प्रमुख पार्टीहरूले पटक–पटक माैका पाउँदा पनि सम्झनलायक काम गर्न सकेनन् : लिङ्देन

 चैत २५, २०७८ शुक्रबार १८:२०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे चुनावमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बरबाद बनाउनु भएको जिकिर गर्नुभएकाे छ । आज शुक्रवार राप्रपाले काठमाण्डाैमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आउँदाे पालिका चुनावमा देशका प्रमुख पार्टीहरू कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताउनुभएको हो ।

प्रमुख पार्टीहरूले पटक–पटक मौका पाउँदा पनि नागरिकले सम्झने गरी केही काम गर्न नसकेको भन्दै उहाँले भन्नुभयाे, ‘हामीलाई अब समय छैन । हामीलाई पर्खने समय छैन । कुनै पनि पार्टी, कुनै पनि नेताले पटक–पटक मौका पाउँदा पनि जनताले सम्झने गरी एउटा कुरा छोडेर जान सक्दैन । जनतामा आशा जगाउँदैन भने त्यसैलाई फेरि साथ दिइराख्नु भनेको त्यो गल्ती काममा आफू पनि सहभागी हुनु हो । देश बिगार्ने काममा आफू पनि सहभागी हुनु हो । म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहन्नँ । तपाईँहरूलाई बुझाउनका लागि मात्रै ती पार्टीहरूको नाम लिन चाहन्छु । अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका नेतालाई कति पटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बरबाद गर्ने काममा सहभागी हुनु हो । यत्रो मौका पाउँदा देखाएनन्, अब फेरि देखाउँछन् कि भन्ने भुल गर्नुहुँदैन ।’

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको सिकार भएको बताउनुभयो । उहाँले २०४६ सालपछिको देश पूर्णरूपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘२०४६ को राजनीतिक परिवर्तनपछि निरन्तररूपमा यो देश केही सीमित राजनीतिक दल र तिनका पनि केही सीमित नेताको मुठीमा कैद भएको छ ।’

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरू र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरूको घरमा थन्किएको आरोप लगाउनुभयो । उहाँले नागरिकलाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर उनीहरूले शासन गरिएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले चुनाव जितेमा कक्षा १२ सम्मको अध्ययनलाई पूर्णरूपमा निःशुल्क बनाउने र भ्रष्टाचारमुक्त नेपाल बनाउने पनि दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया