उखरमाउलो गर्मी : चौतारीमा छैन ‘माटाको घैँटोमा चिसो पानी’

 बैशाख १०, २०७९ शनिबार १७:२२:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – विगतमा उकाली–ओराली, मेलापात, घाँसदाउरा गर्नुपर्ने बाध्यता । वैशाखको उखरमाउलो गर्मीमा भारी बोकेर उकाली ओराली गर्नुपर्दा झनै सकस हुने । तर त्यतिबेला ठाउँठाउँमा चाैतारी हुन्थे, जसमा बसेर थाकेका यात्रु आराम गर्थे ।

अहिले सडक सञ्जालकाे विस्तार भयाे । गाउँघरसम्म गाडी पुगे । विस्तारै पुराना बाटाहरुमा झार उम्रिन थाले । चाैतारी भत्किए । चाैतारीमा प्यास मेटाउन राखेका घैँटाहरु हराए ।

गाउँबेसी गर्दा ठाउँ/ठाउँमा बनाइएका वरपीपल चौतारीमा भारी बिसाइ, सुस्केरा हाल्दै थकान मेटाएको आज पनि झलझली सम्झनुहुन्छ, हाल लमजुङ सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा बस्दै आउनुभएकी शिव पण्डित । 

‘पहिले त सारै दुःखको जमाना थियो । चैत/वैशाखको गर्मीमा त झनै मेलापात, उकाली–ओराली गर्नुपर्दा सारै गाह्रो हुन्थ्यो,’ विगतलाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘तर वैशाखे गर्मीमा चौतारीमा बस्दा, माटोको चिसो घैँटोमा राखिएको चिसो पानी पिउँदा थकान मेटिन्थ्यो । पानीको प्यास मेटिन्थ्यो ।’

उहाँका अनुसार पहिले धेरै मानिस ग्रामीण क्षेत्रमा बस्थे । मोटरबाटो, गाडीको खासै सुविधा थिएन । त्यसैले मानिसहरु पैदलै हिँडेर गाउँबेसी, मेलापात उकाली–ओराली गर्थे । उनीहरुका साथै बटुवा, गोठालाहरुलाई लक्षित गर्दै वैशाख महिनामा चौतारीमा माटोको घैँटोमा चिसो पानी राखिन्थ्यो ।  

वैशाखमा प्रतिष्ठा गरिएका चौतारी (विधिवत् रुपमा वरपीपलको विवाह गरिएको)मा माटोको घैँटामा चिसो पानी राखिएको हुन्थ्यो । पानी पिउनका लागि कतै बाँसको डुंग्रो त कहिँकतै पानी पिउने भाँडा राखिएको हुन्थ्यो । यस परम्परालाई ‘धर्मघडा’ भन्ने गरिन्छ । कहीँकतै यस परम्परालाई ‘धर्मशाला’पनि भन्ने गरिन्छ । यो नेपाली मौलिक संस्कृति पनि हो ।

७३ वर्षीया पण्डितका अनुसार वैशाखमा चौतारीमा माटोको घैँटोमा चिसो पानी राखिन्थ्यो । पानी पिउन बाँस काटेर डुंग्रो बनाइ राखिएको हुन्थ्याे । बाटो हिँडे्नेहरुले चौतारीमा बसी पानी पिउँथे । वैशाख अक्षय तृतीयाका दिन ‘धर्मघडा’ राखिएको चौतारीमा खुदोपानी, जौको सातु खुवाउने चलन थियो ।

‘धर्मशाला’ राख्ने चलन हराउँदै 

जानकारहरुका अनुसार वैशाख महिनाभर चौतारीमा ‘धर्मशाला’ राख्ने चलन छ । तर पछिल्लो समय वैशाखमा चौतारीमा ‘धर्मशाला’ राख्ने प्रचलन हराउँदै गएको छ । गाउँमा मानिसको बसोबास तुलनात्मक रुपमा कम हुँदै जानु, गाउँमा मोटरबाटो पुग्नुका साथै गाडीको सुविधा हुनु, उकाली–ओरोली गर्नेहरुको संख्या कम हुँदै जानु र विभिन्न चिसो पेय पदार्थ पिउने प्रचलन बढ्दो रहेकोले पनि पछिल्लो समय गाउँघरमै वैशाखमा चौतारीमा धर्मशाला राख्ने चलन हराउँदै गएको संस्कृतिप्रेमी लमजुङ राइनास नगरपालिका–२, का केदारनाथ देवकोटाले बताउनुभयो ।

उहाँका अनुसार विगतमा अहिलेको जस्तो यातायातको सुविधा थिएन । पानी किनेर खाने चलन थिएन । त्यसैले बटुवा, गोठालाहरुका लागि चौतारीमा विश्राम गर्दा पानी खाउन् भनेर चौतारीमा माटोको घैँटोमा पानी राखिएको हुन्थ्यो । ‘धार्मिक आस्थासँग जोडिएको छ, याे संस्कृति । यसमा कुनै जाती, धर्म, लिंग भेद हुँदैनथ्यो । यो निकै नै परोपकारी काम, संस्कृति हो,’ उहाँले थप्नुभयो ।

उहाँका अनुसार अहिले त गाउँ–गाउँमा गाडीको सुविधा पुगेको छ । मानिसले पैदलै हिँडेर उकाली–ओराली गर्नै छाडे । त्यसैले पनि पछिल्लो सयम चौतारीमा धर्मशाला राख्ने चलन हराउँदो छ । 
विगतमा चौतारी निर्माण गरेका स्थानीयले वैशाखमा नजिकैको चौतारीमा घैँटोमा पानी राख्ने गर्नुका साथै नेपाली समाजमा वैशाखमा चौतारीमा धर्मशाला राख्दा पूण्य मिल्ने धार्मिक विश्वास रहेको लमजुङ भोटेओडारकै ६४ वर्षीया रामकुमारी अधिकारीले बताउनुभयो । 

तर पछिल्लो समय मानिसको बसोबास कम रहेकाले गाउँघरमा रहेका चौतारीको नासिँदै गएको, भएका चौतारीको पनि संरक्षण हुन नसकिरहेकोमा समेत उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: असार १९, २०७९

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया