालठट्टा र बहसको शृङ्खला कहिल्यै रोकिँदैन । विद्यार्थीहरूबीच परीक्षा र पढाइको गफ चल्छ भने जागिरेहरु चाहिँ कामको बोझ हल्का पार्न चियाको चुस्की लिन्छन् ।

कहिलेकाहीँ चियाको कपले गहिरा आत्मीय गफहरू जन्माउँछ । प्रेम, विवाह, पारिवारिक झमेला, यात्रा, अनि रमाइला यादहरू त्यहीँ बाँडिन्छन् । कहिलेकाहीँ भविष्यमा के गर्ने र कसरी सफल हुने भन्ने गम्भीर योजना पनि चियापसलमै बन्छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाकी पूजा दाहाल अहिले काठमाण्डौको गोठाटारमा बसेर स्नातकोत्तर तहमा अध्ययन गर्दै हुनुहुन्छ । पढाइसकेपछि आफ्नै व्यवसाय गर्ने उहाँको सोच छ । यसबारे योजना बनाउन उहाँ साथीहरूसँगै सिनामङ्गलको चियाघरमा पुग्नुभएको छ ।

पूजाले चियाको कप समाउँदै भन्नुभयो, ‘म होटल व्यवसाय गर्न चाहन्छु । काठमाण्डौमा धेरै होटेल खुलेका छन्, यो व्यावसाय राम्रो छ । मेरो चाहना पनि यस्तै होटल खोल्ने हो, खानेकुरा बेच्ने व्यावसाय कहिल्यै घाटामा जाँदैन ।’ ‘तर होटल खोल्न त ठूलो लगानी चाहिन्छ’ पूजाले कप टेबलमा राख्दै भन्नु भयो, ‘लगानी घरबाटै जुट्छ, पहिलो चरणमा सानो होटल खोल्ने सोच छ । होटलमा फास्ट फुडदेखि पारम्परिक नेपाली खानासम्म राख्ने हो । यहीँ योजना बनाएर अघि बढे सफलता पाइन्छ । केही दिनभित्र सबै योजना बनाइसक्छु ।’ केही समयअघि एउटा सोच मात्र भएको कुरा अब योजनामा परिणत भयो ।

पूजाको साथीले मुस्कुराउँदै भन्नु भयो, ‘तिमीले व्यवसाय शुरु गरेपछि पहिलो ग्राहक म नै हुन्छु ।’ पूजाले पनि हाँस्दै उत्तर दिनु भयो, ‘र म तिमीलाई छुट दिन्नँ है !’

चियाको कपमा संसारका गफ

चियापसलमा प्रायः दैनिक जीवनमा भइरहेका घटनाबारे कुरा हुन्छन् । बिहान काममा निस्कँदा वा बेलुकी अफिसबाट फर्किँदा ‘अनि के छ नयाँ खबर ?’ भन्ने सोधीखोजीसँगै दिनभरका गतिविधि साटासाट हुन्छन् । कतै महँगी बढेको चर्चा हुन्छ, कतै घरायसी जिम्मेवारीका कुरा उठ्छन् । विद्यार्थीका लागि परीक्षा नजिकिएको गफ त कर्मचारीका लागि कामको तनाव मुख्य विषय बन्छ ।

सरकारका नीतिदेखि विदेश नीतिसम्मका कुरा हुन्छन् । ‘यो सरकार टिक्छ कि ढल्छ?’, ‘देशको अर्थतन्त्र कहिले सुध्रिन्छ ?’ जस्ता विषयमा बहस गर्दै धेरैको समय बित्छ ।

खेलकुद प्रेमीहरूका लागि चियापसल दोस्रो स्टेडियम हो । नेपाली खेलाडीले फुटबल, क्रिकेट, भलिबल जस्ता खेलमा राम्रो प्रदर्शन गरेकोबारे चियापसलमा चर्चा हुन्छ । ‘यो वर्षको सुपरहिट फिल्म कुन होला ?’, ‘फलानो गायकको नयाँ गीत कस्तो लाग्यो ?’, कतिपय ठाउँमा यसैगरी चलचित्र र गीत–सङ्गीतसम्बन्धी गफ पनि चल्छ ।

चियाको कप समाउँदै कतिपय प्रेमिल जोडीहरु आफ्ना मनका कुरा साट्छन् । कतिले प्रेम प्रस्ताव राख्छन् भने कतिले बिछोडको पीडा पोख्छन् । साथीभाइबीच ‘तिमीले बिहे कैले गर्ने ?’, ‘फलानोको बिहे हुँदै छ रे’, जस्ता गफ पनि हुन्छ ।

पुराना साथीभाइ भेट हुँदा स्कुले जीवनका यादहरू ताजा गरिन्छ । ‘स्कुलमा के के हरकत गर्थ्यौ, याद छ?’ जस्ता गफ चल्दा नमीठा सम्झनाहरूसमेत मिठा लाग्छन् । कतिपय चियापसलहरु त मनमुटाव मिलाउने ठाउँसमेत बन्छन् ।

बानेश्वरको तन्दुरी चिया होलिक्समा चियाको चुस्की लिँदै गरेका रुकुम पूर्वको भूमे गाउँपालिकाका रविन पुन मगर पनि चियाको कपमा संसार अट्ने विश्वास राख्नु हुन्छ । ‘खेतीपातीदेखि राजनीति, प्रेमदेखि भविष्य निर्माणसम्मका अनेकौँ गफहरू चियाको कपसँगै उम्लन्छन्, धमिलिन्छन्, अनि केही त यथार्थमा पनि परिणत हुन्छन्’ उहाँले सुनाउनुभयो ।

‘नयाँ काम र योजना बनाउनको लागि पनि एकछिन बसेर चिया पिउँ न भन्ने चलन छँदैछ । चियापसलमा हुने कतिपय गफहरू मिठा र मनमोहक हुन्छन्, गुलियो र बाक्लो दूध भएको चियाजस्तै’ रविनले गम्भीर हुँदै भन्नु भयो, ‘केही गफहरू फिक्का र नीरस हुन्छन्, चिनी नलागेको र कम दूध भएको चियाजस्तै । अनि, कतिपय गफ त अमिलो र टर्रो पनि हुन सक्छन्, कागती निचोरेको र चियापत्ति धेरै भएको चियाजस्तै ।’

यसरी चियापसलहरू केवल चिया पिउने ठाउँ मात्र होइन, देश दुनियाँका बहसदेखि नयाँ कामका योजना र जीवनका तीतामिठा अनुभव पोख्ने थलो बनेका छन् । 

यो पनि पढ्नुहोस् :

थर्मसमा चिया बेच्ने व्यवसाय : थोरै लगानीमा मनग्य आम्दानी

कमाइ गर्ने ठाउँ र जीवन बुझ्ने पाठशाला पनि हो चियापसल

अनौठा नाम र फरक शैलीका चियापसल

 

 

 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

महेश ज्ञवाली

महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया