आर्थिक उन्नतिको पाठ सिकाउने लमजुङको घलेगाउँ !

 बैशाख १, २०७९ बिहिबार १२:३१:२१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - २०४० को दशकसम्म दुर्गम, पिछडिएको र गरिब गाउँको रुपमा चिनिन्थ्यो, लमजुङको घलेगाउँ । गाउँमा होमस्टे सञ्चालन भएसँगै अहिले यहाँका नागरिकको जीवनस्तर उकासिएको छ । घलेगाउँका कोही होमस्टे सञ्चालनमा जुटेका छन् त कोही कृषिजन्य उत्पादनमा होमिएका छन् ।

त्यसो त ग्रामीण पर्यटनको विकासबाट घलेगाउँलाई आत्मनिर्भर बनाउन २०५७ वैशाख २३ गते प्रथम घलेगाउँ महोत्सवको आयोजना गरी १२ वटा घरबाट घरबास (होमस्टे) सुरुवात गरिएको हो ।

घलेगाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन पहिलो पटक २०५८ वैशाखमा घलेगाउँ कला महोत्सवको आयोजना गरिएको थियो ।

२०६४ फागुनमा दक्षिण एसियाकै नमूना गाउँ (सार्क भिलेज)का साथै २०७६ साल मंसिर १७ गते स्मार्ट भिलेज घोषणा गरिएको थियो । घलेगाउँलाई होमस्टेलाई गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रुपमा पुरस्कृत गरिसकेको छ ।

घलेगाउँमा सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवा पुगिसकेको छ । वैदेशिक रोजगारमा जानेको सङ्ख्या घट्दो छ । विगतमा बसाइँसराइ गर्नेहरु गाउँ फर्कन थालेका छन् ।

एक सय ३५ घरधुरी रहेको घलेगाउँमा ४२ घरधुरीले होमस्टे चलाएका छन् । होमस्टे सञ्चालन नगरेका स्थानीयले ग्रामीण पर्यटनलाई लक्षित गरी अन्य व्यापार, व्यवसाय तथा कृषि पेसा सञ्चालन गरेका छन् ।

स्थानीयले भेडाको ऊन, निगालोका साथै अल्लोबाट हस्तकलाका सामग्री उत्पादन गरी आय–आर्जन बढाएका छन् । अन्य परम्परागत पेसा, व्यवसायको पनि जगेर्ना गरिएको छ।

‘यहाँका कतिपय स्थानीय होमस्टे सञ्चालनमा जुटेका छन् । कतिपय कृषिजन्य उत्पादनका क्षेत्रमा जुटेका छन् । यसैबाट आर्थिक स्थिति माथि उकासिएको छ,’ घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । घलेगाउँले आर्थिक उन्नतिको पाठ सिकाएको छ । सन्देश दिएको छ' घलेले भन्नुभयाे । 

‘जीवन निर्वाहका लागि विदेश जाने प्रवृत्ति छ । काम, मेहनत गरेमा उत्पादन गरेमा पैसा यहीँ छ । यहीँ आर्जन गरी जीवन चलाउन सकिन्छ भन्ने आर्थिक उन्नतिको सन्देश दिएको छ, घलेगाउँले,’ उहाँले भन्नुभयो ।

विगतमा ठूलठूला होटल, साहुमहाजनको पहुँचमा रहेका पर्यटकहरु पछिल्लो समय ग्रामीण पर्यटनमा तानिएको पनि उहाँले उल्लेख गर्नुभयो । ‘विगतमा पर्यटकहरु साहुमहाजनको पहुँचमा थिए। ठूलाठूला होटलमा सीमित प्राय: थिए । ग्रामीण पर्यटनको अभियान सुरुवात भएसँगै गाउँगाउँमा पुर्यटक पुग्न थालेका छन् । नागरिकको आर्थिक स्थिति उकासिँदै छ,’ घलेले भन्नुभयो ।

पर्यटक आगमनले यहाँको दीगो आर्थिक एवम् सामाजिक विकासमा टेवा पुर्याउनुका साथै प्राचीन सभ्यता र संस्कृति संरक्षणमा थप मद्दत पुगेको छ । गाउँमा प्राचीन इतिहास झल्काउने सङ्ग्रहालयको निर्माण गरिएको छ ।

यहाँका बासिन्दाहरु पर्यावरणसँगै परम्परागत संस्कार, संकृति जगेर्नामा लागि परेका छन् । गाउँमा सामुदायिक चिया बगान र प्राचीन शभ्यताको झल्को दिने सामुदायिक भेडीगोठ पनि सञ्चालनमा छन् ।

‘यिनै कुराहरुले घलेगाउँलाई जीवन्तता दिएको छ । यसैको अध्ययन अवलोकन बर्सेनि चालिस हजारभन्दा बढी पर्यटकहरु घलेगाउँ आउने गरेका छन्,’ उहाँले थप्नुभयो ।

पर्यटक आगमनको वृद्धिले यहाँको ग्रामीण जीनवस्तर माथि उठ्नुका साथै पर्यावरण र संस्कृतिको जगेर्ना भएकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको क्होँलासोथर गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका घलेले बताउनुभयो ।

उहाँका अनुसार गाउँमा आउने पर्यटकलाई लक्षित गरी हस्तकलाको सामान उत्पादनमा जोड दिइएको छ । ‘अर्गानिक’ कृषि कर्मतिर गाउँलेहरु आकर्षित छन् । स्थानीय व्यस्त हुनुका साथै  समयको सदुपयोग भएको र यसले नागरिकलाई स्वस्थ्य र आत्मानिर्भर बनाएको उहाँले बताउनुभयो ।

‘त्यसैले यहाँको ग्रामीण पर्यटन विकासमा सफलता मिलेको छ । आफ्नो श्रम, पेसा वा व्यवसाय प्रतिको सम्मान र कामको अन्तर सम्बन्धले घलेगाउँलाई सुखी गाउँको गन्तव्यमा पुर्याएको हो,’ उहाँले थप्नुभयो ।   

घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरिँदै

यसैगरी, लमजुङको क्होँलासोथर गाउँपालिका–३ मा पर्ने प्रसिद्ध पर्यटकीय गाउँ घलेगाउँलाई सुखी गाउँ घोषणा गरिने भएको छ ।

आउँदो वैशाख २ गते नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा घलेगाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको हो ।

गाउँमा सुशासन कायम, पर्यटकलाई आवश्यक विभिन्न भौतिक सुविधाको उपलब्धता, स्थानीयमा आत्मनिर्भरता, गाउँमा प्रकृति र संस्कृतिको संरक्षण लगायतका विभिन्न मापदण्ड पुगेसँगै घलेगाउँलाई नेपालकै पहिलो ‘सुखी गाउँ’को रुपमा घोषणा गर्न लागिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँ, लमजुङका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो ।

‘ग्रामीण पर्यटनको माध्यमबाट घलेगाउँका बासिन्दाले आफूले काम गरेर, आफ्नै श्रम–पसिना बगाएर जीविकोपार्जन गरेका छन् । पर्यटन व्यवसायबाटै स्थानीयले आत्म सन्तोषको अनुभूति गरेका छन्,’ उहाँले भन्नुभयो, ‘हामी सुखी छौँ । त्यसैले घलेगाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको हो ।’

अन्तिम अपडेट: चैत १४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया