मेराे प्रभाव बढ्दै गएपछि तत्कालीन नेकपा फुटाउने षड्यन्त्र भयाे : प्रचण्ड

 बैशाख १, २०७९ बिहिबार १३:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ । 

आज बिहीवार ललितपुरमा आयोजित पार्टीकाे 'माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रम' मा बोल्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएकाे बताउनुभयाे । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । अब तत्काल भूमिगतमा जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन भनेर हामीले एमालेसँग एकता गरेका थियाैँ । त्यो एकता कति बेला दुर्घटनामा पर्‍याे भने– जति बेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओवादी जनयुद्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र, समुदायले जागरण ल्याएको हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेको पनि अत्यधिक ठूलो सङ्ख्याले अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो र त्यसपछि षड्यन्त्र सुरु भयो । आजकाल तपाईँहरूले सुन्नुभएको होला, एमालेका केही नेताहरू भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि भन्छन् ।’

अध्यक्ष प्रचण्डले अझै पनि नेकपा एमालेमा रहेका धेरैजसाे नेताहरू समाजवादी क्रान्तिका लागि इमानदार कम्युनिस्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताउनुभयो । उहाँले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरूलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्त्वले माओवादीको उपलब्धिलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाउनुभयो । उहाँले माओवादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओवादी एकत्रित भएर लड्नुपर्ने बेला आएको छ भन्नुभयाे । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘प्रतिक्रियावादीहरूले देशभित्रका र देशबाहिरका सबैले माओवादीलाई क्षतविक्षत पार्ने, माओवादीका मुद्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओवादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने षड्यन्त्र गरिरहेका छन्, त्यो षड्यन्त्रलाई परास्त गर्नु माओवादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदै छ । देश र जनताका निम्ति समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको सङ्घीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरू माओवादी आन्दोलनले स्थापित गरेका मुद्दा हुन् । अरू कुनै पार्टी र विचारबाट यो भएको होइन । माओवादी कमजोर हुनेबित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदोरहेछ भन्ने कुरा गएकाे वर्ष देखी नै हाल्यौँ । अझै पनि त्यो खतरा टरेको छैन । अहिले पनि माओवादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेन्डाहरूलाई, मूल्य–मान्यताहरूलाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र रोकिएको छैन । अब एक पटक फेरि क्रान्ति प्रक्रियालाई वैज्ञानिक समाजवादतिरको यात्रालाई माओवादीहरूकै सक्रियतामा अघि बढाउने बलियो आधार निर्माण हुँदैछ ।’

अध्यक्ष दाहालले सबै माओवादीहरू एकताबद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियावादीहरूलाई परास्त गर्न सकिने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया