कोइला खानीका कामदार : कालो कपडा, कालै जुत्ता !

 चैत २६, २०७८ शनिबार १५:११:२६ | हेमराज शर्मा

दाङ – टाउकोमा कालो फेटा, त्यही फेटामाथि उज्यालोका लागि राखिएको टर्च लाइट । कालो भेष्ट, कालो प्लाष्टिकको जुत्ता र कालै भएका पुराना कपडा । अनि कोइलाको कालोले रंगीएको ज्यान । काेइला खानीमा भक्तबहादुर घर्तिका २४ वर्ष बितिसके । सानैदेखि काेइला खानीमा काम गर्न थाल्नु भएका भक्तबहादुरका धेरै बसन्त यही कालो माटोसँग पैठेजोरी खेल्दमै गुज्रेका छन । 
आफू मात्रै नभएर उहाँका तीन बाउछोराले एउटै खानीमा काम गर्नुहुन्छ । तीन जनाले काम गर्दा दैनिक कम्तिमा एक हजार आठ सय र बढीमा दुई हजार सात सयसम्म कमाइ पनि हुन्छ । 
“दैनिक एक जनाको छ सय हार्दैन”, भक्तबहादुरले भन्नुभयो “राम्ररी कोइला निकाल्न पाइयो भने दैनिक एक जनाको नौ सयसम्म कमाइ हुन्छ ।” 

खानीमा काम गर्दा निकै डर पनि लाग्छ । भक्तबहादुरले कामको अनुभव सुनाउदै भन्नुभयो, “भित्र त अप्ठेरो छ, कहीँ बाँ गरेर जाने, कहीँ उभिएर खन्ने हो, भारी बोकेर गुम गरेर हिँड्ने हो, सुरुङभित्र पसेको बेला पहिरो जान्छ कि भनेर टिकासो लगाएर काम गर्ने हो ।”

भक्तबहादुर मात्रै होइन घोराही उपमहानगरपालिका वडा नं १९ गलेनाका रामबहादुर पुनका पनि १५ वर्ष काेइला खानीमा काम गर्दागर्दै बिते । उमेर १५ वर्ष हुँदा उहाँले काेइला खानीको काम गर्न थाल्नुभएको थियो । घरको स्थिति पनि कमजोर थियो । घरको अप्ठेरो काट्न काम शुरु गर्नुभएका रामबहादुरले दैनिक हजार, बाह्र सय रुपैयाँसम्म कमाउनुहुन्छ । भित्र सुरुङमा पहिलापहिला मैनबत्ति बालेर काम गर्नुहुन्थ्यो, अहिले जेनेरेटरको व्यवस्था भएपछि सजिलो भएको रामबहादुरको भनाइ छ । 

भक्तबहादुर र रामबहादुर त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै एउटा खानीमा ३० देखि ४० जनाले कोइला निकाल्ने र करिब ४० जनाले कोइला बोक्ने काम गरिरहेका छन् । दाङको पहाडी भेगका १२ स्थानमा काेइला खानी छन् । पाँच वटा कम्पनीले कोइला उत्खनन  गरिरहेका छन् भने वार्षिक पाँच हजार मेट्रिक टन कोइला उत्पादन हुने गरेको छ । 

घोराही उपमहानगरपालिकाको वडा नम्बर १९ र बँगलाचुली गाउँपालिकाको पहाडी क्षेत्रका राम्चे, तोस, बोक्सिनीभीर, ठाडा, ज्यामुरे, भुल्के लगायतका खानीबाट तीन दशकदेखि अत्यन्त जोखिमकाबीच कोइला उत्खनन् हुने गरेको छ । बिहान उठेर काेइला खानीमा जानु, सुरुङ भित्र पसेर कोइला खन्नु, बाहिर निकाल्नु अनि ढुवानी गर्ने स्थानसम्म बोक्नु दाङका पहाडी क्षेत्रका बासिन्दाको घर नजिकको रोजगारी हो । चट्टानै चट्टानको पहाड खनेर सुरुङ बनाउदै भित्र जानु र गर्भमा रहेको कोइला निकाल्नु निकै जोखिमपूर्ण भए पनि स्थानीयको जीवन गुजार्ने बाध्यता पनि बनेको छ ।

कोइला खानीमा काम गर्न अनुभवी कामदार चाहिन्छ । जो कसैले सुरुङ भित्र गएर कोइला निकाल्न सक्दैनन् । अदक्ष कामदार अन्य जिल्ला वा खाडी देश जान्छन् । श्रम गर्न सक्ने र अनुभवी यहीँको खानीमा काम गर्छन् । सुरुङभित्र पसेर कोइला निकाल्नु चानचुने कुरा होइन । कैयौँले त्यही सुरुङ भित्रै च्यापिएर ज्यान पनि गुमाएका छन् । सजिलो गरि बस्न समेत नमिल्ने २५ देखि १ सय ८० मिटर सम्मको लम्बाइ भएको कोइला खानीको सुरुङभित्र गैंती, बेल्चा, हम्मर, छिना, बरिया र बोरासँगै पैठेजारी खेल्न कति कठिनाइ हुन्छ भन्ने भोग्नेलाई मात्र थाह छ । त्यतिकै जोखिम र कष्टकर छ सुरुङभित्र जम्मा भएको कोइला बाहिर निकाल्न पनि । 

सुरुङभित्रको त्यो कालो संसार अरुको भन्दा बेग्लै छ । सिधा उभिन पनि नमिल्ने सुरुङवाट कुप्रो पर्दै कोइलाको भारी बोकेर बाहिर निस्कन पनि कम्ता दुःख छैन । खानी भित्रको सुरुङबाट निकालिएको कोइला साँघुरो र भिरालो बाटो हुँदै बोकेर ढुवानी स्थलसम्म पुर्‍याउन पनि उत्तिकै जोखिम छ ।

खानीमा १ क्विन्टल कोइला निकाल्दा १ सय ४० रुपैयाँ पाइन्छ । बोक्नेले प्रति क्विन्टलको ७० रुपैयाँ पाउँछन् । एक दिनमा एक जनाले ८ देखि १० क्विन्टलसम्म कोइला निकाल्ने गरेका छन् । खानी सञ्चालकले मजदुरको सुरक्षाको लागि सामान्य व्यवस्था बाहेक १० लाख रुपैंयाको बिमा गरिदिएका छन् । 

कात्तिक महिनादेखि कोइला खानीको काम शुरु हुन्छ र असारसम्म चल्छ । वर्षातमा भने काेइला खानीको काम रोकिन्छ । एउटा खानीमा सुरुङ खन्ने, सुरुङ भित्रबाट कोइला निकाल्ने र बाहिर निकालेको कोइला ढुवानी स्थलसम्म पुर्‍याउने काममा विभिन्न स्तरका कामदार खटिन्छन् । जोखिम सबैलाई उत्तिकै छ । 

दाङका सबै काेइला खानी निजी जग्गामा रहेकाले त्यसको जोखिम व्यवस्थापन पनि सम्बन्धित काेइला खानी सञ्चालकले गर्नुपर्ने कानुनी बाध्यता छ । खानी विभागले सरकारी जग्गाको व्यवस्थापन गर्ने र नीजी जग्गाको हकमा रहेका खानीको व्यवस्थापन नीजी कम्पनीले नै गर्दै आइरहेका छन् । सरकारी जग्गामा रहेका खानीहरुको खानी विभाग आफैले र जिल्ला तहमा आवश्यक निगरानी डिभिजन कार्यालयले गर्ने कानुनी व्यवस्था भए पनि दाङका सबै खानी नीजी जग्गाका रहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया