डा. कडेलको नियात्रा लोकार्पित
माघ १५, २०७९ आइतबार
पर्वत – पर्वतमा पालिका चुनावका लागि नौ सय ५७ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिकामा गरी नौ सय ५७ जनाले उम्मेदवारी दिएका हुन् ।
कुश्मा नगरपालिकामा दुई सय २५, जलजला गाउँपालिकामा एक सय २८, पैंयु गाउँपालिकामा एक सय चार, फलेवास नगरपालिकामा एक सय ८६ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी महाशिला गाउँपालिकामा ७८, मोदी गाउँपालिकामा एक सय २५ र विहादी गाउँपालिकामा एक सय एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
कुश्मा नगरपालिकाको मेयरमा आठ र उपमेयरमा सात, जलजलाको अध्यक्षमा सात र उपाध्यक्षमा पाँच, पैंयुको अध्यक्षमा सात र उपाध्यक्षमा तीन, फलेवासको मेयरमा १० र उपमेयरमा पाँच जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी महाशिलाको अध्यक्षमा चार र उपाध्यक्षमा दुई, मोदीको अध्यक्षमा सात र उपाध्यक्षमा चार, विहादीको अध्यक्षमा चार र उपाध्यक्षमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
गठबन्धनभित्रका असन्तुष्ट व्यक्तिहरूले स्वतन्त्र उम्मेदवारी दिएपछि मनोनयन दर्ताको सङ्ख्या बढेको हो । राजनीतिक दलभित्र असन्तुष्ट पैदा भएपछि र आकाङ्क्षीहरू पछाडि परेपछि सबै पालिकामा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी रहेको छ ।
प्रमुख वा उपप्रमुख, अध्यक्ष वा उपाध्यक्ष पदमध्ये कुनै एकमा अनिवार्य महिला हुनुपर्ने निर्वाचन आयोगले कानुन तर्जुमा गरे पनि राजनीतिक दलहरूले गठबन्धनको बहानामा पैंयु गाउँपालिकाबाहेकका ६ पालिकाको दुवै पदमा पुरुष उम्मेदवार उठाएका छन् ।
गठबन्धनभित्रका कांग्रेस–माओवादीले कुश्माको मेयर र उपमेयर, मोदीको अध्यक्ष र उपाध्यक्ष, जलजलाको अध्यक्ष र उपाध्यक्ष, विहादीको अध्यक्ष र उपाध्यक्षमा दुवैमा पुरुष उम्मेदवार खडा गरेका हुन् । त्यस्तै महाशिला गाउँपालिकामा कांग्रेस–एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार रहेका छन् ।
नेकपा एमाले र राष्ट्रिय जनमोर्चालगायतका अन्य दलहरूको उम्मेदवारमा भने महिलाको सङ्ख्या उल्लेखनीय छ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।