साउदीमा नेपालीका दुःख : रोजगारदाताको यातनाबाट बच्न खोज्दा जेलको बासदेखि ‘डिपोर्ट’सम्म

 बैशाख २, २०७९ शुक्रबार १६:१२:४० | बेदानन्द जाेशी
unn.prixa.net

हात खुट्टामा हतकडी । अनुहारमा कालो कपडा । चारैतिर प्रहरीको घेरा । मानौँ, निकै खुंखार अपराधी हुन् जस्तो । रोजगारीको लागि साउदी गएका २६ जना नेपालीलाई त्यहाँको सरकारले गएको चैत ९ गते देशनिकाला (डिपोर्ट) गर्दा रियाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुको हुलिया यस्तै थियो । 

केही कमाएर परिवारलाई खुसी दिन्छु भनेर वैदेशिक रोजगारीमा साउदी गएकाहरु अपराधीको ट्याग लागेर डिपोर्ट भए । खासमा उनीहरुले न कसैको ज्यान लिएका थिए, न त चोरी नै गरेका थिए । उनीहरुको गल्ती थियो त रोजगारदाताको यातनाबाट बच्न भागेर बस्नु । आफ्नो ज्यान जोगाउन लुकेर काम गर्नु । साउदीमा यसरी रोजगारदाताको यातनाबाट बच्न भागेर काम गर्ने नेपाली धेरै छन् । उनीहरु नै प्रहरीको आँखा छलेर काम गर्दागर्दै एक न एक दिन यसरी नै समातिन्छन् र जेल जीवन बिताउँछन् । कि त डिपोर्ट भएर घर फर्किन्छन् ।

‘भाग्यले साथ दिएर नेपाल फर्किन सकियो, मलाई त बाँचिन्न होला जस्तो लागेको थियो’, त्यही दिन डिपोर्ट भएर फर्किनुभएका दैलेखका निर्मल केसीले भन्नुभयो, ‘यहाँको विमानस्थलमा पुगेर बल्ल लामो सास फेरेँ, आफू सुरक्षित भएको महसुस गरेँ ।’

डिपोर्ट भएर नेपाल फर्केकै दिन न्यायको लागि वैदेशिक रोजगार विभाग पुग्नुभएको थियो निर्मल । चैत १० गते उहाँ त्रिभुवन विमानस्थलबाट सिधै वैदेशिक रोजगार विभाग आउनुभयो । नेपालबाट पठाउनेबेला भनेअनुसारको काम साउदीमा नपाउँदा र आफूलाई समस्या परेको छ भनेर म्यानपावर र एजेण्टसँग उद्धारको लागि लाख विन्ति गर्दा पनि कसैले कुरा नसुनेको भन्दै उहाँ उजुरी दिन विभाग आउनुभएको हो ।

साउदीको यात्रा

कतारमा ६ वर्ष बसेर नेपाल फर्केको पनि पाँच वर्ष पूरा भइसकेको थियो । एक पटक विदेशमा कमाएर ल्याएको पैसा सकिएसँगै घरखर्च चलाउन समस्या हुन थालेपछि फेरि निर्मलले विदेश जाने सुर कस्नुभयो । त्यही क्रममा एकजना प्रेम रसाइली भन्ने व्यक्तिले साउदीमा राम्रो रोजगारीको अवसर भएको भन्दै निर्मललाई प्रलोभनमा पारेर ललितपुरको कुपण्डोलमा रहेको कपिल म्यानपावरमा पुर्याए । त्यही म्यानपावरमार्फत दुई वर्ष पहिले सन्, २०२० को जनवरी २८ तारिखमा निर्मल साउदी जानुभयो । 

नेपालबाट पठाउँदा एमाकम कम्पनीको काममा भनेर पठाएको थियो । तर त्यहाँ पुगेपछि निर्मललाई थाहा भयो, साउदीमा त त्यो नामको कम्पनी नै छैन । त्यहाँ पनि उहाँ जुबेल सहरमा एक एजेण्टको हातमा पर्नुभयो । निर्मललाई एजेण्टको नाम याद छैन । त्यो एजेण्टसँग नेपालबाट तीनचार महिनाको अन्तरालमा गएका एक सय पचास जना नेपाली  कामदार थिए । 

एजेण्टको यातना

एजेण्टले काम गर्नको लागि ग्यास कम्पनीहरुमा भाडाका कामदारको रुपमा पठाउँथ्यो । सबैलाई तलब नदिने, कठोर यातना दिने गथ्र्यो । गुण्डाहरु ल्याएर राति राति आउने, अरबी भाषामा लेखेको कागजातमा सिग्नेचर गर्न लगाउने, औँठाछाप गर्न लगाउनेसम्म गर्यो । अरबी भाषा नबुझ्ने उहाँले भनेको ठाउँमा सिग्नेचर गर्नुभयो ।

सुरुको तीन महिनाको तलब रोकेर राखेको थियो सबैको । घर जानेबेला त्यो रोकेर राखेको पैसा दिने भनेको थियो । तर चार महिना बित्दासम्म पनि तलब दिएन । धेरैपटक भनेपछि बल्ल पाँच सय रियाल हातमा थमायो । महिनाको तलब १३ सय रियालको सम्झौता गरेर नेपालबाट पठाएको थियो । तर चार महिना काम गरेपछि पाँचसय मात्र बुझ्दा यति थोरै पैसा किन भनेर सोध्नै पाउनुभएन निर्मलले, कम्पनीका मान्छेले हातपात गर्न थाले । तलब दिनुपर्यो भनेर कसैले आवाज उठाउँदा समेत एजेण्टको कुटाइ खानुपथ्र्यो । निर्मलले पनि कुटाइ खानुभयो । त्यसपछि त्यहाँ रहेका सबै नेपाली कामदार एकजुट भए । सबैले अब काम छोड्ने भनेर नेपाल फर्काइमाग्नको लागि आ आफ्ना म्यानपावरलाई फोन गरे । तर म्यानपारले पनि पैसा दिहाल्छ अहिल्यै काम बन्द नगर्नु भने । यस्तो पीडाको बेला पनि दूतावासमा सम्पर्क गर्न सक्नुभएन । साथमा कसैसँग पनि मोबाइल थिएन । मोबाइल भए पनि सिमकार्ड थिएन । सिमकार्ड किन्नको लागि पैसा थिएन । उहाँहरु बसेको ठाउँबाट दूतावास पुग्नै बसमा ६ घण्टा लाग्थो । यसरी सात महिना बिते ।

निर्मलले ७ महिनामा जम्मा ११ सय रियाल मात्र पाउनुभयो । कसैले त एक पैसा पनि पाएनन् । कसैले दुई हजार रियालसम्म पाए । यति काम गर्दा पनि किन तलब नदिएको भनेर बोल्दा गुण्डाहरु ल्याएर त्यो एजेण्टले दुई जना नेपालीको हात भाँचिदियो । कोठाभित्रै थुनेर कुट्न थाले । त्यसपछि ज्यान त बचाउनुपर्यो भनेर एजेण्टको विरुद्ध बोल्नै छाडे र सबैजना मिलेर प्रहरीकोमा जाने सल्लाह बनाए । एक दिन आठदश जना लुकेर प्रहरीकोमा गए । यतिका महिना काम गराएर तलब नदिएको भनेर उजुरी गरे । जब प्रहरीले छानबिन थाल्यो तब त्यो एजेण्टले प्रत्येक महिनाको तलब दिएको कागज देखायो । अरबी भाषामा लेखेको त्यो कागज त्यही थियो जसमा निर्मल लगायत सबैलाई प्रत्येक महिना सिग्नेचर र औँठाछाप गर्न लगाएको थियो । सबैले डरैडरमा र भाषा पनि नबुझेपछि सरासर साइन गरेका थिए । के कागज हो भनेर सोध्दा ‘तिमीहरुलाई काममा पठाउन खोजेको कम्पनीको डिमाण्ड लेटर हो’ भनेर भन्ने गर्थे एजेण्टले । 

‘तलब नै नदिएर प्रत्येक महिनाको तलब दिएको कागजमा साइन गर्न लगाएको बल्ल थाहा भयो । प्रहरीले पनि उल्टै हामीलाई नै दोषी देखाउन थाले’, निर्मलले भन्नुभयो, ‘अब प्रमाण पनि उसैसँग भएपछि आफूले बोलेको कसैले विश्वास गर्दैनन् भन्ने भयो । त्यसपछि हामीले  मारे पनि मारोस् भनेर कामै नगरि बस्यौँ ।’

काम नगर्ने भनेर बसेका उहाँलगायत सात जनालाई अपहरण गरेर एजेण्टले अलासा भन्ने क्षेत्रको मरुभूमिको बीचमा उटको बथानमा लिएर छाड्यो । त्यहाँ तीन दिनसम्म राखेर यातना दियो, कुटपिट गर्यो । उटलाई खुवाउने दाना, लिटो दियो । त्यतिबेला त्यो खान त परै जाओस् मुखभित्र समेत लिन नसकेको निर्मल बताउनुहुन्छ । त्यो यातना सहन नसकेर निर्मलसहित सातै जना त्यहाँबाट भाग्न लाग्दा एजेण्टले भेट्टायो । फेरि हातपात गर्न थाले एजेण्टका गुण्डाहरुले । निर्मलले पनि यसरी यातना दिनुभन्दा मेरो गला रेटेर मारिदे भन्नुभयो । एजेण्टले ढुृंगा समातेर निर्मलको निधारमा हान्यो । 

उहाँले आफ्नो निधारको खत देखाउँदै भन्नुभयो, ‘त्यसपछि म भुइँमा ढलेर बेहोस भएँ, बेहोसी अवस्थामै उटको बाथानमै छोडेर एजेण्ट घर गयो ।’ त्यसपछि फेरि त्यहाँबाट भाग्नुभयो । रातभरि हिँडेपछि एक हाइवे भेटियो । यूएईबाट कन्टेनर बोकेर आइरहेको ट्रकलाई रोकेर ट्रक ड्राइभरसँग हात जोड्दै उहाँले लिफ्ट माग्नुभयो । त्यहाँबाट फेरि पाँच घण्टा ट्रकमा हिँडेपछि अर्को सहर जेद्धा पुग्नुभयो । त्यहाँ पुग्नसम्म साथमा एक पैसा थिएन । भोकले शरीर लुलो भइसकेको थियो । त्यहाँ एक जना नेपालीलाई भेटाउनुभयो, जो म्याग्दीका हुनुहुन्थ्यो । उनीमार्फत नै त्यही सहरको एक कम्पनीमा अवैधानिक भएरै काम गर्न सुरु गर्नुभयो । 

अवैधानिक भएर बस्दा

एजेण्टले निर्मल लगायत ७ जनालाई जुबेलबाट अलासा पुर्यायो । अलासाबाट भागेर उहाँहरु जेद्धा पुग्नुभयो । जेद्धामा अवैधानिक भएर काम गरेको १५ महिना भएको थियो । एक दिन उनीहरु सुतिरहेको अवस्थामा प्रहरीले पक्रराउ गर्यो । पुरानो एजेण्टले उनीहरुको आईडीमा हुरुप लगाएको रहेछ । निर्मलका अनुसार हुरुप लगाउनु भनेको प्रहरीमा उजुरी गर्नु हो । प्रहरीले पक्राउ गरेर सातै जनालाई तारिखमा छाड्यो । दुई महिनासम्म प्रत्येक हप्ता तारिख खेप्नुभयो । त्यही क्रममा उहाँहरु नेपाली दूतावासको सम्पर्कमा आउनुभयो । दूतावासले डकुमेन्ट पठाउन भन्यो  । उहाँले घरमा सम्पर्क गरेर फोनमार्फत डकुमेन्ट पठाउन लगाएर दूतावासमा बुझाउनुभयो । दूतावासले दमामबाट आईडी बनेको छ भनेर दमाम बोलायाे ।

त्योबेला एनआरएनले उहाँलाई दमाममा बस्ने खाने व्यवस्था गरिदियो । त्यहीँ बसेको बेला फेरि प्रहरीले छापा मार्यो । निर्मलसहित ६ जनालाई पक्राउ गरेर त्यहाँको इलाका प्रहरी कार्यालयमा लग्यो । त्यहीबेला निर्मलले काठमाण्डौमा रहेकी आफ्नी बहिनीलाई फोन गरेर आफूलाई प्रहरीले पक्रेको जानकारी गराउनुभयो । त्यस लगत्तै प्रहरीले मोबाइल पनि खोसेर हतकडी लगाई सबैलाई जेल पठायो । दमामको जहजात खबर भन्ने जेलमा पठायो । मुद्दा अदालतमा पुग्यो । अन्तिममा सातै जनालाई अवैधानिक भएर काम गरेको भन्दै पाँच वर्ष जेल र २० हजार रियाल जरिबाना तोक्यो । तर त्यत्रो पैसा आफूसँग नहुँदा त्यहाँबाट फिर्ता निस्किने आशा नै मारिसक्नुभएको थियो, निर्मलले । उहाँले भन्नुभयो, ‘अब त जिन्दगी जेलमै बित्ने भो जस्तो लागेको थियो ।’

साउदीकाे जेलमा रहेका नेपाली/ तस्बिर: निर्मल केसी

जेलको पीडामा दूतावासको मलम

निर्मल लगायत अरु ६ जना जेल परेको १५ दिन भइसकेको थियो । घरपरिवारमा फोन सम्पर्क हुन पाएको थिएन । प्रहरीले पक्राउ गर्ने बेला पनि उहाँले बहिनीलाई आफू प्रकाउ परेको कुरा मात्र बताउनु भएको थियो । त्यसपछि प्रहरीले मोबाइल खोसेपछि कसैसँग पनि कुरा हुन पाएन । मनमा बेचैनी बढ्दै थियो । त्यो जेलमा अरु नेपालीहरु पनि वर्षौँदेखि कैद भुक्तान गरिरहेकाहरु थिए । कसैले त मानसिक सन्तुलन समेत गुमाएका थिए । यस्तो दृष्यले निर्मल लगायत सबैले आफूहरु त्यो जेलबाट निस्किन पाउने आशा मारिसकेका थिए । त्यहीबेला साउदीमा रहेको नेपाली दूतावासका एकजना कर्मचारी निर्मल केसीलाई खोज्दै जेलमा आए ।

‘दूतावासका सर मलाई खोज्दै आउनुभयो, मेरो पासपोर्ट माग्नुभयो र छुट्नसक्ने सम्भावना भएको बताउनुभयो, म निकै खुसी भएँ’, निर्मलले भन्नुभयो । 

दूतावासका कर्मचारी भेट्न आएको केही दिनमै  निर्मल र उहाँका ६ जना अरु साथीलाई अनुहारमा कालो कपडाले छोपेर एअरपोर्ट पुर्यायो । त्यहाँ २० जना अरु पनि यसैगरि नेपाल फर्काउन ल्याइएका थिए । त्यसपछि प्रहरीले खोसेर राखेको सबैका मोबाइल दिए । भिसामा कालो छाप लगाइदिए र जहाजमा चढाए । अर्थात् देश निकाला ‘डिपोर्ट’ गरे । हवाइ यात्राभरि प्रहरीको निगरानी थियो । त्रिभुवन विमानस्थलमा पुगेपछि सबैलाई उनीहरुको पासपोर्ट फिर्ता दिइयो ।

डेढ लाख रुपैयाँ खर्चेर साउदी जानुभएका निर्मलले अवैधानिक रहेर कमाएको बेला जम्मा ६० हजार रुपैयाँमात्रै घर पठाउन सक्नुभयो । फर्किँदा लगाउनेसम्म कपडा थिएन । एकजना साथीसँग सर्ट मागेर त्यही लगाएर आउनुभयो । साउदीमा जस्तो दुःख पाए पनि नेपाल फर्किन सकेकोमै उहाँ निकै खुसी हनुहुन्छ । तर उहाँलाई आफू बँचिए पनि साउदीमा हजारौँ नेपालीले आफूले जस्तै पीडा भोगिरहेको सम्झिँदा भने उहाँलाई दुःख लाग्छ ।

उहाँ भन्हुन्छ, ‘हामी त कसरी कसरी नेपाल फर्कियौँ, त्यहाँका जेलमा नेपाली साथीभाइहरु अझै पनि कडा यातना भोगिरहनुभएको छ, बेकसुर भएर पनि जेलजीवन बिताइरहनुभएको छ ।’
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया