चुनावी गठबन्धनमा जुटेका सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको एमाले नेता ज्ञवालीकाे दाबी

 बैशाख ३, २०७९ शनिबार १८:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दाबी गर्नुभएको छ ।

भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाइ छ । नेकपा (एमाले) चितवन–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्‍याउनु भयो ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्ने कुरा भ्रम मात्रै हुने बताउनु भयो । उहाँले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धन गर्न बाध्य हुनुपरेको तर्क समेत गर्नु भयो ।

‘सत्ताले प्रतिपक्षसँग गठबन्धन गर्दैछ भनेपछि आधा लडाईँ त हामीले त्यसै जित्यौं । हामी सक्दैनौ भनेको हो नि त, उहाँहरुले । यो गठबन्धनलाई कुनै पनि भयको रुपमा लिन जरुरी छैन ।', उपमहासचिव ज्ञवालीले भन्नु भयो, 'विगतमा गठबन्धनसँगै लडेर हामीले ४१ प्रतिशत जित हासिल गरेका थियौं । उनीहरुले जतिसुकै प्रयास गरेपनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन ।'

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया