सिन्धुपाल्चाेक : खुकुरी प्रहार गरेकाे आराेपमा वडाध्यक्षका उम्मेदवार पक्राउ

 बैशाख १८, २०७९ आइतबार १५:२:२९ | किरण थापा
unn.prixa.net

खुकुरी प्रहारबाट घाइते

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकमा खुकरी प्रहार गरेको आरोपमा वडाध्यक्षका एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका ७ मा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका सुके तामाङलाई पक्राउ गरेको र खुकरी प्रहारमा संलग्न देवराज गुरुङको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । खुकरी प्रहारबाट घाइते भएका माओवादी केन्द्र निकट वाईसीएल नेपाल अन्तर्गत प्रचार प्रसार समितिका सदस्यहरू जीवन पुरी, विनोद गिरी र रोहित गिरीलाई उपचारका लागि काठमाण्डौको न्युरो अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ । विज्ञप्तिमा आक्रमणकारीले वाईसीएलका कार्यकर्ताले प्रयोग गरेको मोटरसाइकलसमेत पूर्णरूपमा नष्ट बनाएको पनि उल्लेख छ ।

यसैबीच न्युरो अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई भेट्न पूर्व सामाजिक विकास मन्त्री, वागम्ती प्रदेश सांसद युवराज दुलाल ‘शरद’ पुग्नुभएको छ । सीटी स्क्यान गरेर मात्र घाइतेहरूकाे अवस्थाको बारेमा भन्न सकिने डाक्टरले आफूलाई बताएका दुलालले बताउनुभयो ।

   

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया