चिडियाखानामा बनाइयो ‘चिम्पाञ्जीकाे घर’

 वैशाख ९, २०७९ शुक्रबार १९:११:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सदर चिडियाखानामा रहेका एक जोडी चिम्पाञ्जीका लागि सुविधा सम्पन्न ‘चिम्पाञ्जीको घर’ बनाइएको छ । 

आज सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पाञ्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य प्रेमनारायण कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । याे घर चिम्पाञ्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरी निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ ।

चिडियाखानामा रहेका एक जोडी चिम्पाञ्जीका बच्चा २०७४ साल असोज ३१ गते अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले उद्धार गरी चिडियाखानामा ल्याएकाे थियाे । चिडियाखाना आइपुग्दा चिम्पाञ्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३ दशमलव ५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा अहिले  भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ । चिम्पाञ्जीलाई मौसम अनुसारको फलफूल, सागसब्जी, दूध, पाउरोटी, मह खुवाउने गरिएको छ ।

चिम्पाञ्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिनुभएको छ । चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियान अन्तर्गत चिडियाखानाका वन्यजन्तुहरुको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्च लगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले जनाएकाे छ । 

१२० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा अहिले १ सय १३ प्रजातिका विभिन्न वन्यजन्तुहरु प्रदर्शनीमा रहेका छन् । सदर चिडियाखानाले वार्षिक रुपमा औसत तीन सय वन्यजन्तुको उद्धार गर्दै आएको बताइएको छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया